मधेश प्रदेश सरकारद्वारा नेपाल सरकारविरुद्ध आन्दोलनको कार्यक्रम घोषणा

  २०७९ साउन २८ गते १५:२५     विकासन्युज

जनकपुर । मधेस प्रदेश सरकारले नेपाल सरकारविरुद्ध भोली श्रावण २९ गते आईतबारदेखि एक हप्तासम्म प्रदेश प्रमुखको कार्यालयमा धर्ना दिने भएको छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्र्वाचन अगावै प्रहरी समायोजनको अधिकार हस्तान्तण गर्न अनुरोध गर्दै दिइएको ध्यानाकर्षण पत्रबारे नेपाल सरकारले कुनै चासो नदिएपछि बाध्य भएर प्रदेश प्रमुखको कार्यालयमा भोलीबाट एक हप्तासम्म दिनको दुई घण्टा धर्ना दिने गरी आन्दोलनको पहिलो चरणको कार्यक्रम घोषणा गर्नु परेको मधेश प्रदेश सरकारका गृह तथा सञ्चारमन्त्री भरत साहले जानकारी दिए ।

शनिबार जनकपुरमा पत्रकार सम्मेलन गरी उनले एक हप्ता भित्र पनि माग सम्बोधन नभए नेपाल सरकारविरुद्ध थप कडा आन्दोलनको कार्यक्रम घोषणा गर्न बाध्य हुने चेतावनी समेत दिए । धर्ना कार्यक्रममा मधेश प्रदेश सरकारका मन्त्रीहरु, प्रदेशसभाका सांसदहरु, नागरिक समाजका अगुवाहरु र सबै राजनीतिक दलहरु सहभागी हुने दावी गरिएको छ । मन्त्री साहले भने, ‘प्रदेश सरकारको समायोजनको बारेमा हामीले नेपाल सरकारलाई जानकारी गरायौं । तर, कुनै रेसपोन्स आएन । ७ दिन अगाडि हामीले ध्यानाकर्षण पत्र दिएर नेपाल सरकारलाई प्रहरी समायोजनको विषयलाई अगाडि बढायौं । तर त्यसको कुनै जानकारी आएन । आज सातौं दिन पुग्यो । तर, सात दिन बित्दा पनि रेसपोन्स नभएपछि अव पहिलो चरणको आन्दोलनको कार्यक्रम घोषणा गरेका छौं । र, त्यो आन्दोलनको पहिलो चरणको कार्यक्रम भोली २९ गते बिहान ११ बजेदेखि १ बजेसम्म दुई घण्टा एक सातासम्म प्रदेश प्रमुखको कार्यालयमा हुनेछ । त्यसमा मधेश सरकारका मन्त्रीहरु, प्रदेशसभाका सांसदहरु, नागरिक समाजका अगुवाहरु, लगायतका सर्वपक्षीय सहभागिता हुनेछ । र, त्यो आन्दोलन एक सातासम्म चल्नेछ । एक साता पछि पनि नेपाल सरकारको ध्यानाकर्षण भएन भने दोस्रो चरणको आन्दोलनको कार्यक्रम घोषणा गरिनेछ ।’

मन्त्री साहले सबै उत्पीडित समूदायको हितका लागि आफूहरुले धर्ना कार्यक्रम गर्नु परेको उल्लेख गर्दै त्यसमा ऐक्यवद्धता जनाउन सबै प्रदेशका सरकारलाई पनि आह्वान गरे । उनले संविधानको धारा २६८ ले प्रदेश प्रहरीको सङ्गठन व्यवस्थापन गरेको तथा संविधानकै अनुसूची ६ को क्रम सख्या १ मा शान्ति सुरक्षा सम्बन्धी अधिकार प्रदेश सरकारको क्षेत्राधिकारको सूचीभित्र उल्लेख रहेकाले संविधानको कार्यान्वयन तथा प्रदेशमा शान्ति सुरक्षाको प्रभावकारी व्यवस्थापनका लागि चुनाव अगाडी नै प्रहरी समायोजन हुनु पर्ने जिकीर समेत गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.