बोनसदरमा तीन बीमा कम्पनी : कसको बढ्यो ? कसको घट्यो ?

  २०७९ साउन २५ गते ९:५८     विकासन्युज

काठमाडौं । हालै विभिन्न तीन जीवन बीमा कम्पनीले नयाँ बोनसदर सार्वजनिक गरेका छन् । जसमध्ये दुईले आर्थिक वर्ष २०७७/७८ को र अर्को एक इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/७७ को बोनसदर सार्वजनिक गरेका हुन् ।

जसमा एशियन लाइफ र ज्योति लाइफले आर्थिक वर्ष २०७७/७८ को र गुराँस लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/७७ को बोनसदर सार्वजनिक गरी लागू गरेका छन् । यी तीन वटै कम्पनीले बीमा समितिको स्वीकृति पश्चात विभिन्न बीमालेखका बीमितलाई नयाँ बोनसदर लागू गरेका हुन् ।

एशियन लाइफले बढायो
एशियन लाइफले आर्थिक वर्ष २०७७/७८ को नयाँ बोनसदर अघिल्लो वर्षको तुलनामा बढाएको छ । कम्पनीले नाफामा सरिक हुने सबै जीवन बीमालेखको लागि प्रतिवर्ष प्रतिहजार न्यूनतम ४० रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म दिने भएको छ । जबकी कम्पनीले अघिल्लो वर्ष बीमितलाई न्यूनतम ३२ रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनस दिएको थियो ।

नयाँ बोनसदर अनुसार इन्स्योरेन्सले सावधिक तथा आजीवन बीमालेखबाट बीमितलाई अधिकतम ७५ रुपैयाँसम्म बोनस दिने भएको छ । त्यस्तै, बालबालिकाको सावधिक जीवन बीमालेख, सावधिक जीवन बीमालेख र नव रन्त, जीवन संजीवनी, दम्पत्ति सुरक्षा प्लस, एशियन वार्षिक धनलाभ बीमालेखका बीमितले न्यूनतम ४० रुपैयाँ बोनस पाउने छन् ।

ज्योति लाइफले घटायो
ज्योति लाइफ इन्स्योरेन्सले बीमितलाई प्रतिहजार न्यूनतम २० रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँ बोनस दिने भएको छ ।

कम्पनीले जारी गरेको विभिन्न बीमालेखमध्ये सावधिक र सावधिक तथा आजीवन बीमालेखका बीमितले अधिकतम ७५ रुपैयाँसम्म बोनस पाउने छन् । तर उक्त बोनस २५ वा सोभन्दा बढी अवधिको लागि उक्त बीमालेख खरिद गर्नेले मात्रै पाउने छन् । त्यस्तै, १० देखि १४ वर्ष अवधिको ज्योति ईजी पे जीवन बीमा गर्नेले न्यूनतम २० रुपैयाँ बोनस पाउने भएका छन् ।

ज्योति लाइफले सार्वजनिक गरेको बोनसदर अघिल्लो आर्थिक वर्षको तुलनामा घटी हो । इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/७७ बाट बीमितलाई न्यूनतम नै प्रतिहजार ४३ रुपैयाँ बोनस दिएको थियो । अधिकतम बोनसदर भने बराबर अर्थात ७५ रुपैयाँ नै थियो ।

गुराँस लाइफको बीमालेख बढ्यो, बोनसदर घट्यो

गुराँस लाइफले हालै आर्थिक वर्ष २०७६/७७ को बोनसदर सार्वजनिक गरेको छ । बीमा समितिको स्वीकृति पाए पश्चात इन्स्योरेन्सले सो आवको बोनसदर सार्वजनिक गरेको हो ।

नयाँ बोनसदर अनुसार बीमितले प्रतिहजार न्यूनतम २० रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनस पाउने छन् । जुन अघिल्लो वर्षको तुलनामा घटी हो । इन्स्योरेन्सले अघिल्लो आर्थिक वर्ष २०७५र७६ बाट बीमितलाई न्यूनतम २३ रुपैयाँदेखि अधिकतम ८१ रुपैयाँसम्म वितरण गरेको थियो ।

गुराँस लाइफले सार्वजनिक गरेको नयाँ बोनसदर अनुसार सावधिक तथा आजीवन बीमाललेखका बीमितले सबैभन्दा बढी अर्थात ७५ रुपैयाँसम्मको बोनस पाउने भएका छन् । अघिल्लो आवमा यो बीमालेखका बीमितले अधिकतम ८१ रुपैयाँ बोनस पाएका थिए । त्यस्तै, गुराँस सुरक्षीत भविष्य जीवन बीमालेखका बीमितले सबैभन्दा कम अर्थात प्रतिहजार २० रुपैयाँ बोनस पाउने छन् । जुन अघिल्लो आवमा २३ रुपैयाँ थियो ।

समीक्षा अवधिमा इन्स्योरेन्सले बीमालेखको संख्या भने बढाएको देखिन्छ । अघिल्लो आवमा ५ वटा मात्रै बीमालेख बिक्री गरेको इन्स्योरेन्सले आव २०७६/७७ मा थप एउटा (वार्षिक नगद फिर्ता नामक) बीमालेख बीमितलाई बिक्री गरेको थियो ।

उक्त बोनसदर कम्पनीले भुक्तानी गर्ने बीमालेख अनुसारको दावीहरुमा तथा चालु बीमालेखहरुमा लागू हुने छ । साथै, अर्को बीमाङ्कीय प्रतिवेदन अनुसार बीमा समितिबाट अर्को व्यवस्था नभएसम्म कम्पनीहरुले सोहि अनुसारको बोनसदर कायम गर्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.