बैंकर केटोकाे त्याे रात

  २०७८ जेठ २७ गते १७:००     सुरेन्द्र भण्डारी

हेर्दा हेर्दै छोरो जागिर खाने भैसकेछ । बा-आमा दंग थिए । छोराले स्नातक सकाउने बितिक्कै बैंकमा नाम निकालेको थियो । पढाइमा ठीकठाक, बोल्नमा ठिक्क पार्ने, घरमा खाना खान पनि दस चोटी बोलाउनुपर्ने, मोबाइलमा चौबिसै घण्टा घोप्टि रहने, बिहान ८/९ नबजेसम्म नउठ्ने, खाएको थाल सम्म पर नसार्ने, लुगा धुने कुरै भएन, छोराको चाला र लेदरको छाला उस्तै चाम्रो ।

बा-आमालाई लाग्यो, छोरो अब आफ्नै खुट्टामा उभिने भयो, जिम्मेवारीको भारी हलुका हुने भयो । छोरा झोला झिम्टो बोकेर जागिर खान हिंड्यो। भोलि अफिसको पहिलो दिन थियो । रातभरी राम्रोसँग निन्द्रै परेन, छटपटी भयो उसलाई । राती राम्रोसँग नसुतेर पनि आज भने पाँच नबज्दै उठ्यो, फ्रेस भयो । ९ बजे बल्ल उठ्ने मान्छेले ९ बजे सम्म खाना बनाएर, खाईवरी भाडा मस्काएर भित्तामा झुण्ड्याएको  ऐना  दश चोटीसम्म हेर्नस भ्याईसकेको थियो । खुट्टामा कालो जुत्ता, चट्ट परेको ड्रेस, निलो कोट, ओहो केटो आफैंलाई हेरेर दङ्ग पर्थ्यो ।

दिन बित्दै गए , बिहान ९ बजे हिंडेको मान्छे बेलुका कति खेर कोठामा आइपुग्ने हो थाहै हुन्थेन ।

जागिर खाएको एक महिना पुगिसकेछ । पलंगमा गर्लम्म ढल्यो । सोच्यो ओहो ! जागिर त गार्हो पो हुँदो रहेछ । घडीको सुइले बेलुकाको ९ बजाई सकेको थियो । भोक लागे पनि खाना पकाएर खान अल्छि लागेको थियो । दुई दिन अगाडि किनेको ब्रेड चपायो, भुसुक्कै निदायो ।

अफिसमा हाकिमको आदेश, महिनै पिच्छे आउने टार्गेट, दिउँसै अँध्यारो देख्थ्यो कहिलेकाहीँ ।

दिन बित्त्दै गए । घरको याद आउँदै गयो । आमाको याद आयो । आमाको हातको खानाको याद आयो । दश चोटी बोलाउँदा पनि खान नजाँदा आमाले कराएको याद आयो ।ओइ केटा ! बानी सुधार, यस्तै हो भने दुख पाउँछस्, बाले कराएको याद आयो । दिनभरी गाउँ डुलेको, रातभरी मोबाइलमा भुलेको याद आयो । आँसुले सिरानी भिजेछ ।

दिनभरीको थकान र तनावले सोच्दा सोच्दै कुन बेला निदाएछ, थाहै पाएन । झुल लगाउन बिर्सेछ, आधा भोको पेट सुतेको उसलाई लामखुट्टेले भने भरी पेट हुने गरी टोकेछ।

दोस्रो दिन बिहानै उठ्यो , रिङ्गटा लागे जस्तो भयो । टाउको दुखे जस्तो, ओइलिएको फूल जस्तो, एक दिन दुई दिन हप्ताभरी यस्तै भयो ।

ज्यान बिसन्चो भयो। घर जान मन लाग्यो उसलाई । यता अफिसलाई असार लाग्न सुरु भैसकेको थियो । बिदा पाइने कुरै भएन । बल्ल बल्ल बिरामी नै भनेपछि बिदा मिल्यो चार दिनको लागि ।

जान एक दिन आउन एक दिन घर मा बस्ने हिसाब गर्दा जम्मा जम्मी ढाई दिन हुने भयो । तैपनि केटो खुशी थियो, दिनभरी काम गर्यो । आज ५ बजे नै अफिसबाट निस्क्यो । झोला बोक्यो । रात्री बस समात्यो । कानमा एअरफोन लगायो । अनि, गीत बजायो-‘उकाली ओराली गर्दै आँखा भरी रहर भर्दै आंधी भेरीसंगै लड्दै खोला नदि सागर तर्दै दुख: पिडा बिर्सदै म आएँ परदेश बाट म आएँ आफ्नै गाउ फर्की आएँ ।’

उसलाई परदेशबाट फर्किए जस्तो, जिन्दगीमा कहिले नभएको अलग्गै किसिमको महशुस, मनमा छटपटी, भोक लागे पनि भोक हराए जस्तो, हिजो सम्मको बिसन्चो ठिक भए जस्तो लागि रहेको थियो ।

घर पुग्यो । आमाको हातको खाना खायो । रिंगटा लागेको, सन्चो नभएको चैट भयो। उसले बुझ्यो त्यो बिरामी कम भोक रहेछ, शाेक ज्यादा रहेछ । स्कूलमा कहिले नपढेको कुरा पढ्दै थियो । फेसबुकमा कहिले नदेखेको कुरा बल्ल देख्दै थियो। उसले बुझ्दै थियो स्कुलमा जोड घटाउ गरेर हिसाब मिलाए जस्तो सजिलो रहेनछ जिन्दगीको हिसाब किताब मिलाउन । उसले बुझ्दै थियो फेसबुकको भित्तामा सुन्दर तस्बिर टाँसे जस्तो रहेनछ जिन्दगीको भित्ता सुन्दर बनाउन । उसले बल्ल बुझ्दै थियो भोक, शाेक, रोग, र जिन्दगी के हो भनेर ।

One comment on "बैंकर केटोकाे त्याे रात"

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.