२०७७ असार १८ गते १७:३६ विकासन्युज
काठमाडौं । एनआईसी एशिया लघुवित्तले निष्काशन गरेकाे साधारण सेयर (आईपीओ) आगामी आइतबार(असार २१ गते) बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक सानिमा क्यापिटलले बिहीबार उक्त जानकारी गराएको हो ।
उक्त सेयरको प्री-अलोटमेन्ट आज(बिहीबार) भएको थियो । जसअन्तर्गत कूल ३ लाख ९७ हजार ७ सय ४१ जनाको आवेदन मात्र योग्य रहेकोे र बाँकी १६ हजार ४ सय ३९ जनाको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ ।
गत असार १० गतेदेखि असार १४ गतेसम्म निष्काशन भएको संस्थाको सेयरमा कूल ४ लाख १४ हजार एक सय ८० जनाले आवेदन दिएका थिए ।
यससँगै सेयर बाँडफाँडको क्रममा पहिलो चरणमा सबै आवेदकले १०/१० कित्ताको दरले सेयर प्राप्त गर्ने छन् र त्यसपछि बाँकी रहेको सेयर गोलाप्रथा मार्फत वितरण गरिने छ ।
साथै, आइतबार कहाँ र कति बजे सेयर बाँडफाँड हुन्छ भन्ने अहिले निर्णय भइनसकेको र सो सम्बन्धि जानकारी शनिबार गराइने क्यापिटलले जनाएको छ ।
गत असार १० गतेदेखि असार १४ गतेसम्म बिक्री खुला भएको उक्त आईपीओमा ४ लाख १४ हजार एक सय ८० जनाले आवेदन दिएका थिए । उनीहरुले कूल २ अर्ब ३० करोड ६५ लाख ३९ हजार रुपैयाँ बराबर अर्थात २ करोड ३० लाख ६५ हजार ३ सय ९० कित्ता सेयर माग गरेका छन् ।
जुन संस्थाले सर्वसाधारणमा माग गरेको भन्दा ५.१९ गुणा बढी हो । संस्थाले सर्वसाधारणमा ४४ लाख ४३ हजार २ सय कित्ता सेयर बिक्रीमा राखेको थियो ।
संस्थाले एक सय अंकित मूल्य रहेको कूल ४७ लाख ५५ हजार कित्ता सेयर बिक्री गरेको हो । जुन नेपालका माइक्रोफाइनान्स कम्पनीहरुले हालसम्म जारी गरेका आइपीओ मध्येकै ठूलो हो ।
जसमध्ये २ लाख ३७ हजार ८ सय कित्ता(५ प्रतिशत) साधारण सेयर सामूहिक लगानी कोषका लागि बाँडफाँड गरिएको, ७४ हजार कित्ता(०.५ प्रतिशत) साधारण सेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने बाँकी ४४ लाख ४३ हजार २ सय कित्ता सेयर सर्वसाधारणमा निष्कासन गरेको हो ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.