देवघाट गाउँपालिकाले साना उद्योगीलाई दियो सहुलियत दरमा ऋण

  २०७७ असार १२ गते ९:४५     विकासन्युज

तनहुँ । तनहुँको देवघाट गाउँपालिकाले साना उद्योगीका लागि सहुलियत दरमा ८० लाख रूपैयाँ ऋण प्रवाह गरेको छ । गाउँपालिकाले रोजगारीका लागि ४० जना साना उद्योगीका लागि सहुलियत दरमा ऋण प्रवाह गरेको जनाएको छ । व्यवसाय गर्न चाहने तर पैसाको अभाव भएका उद्यमी छनोट गरी उनीहरुलाई छ प्रतिशत ब्याजमा ऋण लगानी गरिएको गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापाले जानकारी दिए । गाउँपालिकाका पाँचवटै वडाका युवायुवती छनोट गरी सहुलियत दरमा ऋण प्रवाह गरिएको थापाले जानकारी दिए ।

‘हातमा सीप भएका तर रकम अभावमा व्यवसाय गर्न नसकेका व्यक्ति छनोटका लागि वडामार्फत सिफारिस भएर आएपछि ऋण प्रवाह गरेका हौँ’, उनले भने, ‘यसले गर्दा उनीहरुलाई उद्यमी बन्न सहयोग पुर्याएको छ ।’ थापाका अनुसार गाउँपालिकाबाट ऋण लिएकाले तरकारी खेती, पशुपालन, किराना पसललगायत व्यवसाय गरेका छन् । ऋण लिएपछि सदुपयोग भएरनभएको बारेमा पनि अनुगमन गरिरहेको उनले बताए ।

सहुलियत दरमा ऋण प्रवाह गर्नका लागि गाउँपालिकाले ऋण समिति बनाएको छ । सोही समितिले मूल्याङ्कनमा आधारमा ऋण प्रवाह गर्नेछ । यसरी ऋण लिएकाले दुई वर्षभित्र ऋण तिरिसक्नुपर्ने हुन्छ । ‘ऋण लिन चाहनेलाई लक्षित गरी वडाबाट फारम सङ्कलन गरिएको थियो, वडाध्यक्षले सिफारिस गरेर पठाएकालाई ऋण प्रवाह गरेका हौँ’, उनले भने ।

गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि भने यो कार्यक्रम सञ्चालन गर्न नसक्ने भएको छ । बजेट अभाव भएका कारण आगामी आर्थिक वर्ष ०७७/७८ मा उक्त कार्यक्रम समावेश गर्न नसकिएको थापाले जानकारी दिए । युवा स्वरोजगार कोष कार्यक्रमअन्तर्गत गाउँपालिकाले चालु आर्थिक वर्षमा चितवन उद्योग वाणिज्य सङ्घको प्राविधिक सहयोग र गाउँपालिकाको आयोजना तथा आर्थिक सहयोगमा ४५ जना उद्यमीलाई उद्यमशीलता तालीम सञ्चालन गरेको थियो ।

यसैबीच गाउँपालिकाले कृषि, जनस्वास्थ्य, पर्यटन, पूर्वाधार विकास र वातावरण तथा विपद् व्यवस्थापनलाई मुख्य प्राथमिकतामा राखेर आगामी वर्षका लागि ४० करोड ७५ लाख ५८ हजार रूपैयाँकाे बजेट सार्वजनिक गरेको छ । उत्पादन र उत्पादकत्वको वृद्धि गरी रोजगारीको सिर्जना, सहज आगमनको लागि भौतिक पूर्वाधारतर्फ सडकको पहुँच विस्तार, खानेपानी तथा सरसफाइलाई उच्च प्राथमिकता दिई पूर्ण सरसफाइ उन्मुख गाउँपालिका घोषणा, कृषि क्षेत्रलाई प्राथमिकता दिई उत्पादन र उत्पादकत्व वृद्धि तथा स्वस्थ नागरिक अमूल्य सम्पत्ति कार्यक्रमको कार्यान्वयन हुने गरी जनस्वास्थ्यलाई जोड दिने नीति लिइएको थापाले जानकारी दिए ।

कृषि, पशु स्वास्थ्य, उद्योग, पर्यटन र सहकारीको विकासको लागि पाँच करोड तीन लाख ५० हजार रूपैयाँ, कृषि क्षेत्रको लागि मात्रै दुई करोड रूपैयाँ बजेट विनियोजन गरिएको छ । पूर्वाधार क्षेत्रतर्फ गाउँपालिकाको भवन निर्माण र अन्य पूर्वाधार विकासको लागि छ करोड २५ लाख ९८ हजार रूपैयाँ विनियोजन गरिएको गाउँपालिकाले जनाएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.