मेलम्ची । इन्द्रावती गाउँपालिकामा शान्ति पार्क निर्माण भइरहेको छ । भूकम्पमा परेर मृत्यु भएकाको स्मृतिमा शान्ति पार्कको निर्माण गरिएको हो ।
गाउँपालिकाको नवलपुरमा १ करोड ५० लाखमा पार्क निर्माणको काम भइरहेको अध्यक्ष वंशलाल तामाङले जानकारी दिए । उनका अनुसार भूकम्पमा मृत्यु भएका गाउँपालिका भरका मानिसको नाम सो पार्कमा लेखिनेछ ।
गाउँपालिकाभर भूकम्पमा परी ५ सयले ज्यान गुमाएका थिए । तत्कालीन सात गाविस मिलेर इन्द्रावती गाउँपालिका बनेको हो । भूकम्पमा सिन्धुपाल्चोकबाट मात्रै तीन हजार ५ सयभन्दा बढीले ज्यान गुमाएका थिए ।
आगामी आर्थिक वर्ष ०७७/७८ मा शान्ति पार्क निर्माण भइसक्ने अध्यक्ष तामाङले बताए । रासस