रिपोर्ट नेगेटिभ नआउँदै काेराेनाका बिरामी डिस्चार्ज, घरसम्म पुग्ने व्यवस्था नगरिँदा समस्यामा

  २०७७ जेठ २३ गते १८:४६     विकासन्युज

काठमाडौं । पछिल्लो समय कोरोना भाइरसका संक्रमित बढ्दै गएपछि विभिन्न अस्पतालहरुमा बिरामीको संख्या पनि बढ्दै गएको छ । यसको मारमा कोरोना भाइरसकै संक्रमित बिरामी परिरहेका छन् । केही दिनयता कोरोनाका बिरामी ह्वात्तै बढेसँगै अस्पतालमा राख्ने बेड नहुँदा बिरामीहरुको रिपोर्ट नेगेटिभ नआउँदै डिस्चार्ज गरिँदै आएको छ ।

केही दिन अगाडिमात्रै संक्रमण देखिएका तर कुनै पनि लक्षण नदेखिएका बिरामीहरुलाई विभिन्न अस्पतालहरुले डिस्चार्ज गरिरहेका छन् । नयाँ बिरामीहरुलाई बेड खाली गर्नका लागि उनीहरुलाई डिस्चार्ज गर्नु परेको अस्पतालहरु बताउँदै आएका छन् ।

शुक्रबार मात्रै बुटवलको कोरोना विशेष अस्पतालले २७ जना कोरोना संक्रमितलाई रिर्पोट नेगेटिभ नआउँदै घर पठाइएको छ । अस्पतालले १४ दिन क्वारेन्टाइनमा बसेका, तर कोरोनाको कुनै लक्षण नदेखिएका उनीहरुलाई घरमै सेल्फ क्वारेन्टाइमा बस्नु भन्दै घर पठाएको बताइएको छ ।

यस्तै, सेती प्रादेशिक अस्पतालबाट पनि आजै ६ जनालाई डिस्चार्ज गरिएको छ । उनीहरुलको पनि रिपोर्ट नेगेटिभ नआउँदै घर पठाइएको हो । स्वास्थ्य मन्त्रालयले जारी गरेको नयाँ निर्देशिका अनुसार उनीहरुलाई डिस्चार्ज गरिएको अस्पतालले बताएको छ ।

लक्षण नदेखिएको र स्वास्थ्य समस्या नभएका संक्रमितलाई १४ दिन आइसोलेसनमा राखेर डिस्चार्ज गर्न पाइने निर्देशिका पारित भएपछि उनीहरुलाई डिस्चार्ज गरिएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले बताए । चिकित्सकको आवश्यक निर्देशनसहित उनीहरुलाई डिस्चार्ज गरिएको श्रेष्ठले बताए ।

अछामको मेल्लेख गाउँपालिकाका ३२ वर्षीय पुरुष र ११ वर्षीया बालिका (बावुछोरी), बैतडीको शिवनाथ गाउँपालिका १ का २० वर्षीय र २७ वर्षीय पुरुष तथा शिवनाथ गाउँपालिका २ का २० र २२ वर्षीय पुरुषलाई डिस्चार्ज गरिएको हो ।

यसअघि संक्रमितको लगातार दुई पटक नेगेटिभ रिपोर्ट आएपछि अस्पतालबाट डिस्चार्ज गर्ने व्यवस्था थियो । तर, अहिले नतिजा पोजेटिभ हुँदै घर पठाइने गरेको छ ।

सरकारले लक्षण नदेखिएको र स्वास्थ्य समस्या नभएका संक्रमितलाई १४ दिन आइसोलेसनमा राखेर डिस्चार्ज गर्न पाइने निर्देशिका पारित गरेको थियो । रिपोर्ट नेगेटिभ हुँदै अस्पतालबाट डिस्चार्ज गरिएकाे र त्यैमाथि उनीहरुलाई घर जान पनि समस्या भइरहेकाे कुरा आएकाे छ ।

अस्पतालहरुले उनीहरुलाई अस्पतालबाट डिस्चार्ज गरेपनि उनीहरुलाई घर पुग्ने व्यवस्था नगरिँदा बिरामीहरु ठूलो समस्यामा पर्ने गरेका छन् । आज बुटवलको कोरोना विशेष अस्पतालबाट डिस्चार्ज भएकाहरुलाई लिन सम्बन्धित गाउँपालिकाले एम्बुलेन्स पठाए पनि सेती प्रादेशीक अस्पतालबाट डिस्चार्ज भएकाहरुलाई कुनै व्यवस्था गरिएन । यसले पनि उनीहरु समस्यामा परेका छन् ।

एकापट्टी लकडाउन र अर्कातर्फि उनीहरु आफै कोरोनाका बिरामी भएकोले उनीहरुलाई घर जान समस्या परिरहेकाे गुनासाे छ  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.