२०७६ चैत १३ गते १९:५५ विकासन्युज
काठमाडाैं । कोरोना संक्रमित एक जना नेपाली युवतिले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस राख्दै कोरोना भाइरसको पीडा व्यक्त गरेकी छन् । हाल बेलायतको लण्डनमा बस्दै आएकी ती महिलाले आफुर्लाइ कोरोना भाइरस संक्रमण भएको १३ दिन बितिसक्दा पनि निको हुने छाँटकाँट नदेखिएको बताएकी छन् ।
लमजुङ तार्कुघाट स्थायी घर भई हाल बेलायतको लण्डनमा बस्दै आएकी भगवती रानाभाटले संक्रमण भएपछि आफू १० दिनसम्म सेल्फ आइसोलेसनमा बसेको, तर छिट्टै निको हुने सम्भावना नदेखिएको भन्दै सावधान रहन आग्रह गरेकी हुन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस राख्दै भनेकी छिन,‘१० दिनको सेल्फ आइसोलेसन पछि कोभिड १९ सँग लड्दै !! यो महामारी कति पीडादायक हुँदो रहेछ, आज १३ दिनसम्म पनि निको हुने छाँट्काटै छैन, फेसबुकमा राख्ने सोच थिएन, कतै आफन्त अनि साथीभाईलाई थप भयावह बनाउला भन्ने लाग्यो, तर सोचेँ सबैले साबधानी अपनाउन सक्नुहुनेछ, हजुरहरू सबैलाई विशेष सावधान रहन अनुरोध गर्दछु।’
उनले कोरोना भाइरसको पीडा निकै भयानक भएको भन्दै सबैलाई सावधान र सचेत रहन अनुरोध गरेकी छन् । अहिले विश्वभर कोरोना भाइरस (कोभिड १९) विश्वका १९५ देशमा पुगेको छ । कोरोना भाइरसका कारण बिहीबार अपरान्हसम्म २२ हजार २६ जनाले ज्यान गुमाएका छन् ।
अहिलेसम्म यो भाइरसबाट ४ लाख ८७ हजार ४३४ मानिस संक्रमित भइसकेका छन् । यो भाइरसको संक्रमणमा परेका एक लाख १७ हजार ५६४ मानिस ठीक भएका छन् ।
यस्ताे छ उनकाे फेसबुक स्टाटस
Copyright © 2024 Bikash Media Pvt. Ltd.