विश्व स्वास्थ्य संगठनले राख्याे नेपाललाई काेरोनाको उच्च जोखिम सूचीमा

  २०७६ फागुन १६ गते १८:१२     डोमी शेर्पा

काठमाडौं । नेपाल कोरोना भाईरसको उच्च जोखिममा भएको देशमा परेको छ । बिहिबार विश्व स्वास्थ्य संगठनले जारी गरेको सूचीमा नेपाल काेराेना भाईरसको उच्च जोखिमा परेकाे हाे ।

विश्व स्वास्थ्य संगठनको बिहीबार बसेको बैठकले नेपाललाई कोरोना भाईरसको उच्च जोखिममा भएको देशमा राखेको हो । यसअघि चीनलाई मात्र संगठनले उच्च जोखिम भएको  देशमा राखेको थियो ।

संगठनले नेपालसहित भारत, पाकिस्तान, श्रीलंका, अफगानिस्तानका साथै केही अफ्रिकी मुलुकलाई पनि कोरोनाको उच्च जोखिममा राखेको छ । नेपालमा हालसम्म एक जनामा बाहेक कसैमा पनि काेराेना भाईरस देखिएको छैन ।

चीनबाट शुरु भएको कोरोना भाइरसको संक्रमण अहिले विश्वका विभिन्न देशमा फैलिएको छ । एशियाली मुलुकहरुसहित युरोप, अफ्रिका लागायतमा पनि कोरोना भाइरसको प्रकोपमा वृद्धि भइरहेको छ ।

चीनबाहेक दक्षिण कोरिया, थाइल्याण्ड, मलेसिया, सिंगापुर, जापान, इटाली र इरानमा समेत अहिले कोरोना भाइरसको संक्रमण देखिएको छ । अहिलेसम्म कोरोनाको संक्रमणबाट ज्यान गुमाउनेको संख्या २८ सय पुगेको छ । त्यस्तै विश्वभरका ८३ हजारमा संक्रमण फैलिएको छ ।

चीनपछि सबैभन्दा बढी संक्रमण फैलिएको दक्षिण कोरियामा २ हजार २२ जनामा संक्रमण फेला परेको  उल्लेख गरिएको छ । चीनमा बिहीबारमात्रै २९ भन्दा बढीले ज्यान गुमाएका छन् भने ४ सय ३३ जनामा नयाँ संक्रमण देखिएको छ । त्यस्तै, कोरियामा १ हजार २ सय ६१ नयाँ संक्रमित फेला परेका छन् ।

कोरोनाकै कारण दक्षिण कोरियामा ज्यान गुमाउनेको संख्या १२ पुगेको छ । चीनपछि दक्षिण कोरियामा कोरोना भाइरसले प्रकोपको रुप नै लिइसकेको छ । कोरोना भाइरसको संक्रमण चीनपछि दक्षिण कोरियामा बढेको विश्व स्वास्थ्य संगठनको भनाइ छ ।

त्यस्तै इटालीमा १७ जनाले ज्यान गुमाएका छन् । ६ सय ५० जनामा संक्रमण देखिएको छ । युरोपका अल्जेरिया, डेनमार्क, रोमानिया, स्पेनमा पनि यसको संक्रमण फैलिएको छ ।

त्यस्तै, बेलायतमा १६ जनामा संक्रमण देखिएको छ । नेदरल्याण्ड, ब्राजिलमा पनि कोरोना संक्रमित फेला परेका छन् । फ्रान्समा कोरोनाको संक्रमणबाट २ जनाले ज्यान गुमाउनुका साथै ३८ जनामा संक्रमण देखिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.