२०७६ फागुन ९ गते १८:०८ विकासन्युज
काठमाडौं । याे वर्ष काठमाडौंमा हुने भनिएकाे बिमस्टेक र साफ्टा बैठक स्थगित हुने भएकाे छ । चीनबाट शुरू भएको र अहिले धेरै देशमा फैलिएकाे कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि बैठक स्थगित भएकाे जनाइएकाे छ ।
साफ्टाको बैठक फेब्रुअरी १९ र २० र बिमस्टेक व्यापार सहजीकरणको बैठक पनि २० फेब्रुअरीमा नै हुने भनिएको थियो । बिमस्टेक र साफ्टाले आधिकारिकरूपमा यसबारे केही नबताए पनि कोरोना भाइरसको संक्रमण बढेसँगै बैठक स्थगित गरिएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको स्रोतले बताएको छ ।
बिमस्टेक सचिवालयले माघको अन्तिम साता परराष्ट्र मन्त्रालयलाई पत्र काटेर बैठक स्थगित भएको जानकारी दिएको थियो । सचिवालयले भने यसै साता परराष्ट्र मन्त्रालयलाई बैठक स्थगित गर्ने निर्णय सुनाएको छ । बिमस्टेकले परराष्ट्र मन्त्रालयलाई लेखेको पत्र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले पाइसकेको छ ।
साफ्टाले लेखेको पत्र भने मन्त्रालय पुगिसकेको छैन । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका एक अधिकारीले केही दिनमा नै साफ्टाको पत्र पनि आइपुग्ने बताए ।
बिमस्टेक सचिवालयले २३ माघमा परराष्ट्र मन्त्रालयलाई लेखेको पत्रमा आगामी २० फेब्रुअरी २०२० मा काठमाडौंमा आयोजना गर्ने भनिएको वर्कशप फर दी स्टडी अन ट्रेड फ्यासिलेटेसन एजेन्डा फर बिमस्टेक हाललाई स्थगन गरिएको भनिएको छ । उक्त पत्रमा मिति तोकेर मन्त्रालयलाई जानकारी गराउने उल्लेख गरिएको छ ।
पहिलो पटक हुन लागेको बिमस्टेकको व्यापार सहजीकरण बैठक स्थगित हुनुको कारण कोरोना भाइरस नै भएको बताइएको छ । साफ्टाको बैठक रोकिनुलाई भने कोरोनाको डरसँग मात्र लिन नहुने मन्त्रालय स्रोत बताउँछ ।
यसमा भारत र पाकिस्तानको सम्बन्ध बिग्रिनुलाई समेत एउटा कारण मानिएको छ । यसपटक कोरोनाको कारण बैठक रोकिए पनि यसअघि भारतकै कारण पटक पटक साफ्टाको बैठक रोकिएको थियाे ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.