२०७६ माघ २१ गते १३:०४ विकासन्युज
रत्ननगर । क्षेत्रीय पानी परीक्षण प्रयोगशाला भरतपुरले ‘वाटर एम्बुलेन्स’ सेवा सञ्चालनमा ल्याएको छ । आपत्कालीन अवस्थामा पानीको गुणस्तर नाप्नका लागि अत्याधुनिक उपकरण जडान भएको वाटर एम्बुलेन्स सेवा सञ्चालनमा ल्याइएको हो । युनेसेफ र खानेपानी विभागको संयुक्त लगानीमा एम्बुलेन्स खरिद गरिएको क्षेत्रीय पानी परीक्षण प्रयोगशाला भरतपुरका केमिष्ट योगेन्द्रनारायण देवले जानकारी दिए ।
पानी परीक्षण गर्न आवश्यक उपकरण भएको एम्बुलेन्सलाई करिब रु ५० लाख परेको उनले बताए । असोज महिनादेखि कार्यालयले पानी परीक्षणका लागि घुम्ती सेवा शुरु गरेकाे थियो । अहिलेसम्म धादिङ, मकवानपुर, माडी, खैरहनीलगायत स्थानमा लगेर स्थलगत रुपमा पानीको परीक्षण गरिएको देवले बताए ।
महामारी हुँदा प्रभावित क्षेत्रहरुमा लगेर पानीको परीक्षण गर्न यस एम्बुलेन्सले सहयोग पुग्ने उनको विश्वास छ । विशेषगरी दैवी प्रकोपका घटनाको समयमा पानीको स्थलगत परीक्षण गरी गुणस्तर कायम राख्नका लागि सहयोग पुग्ने देवले बताए । कसैले पानी परीक्षण गर्न आउनुपर्यो भनेको खण्डमा तुरुन्तै गएर पानीको परीक्षण गर्न सक्ने जानकारी दिए ।
वाटर एम्बुलेन्स आएपछि टाढा टाढा गएर पानीको परीक्षण गर्न सहज भएको उनले बताए । स्थलगत पानी परीक्षण गरेपछि तत्कालै पिएच, पारा, इसी, एफआरसीलगायत छवटा पानीका पारामितिहरुको नतिजा दिने गरिन्छ । यस्तै अन्य पारामितिहरुको नतिजा चौबिस घण्टाभित्र दिने गरिएको देवले जानकारी दिए । घुम्ती सेवाका लागि एकजना केमिष्ट र चालक खटिने गरेका छन् । रासस
Copyright © 2024 Bikash Media Pvt. Ltd.