२०७६ पुष १ गते १४:५० विकासन्युज
काठमाडौं । नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले सन् २०१९ को ‘मस्ट पपुलर एयरलाइन्स अवार्ड’ प्राप्त गर्न सफल भएको छ । एयरलाइन्स क्रिटिक्स एण्ड ब्लगर एशोसिएसन’ ले निगमले गुणस्तरीय सेवा पुर्याएबापत सो सम्मान प्रदान गरेको हो । एशोसिएशनद्वारा आयोजित कार्यक्रममा निगमका कार्यकारी अध्यक्ष मदन खरेलले सो सम्मान ग्रहण गरेका हुन् ।
एशोसिएशनले अन्तरराष्ट्रिय उडानका विभिन्न सेवामा निगमले पुर्याएको सेवालाई समेटेर भिडियो सामग्री तयार गरेको र मतका आधारमा निगमले उत्कृष्ट सम्मान जित्न सफल भएको निगमका सहप्रवक्ता सुलेख मिश्रले जानकारी दिए।
चार सय ५० भन्दा बढी एयरलाइन्स ब्लगर, समिक्षक, यात्रु र उड्डयन पत्रकारले गरेको समिक्षाका आधारमा नेपाल एयरलाइन्सलाई सो सम्मान दिइएको एशोसिएशनका अध्यक्ष टिपियस ग्रोबरले जानकारी दिएका हुन् ।
वायुसेवा कम्पनी कर्मचारी र चालक दलले यात्रुलाई गर्ने व्यवहार, यात्रु सेवा, विमानभित्र प्रदान गरिने खानाको गुणस्तर, मनोरञ्जन, सुरक्षित सेवा, आरामदायी सिट, मूल्यलगायत मापदण्डका आधारमा सो पुरस्कार छनोट गरिन्छ । यसअघि थाइ एयर र फिन एयरले सो सम्मान प्राप्त गरेका थिए ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.