२०७६ असोज २९ गते १८:२९ सन्तोष रोकाया
बझाङ । असोज २१ गते बिहानैदेखि महान पर्व दशैं मनाउन मानिसहरू घरमा अभ्यस्त थिए । कोही महान पर्व दशैंका टिका जमरा लगाउँदै, कोही दशैंको खुसियालीमा पिङ खेल्दै, कोही साथीभाइहरूसँग रमाइलो गर्दै त कोही वर्षौंदेखि भेटघाट नभएका आफन्तजनहरूसँग भोलाकुसारी गर्दै दशैं मनाउन व्यस्त देखिन्थे ।
बिहानीको समय । सूर्यको किरणले पनि दशैं आएको गज्जवै सञ्चार गरिरहेको थियो । बझाङ चैनपुरका चारै तर्फका पहाडहरूबाट सूर्यको चमत्कारिक किरणहरूको आगवमनले दशैं आएको भान जोकोहीले पनि महशुस गरेको हुनुपर्छ । यहि माहोलमा बिहानै बाउली खोलाको छेउमा गिट्टी कुट्न एकोहोरो सुरमा थिए जलबिर नेपाली र उनकी श्रीमती बिमा नेपाली ।
दशैंलाई धेरैले मिठो–मिठो खाने र राम्रो लगाउने पर्वका रुपमा पनि चिन्ने गरिन्छ । वर्षौंदेखि भेटघाट नभएका आफन्तजनहरूसँग मिलन गर्ने पर्व पनि हो दशैं । तर यहि दशैंको माहोलमा बिहानै सुनशान बाउली खोलाको किनारमा बृद्ध बिमल नेपालीको परिवारले गिट्टी कुटेको दृश्य देख्ने जोकोहीको पनि आँखा रसाएको अवश्य हुनु पर्छ । यहि दृश्यले पंक्तिकारलाई पनि यो विषयमा बुझ्न उनी तर्फ तान्यो ।
दशैंको दिन पनि गिट्टी कुट्दै ? दशैं मनाउनु भएन ? बिमल नेपालीलाई पंक्तिकारको पहिलो जिज्ञासा थियो यो । पंक्तिकारको पहिलो जिज्ञासा सकिन नपाउँदै बिमा नेपाली बोलिन् – जसको कुनै आफन्त नै छैनन्, जोसँग एक छाक टार्न गाँस छैन, उसलाई के को दशैं ? प्रश्नमा प्रतिप्रश्न गर्दै पंक्तिकारलाई उनले भावविभोर बनाईन् ।
‘विगत ३० वर्षदेखि राम्रोसँग चाँडवाड मनाउन पाएका छैनौं’ बिमलले भने, गिट्टी कुट्न शुरु गरेको पनि ३० वर्ष भयो ।’ घर रोल्पा हो, उनले थपे, संकटकालमा धेरै दु.ख पाएर भाग्दै बझाङसम्म पुगियो ३० वर्षदेखि नै गिट्टी कुट्दैछौं ।’ ‘पहिले आफन्त थिए, मिलेर दशैं मनाउन्थ्यौं’, बिमाले भनिन् – अहिले साथमा न छोराछोरी छन्, बुढो भइयो, साहारा दिने कोहि छैनन्, नदीको छेउमा बसेर गिट्टी कुट्नुको विकल्प छैन ।’ जन्मेका सबै बच्चाहरू मरे अन्तिममा एक छोरा र एक छोरी बाँचेका थिए । छोरी बिहे गरेर गई । २० वर्षको छोरा भने कहाँ छ कुन ठाउँ छ अत्तोपत्तो छैन उनले भनिन् ।
मासिक आठ हजार कमाइ
दुवै जनाले दिनभरी गिट्टी कुटेर मासिक आठ हजार रुपैयाँ आम्दानी गर्ने गरेको बिमलले बताए । उमेरले ८६ वर्ष भएको बताउने उनी पेट पाल्नकै लागि भएपनि सकिनसकि काम गर्नु परेकोे सुनाए । उनी र उनकी श्रीमती हाल चैनपुरमै मासिक दुई हजार कोठा भाडा तिरेर बस्दै आएको छ ।
बिमलका दुवै जना उमेरले बृद्ध भएपनि काम गर्ने जोश भने अझै जिवितै देखिन्छ । पहिले रोल्पा घर भएको बताउने उनीहरु बझाङका विभिन्न ठाउँमा बसेर मजदुरी गरेको बताउँछन् ।
आर्थिक अवस्था कमजोर भएकै कारण उनीहरूको जीवनमा विभिन्न समयमा विभिन्न समस्याहरु आउने गरेको छ । आर्थिक स्थिति नाजुक भएकै कारण दशैंले आफुलाई छुन नसकेको बिमलले भावविभोर हुँदै बताए । दुईजनाले दिनभर गरेर दुई कट्टा गिट्टी कुट्ने उनले बताए । ‘महिनाको दुई ट्राली गिट्टी कुट्छौं’ उनले भने, एक ट्रालीको चार हजार रुपैयाँ मूल्यमा विक्रि हुन्छ, दुई ट्राली मिलाएर मासिक आठ हजार रुपैयाँ कमाइ हुन्छ ।’ कहिले काहीँ त गिट्टी विक्रि नहुँदा छाक टार्न पनि समस्या हुने गरेको बिमाले बताइन् ।
२० वर्षदेखि बाउली खोलामै गिट्टी कुट्दैछौं बिमाले भनिन्– अब त बाउली खोला नै आफन्त जस्तो भइसकेको छ । यसैको किनारमा बस्न मन पर्छ । हुनपनि यसको किनारमा बस्न वाहेक अन्य विकल्प छैन उनले भनिन् । ‘२० वर्ष यो नदिमै बितायौं’ अलि निराश भावमा बिमा भन्छिन्न् ‘उहाँ ८६ वर्षको भइसक्नु भो, मेरो उमेर ६३ वर्ष भयो, अझै काम गरी रहेका छौं । मरेको दिन यसै नदिले बगाएर लैजान्छ ।’
बिहानै बाउलीखोला गएर दिनभरी गिट्टी कुटेर राती अबेर चैनपुर डेरामा फर्किनु यी दुई दम्पतीकोे दैनिकी बनेको छ । बृद्ध अवस्थामा पुगिसक्दा समेत केही गर्नुपर्छ भनेर रातदिन काममै लागि रहने बिमलका परिवार सबैका लागि उदाहरणका पात्र समेत बनेका छन् ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.