साँझैदेखि बन्द हुन थाले एटीएम काउन्टर, ‘३ सिफ्टमा गार्ड राखेर निःशुल्क सेवा दिन सकिन्न’

  २०७६ असोज १३ गते १८:५२     विकासन्युज

काठमाडौं । सबै एटीएम बुथमा सुरक्षा गार्ड राख्ने राष्ट्र बैंकको निर्देशनपछि एटीएम काउन्टरहरु साँझदेखि नै बन्द हुन थालेका छन् । नेपाल राष्ट्र बैंकले केही दिन अघि मात्रै बैंक तथा वित्तीय संस्थाहरुलाई एटीएम मेसिनमा चौबिसै घण्टा हतियारसहित सुरक्षा गार्ड राख्न निर्देशन दिएसँगै बैंक तथा वित्तीय संस्थाले आफूले प्रदान गर्दै आएको सेवाको समय घटाउन थालेका हुन् ।

अहिले उपत्यका र बाहिरका कम चहलपहल हुने ठाउँहरुमा सञ्चालित एटीएम काउन्टरहरु बैंकहरुले साँझ पर्नेबित्तिकै बन्द गर्न थालेका छन् । कतिपय बैंकहरुले त कार्यालय समय सकिएपछि बैंकिङ काउन्टरसँगै एटीएम काउन्टर समेत बन्द गर्न थालेको बताइएको छ । यसअघि खुला रहने व्यस्त ठाउँका एटीएमहरु समेत रातको समयमा एटीएम काउन्टरहरु बन्द गर्न थालिएकाे छ ।

बैंकहरु भने तीन सिफ्टमा २४ सै घण्टा सुरक्षा गार्ड राखेर निःशुल्क सेवा चलाउन नसकिने भन्दै राष्ट्र बैंकको निर्देशनपछि बैंकहरुले एटीएम सेवा नै बन्द गर्नुपर्ने अवस्था आएको बताउँछन् । त्यसाे त उनीहरु सुरक्षा गार्ड राखेकै भरमा पनि यस्तो लुट अन्त्य हुनेमा विश्वस्त छैनन् । ‘कसैले मेरो पैसा म झिक्छु भन्यो भने हतियारसहितको सुरक्षाकर्मीले चाहिँ के गर्ने ?’ एकजना बैंकरले भने ।

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले पनि यो अवस्थामा बैंकहरुका लागि राम्रो भनेको कार्यालय समयमा मात्रै एटीएम खोल्नु नै उपयुक्त हुने बताउँछन् । नियामकले दिएको निर्देशन आफूहरुले मान्नुपर्ने भए पनि त्यो मान्न नसेकेको अवस्थामा सेवा बन्द गर्ने विकल्प भएको उनको तर्क छ ।

‘बैंकहरुले आफैंले बजारको सबै थ्रेटहरु देख्दैन, नियामकले त्यसलाई औंल्याइदिने काम गर्छ, त्यसैले नियामकले देखेको जोखिमका आधारमा दिएको निर्देशन हामीले मान्नुपर्छ, तर हामीले यसरी २४ सै घण्टा सेवा दिन सक्दैनौं, त्यस्तो अवस्थामा रातको समयमा एटीएम बन्द गर्ने नै अर्को विकल्प हो’ शाहले भने ।

चिनियाँ ह्याकरहरुले एटीएम ह्याक गरी करोडौं रकम लुटेको र केही दिन अघि मात्रै कृषि विकास बैंकमा भएको लुट काण्ड समेत एटीएम मेसिनकै प्रयोग गरेर भएपछि राष्ट्र बैंकले एक साता अघि मात्रै त्यस्ता मेसिनहरुमा हतियारसहितको सुरक्षा गार्ड राख्नुपर्ने व्यवस्था गरेको थियो । तर यसमा बैंकरहरुले भने राष्ट्र बैंकको यो निर्देशनको घुमाउरो ढंगले असहमति जनाउँदै आएका छन् ।

राष्ट्र बैंकको यो व्यवस्था प्रविधिमाथिको आक्रमणलाई मान्छेले रोक्न खोजेको जस्तो भएको भन्दै यो सम्भव नहुने उनीहरुको भनाई छ । त्यसका लागि प्रविधिकै सुधारमा जोड दिँदैै नियामकको यो निर्देशनको घुमाउरो ढंगले विरोध गर्दै आएका छन् । चौबिसै घण्टा सुरक्षा दिएर निःशुल्क सेवा दिनुपर्ने एटीएम राख्न नसकिने उनीहरुको तर्क छ ।

बैंकहरुले सुरक्षा गार्ड राख्नुपर्ने व्यवस्था गरेसँगै बैंकहरुले एटीएम सञ्चालन अवधि घटाउँदै जाँदा ग्राहकहरुले भने खल्तीमा राख्ने आफ्नो रकम बढाउँदै जान थालेका छन् । नेपाल राष्ट्र बैंकले खुला भएको भने पनि अझै पनि एउटा बैंकको रकम अर्को बैंकबाट झिक्न पाउने अवस्था विश्वस्त अवस्था छैन । अर्कोतर्फ एटीएम काउन्टर नै बन्द गर्न थालेपछि बचतकर्ताहरु दैनिक खर्च टार्ने रकम खल्तीमै होल्ड गर्न थालेका हुन् । यसले दशैंको समयमा थप अप्ठ्यारो पार्नसक्ने र दीर्घकालसम्म यस्तै अवस्था हुने हो भने बैंकिङ तरलतालाई समेत यसले प्रभाव पार्ने बैंकिङ क्षेत्रका सरोकारवालाहरु नै बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.