२०७६ असोज ११ गते १७:४९ विकासन्युज
काठमाडौं । विश्व पर्यटन दिवसको अवसर पारेर नुवाकोेटको विदुर नगरपालिका ४ मा‘होटल तथा पर्यटन व्यवसायी संघनेपाल प्रदेश नम्बर ३’ले अन्र्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ । गत शुक्रबार आयोजित उक्त कार्यक्रमले पर्यटकीय गन्तव्यको रुपमा नुवाकोट स्थापित हुने आधारहरु प्रस्तुत गरेको हो ।
पूर्व खेलकुद मन्त्री तथा हालका सासंद हितबहादुर तामाङ्गले भ्रमण वर्ष २०२० लाई सफल पार्न आन्तरिक तथा बाह्य दुवै किसिमका पर्यटकमा आकर्षण जगाउँन जरुरी रहेको बताए । नुवाकोटका स्थानीय उत्पादनमा जोड दिदै दिर्घकालिन पूर्वाधारको विकास गर्न जरुरी रहेको उनको मत छ । साथै, वर्तमान समयमा राजमार्गका सडक लगाएका अन्य पूवार्धारमा समेत केही समस्या रहेपनि आगामी दिनमा पर्यटन क्षेत्रमा नेपालको भविष्य उज्जवल रहेको उनको तर्क छ ।
यस्तै,प्रदेश नम्बर ३ का सभासद केशव पाण्डेले नेपालमा २० लाख पर्यटक ल्याउँदा नुवाकोटमा कति ल्याउँने भन्ने कुरा महत्वपूर्ण हुने बताए । वर्तमान समयमा अवसर र चुनौति दुवै रहेको उनको बुझाई छ । सोही कारण चुनौतिसँग मुकाविला तथा अवसरहरुको सदुपयोग गर्न आवश्यक रहेकोमा उनले जोड दिए ।
विदुर नगरपालिकाका मेयर संजु पण्डितले भने– ‘त्रिदेशीय मार्गको रुपमा नुवाकोटले पर्यटनमा सहयोग गर्न सक्छ ।’ उनले सकेसम्म चाडै बाटोको अवस्था सुधार गर्न सकिएमा छोटो मार्ग मात्र नभई विदेशी पाहुनासँगपनि सहकार्य गर्न सकिने उनले बताए ।
कार्यक्रममा सारोकारवालाहरुले नुवाकोटमा दर्जनभन्दा बढी पर्यटकीय क्षेत्र रहेको बताए । नुवाकोटमा पर्यटकीय गन्तव्यको रुपमा ककनी, सागरकुण्ड, सूर्याचौर, नुवाकोट दरबार, बेलकोटगढी, दुप्चेश्वर महादेव, चिम्टेश्वर क्षेत्र रहेका छन् । यस्तै, भैरमकोट क्षेत्र, भैरवी मन्दिर, बेत्रावती, उत्तरगयाधाम, देविघाट जालपा मन्दिर, राम मन्दिर, गोरु जुधाउने जात्रा, लाखे नाच नुवाकोटका आकर्षणका रुपमा लिन सकिन्छ । भ्रमण वर्ष २०२० मा नुवाकोटले थप सहयोग गर्ने विषयमा चर्चा गरिएको थियो ।
कार्यक्रममा होटल तथा पर्यटन व्यसायी संघ नेपाल प्रदेश नम्बर ३ का अध्यक्ष सन्तोष उप्रेतीले सभापतित्व गरेका थिए । पूर्व युवा तथा खेलकुद मन्त्री तथा संघीय संसदका सदस्य हित बहादुर तामाङ्ग प्रमुख अतिथिको रुपमा उपस्थित थिए । विषेश अतिथिका रुपमा प्रदेश नम्बर ३ का प्रतिनिधि सभा सदस्य केशव पाण्डे थिए । साथै, जिल्ला समन्वय समितिका नुवाकोटका सभापति सन्तमान तामाङ्ग, नुवाकोटका प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेल लगायतका व्यक्तिहरुको कार्यक्रममा उपस्थिति रहेको थियो ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.