कर्पोरेट सुपर सिक्सेस : क्वार्टरफाइनल समीकरण पूरा

  २०८१ वैशाख २५ गते ६:३७     विकासन्युज

काठमाडौं । माछापुच्छ्रे बैंक र एनसेल लिजेण्ड्स जारी कर्पोरेट सुपर सिक्सेस सिजन–७ मा समूह चरणका खेलमा अपराजित रहँदै क्वार्टरफाइनलमा पुगेका छन् ।

एसएस इभेण्ट्स प्रालि र नेकोसको संयुक्त आयोजनामा मूलपानी क्रिकेट मैदानमा जारी कर्पोरेट सुपर सिक्सेस सिजन–७ मा सोमवार क्वार्टरफाइनल समीकरण पूरा भएको छ।

मूलपानी क्रिकेट मैदानमा भएको खेलमा समूह ‘ए’ को माछापुच्छ्रे र समूह ‘सी’ को एनसेल दुवै ३र३ खेल जित्दै समूह विजेताका रूपमा क्वार्टरफाइनलमा पुगेका हुन्।

माछापुच्छ्रेले सोमवार समूहमा क्लाउड फ्याक्ट्रीलाई १ रन र एनआईसी एशिया बैंकलाई १ विकेटलाई हराउँदै समूह विजेता बन्यो।

हारका बाबजुद एनआईसी समूह उपविजेताका रूपमा दोस्रो चरणमा पुग्यो । एनआईसी एशियाले आइतबार नै २ खेल जितेको थियो ।

५ ओभरमा भएको कर्पोरेट सुपर सिक्सेस सिजन–७ मा सोमवार १२ खेल भएका थिए ।

एनसेल लिजेण्ड्सले सोमवार सूर्य नेपाललाई ५ विकेटले र नेपाल बैंकलाई २३ रनको फराकिलो अन्तरले हराउँदै समूह विजेता भयो ।

समूह ‘सी’ मा ३ खेलको सकिँदा सूर्य नेपाल, आईएमई ग्रुप र नेपाल बैंक तीनवटैले १र१ खेल जिते ।

नेट रनरेटका आधारमा सूर्य नेपाल क्वार्टरफाइनलमा पुग्न सफल भयो। सूर्य नेपालले सोमवार आईएमई ग्रुपलाई ११ रनले जितेको थियो । यो जित नै उसलाई दोस्रो चरणमा पुग्न पर्याप्त बन्यो ।

समूह ‘बी’ बाट आईसीएफसी फाइनान्स र सिप्रदी शीर्ष दुईमा रहँदै क्वार्टरफाइनलमा पुगे ।

आईसीएफसी फाइनान्सले सोमवार मूलपानीमा जगदम्बा ग्रुपलाई ५ रन र सिप्रदीलाई १२ रन हरायो। यससँगै समूहमा तीनै खेल जित्दै आईसीएफसी फाइनान्स दोस्रो चरणमा पुग्यो ।

सिप्रदीले भने दोस्रो दिन जगदम्बा ग्रुपलाई १५ रन र कुमारी बैंकलाई १४ रनले हरायो। सिप्रदीले एक खेलमात्र गुमाउन पुग्यो ।

समूह ‘डी’ मा ३ टोलीले मात्र प्रतिष्पर्धा गरेका थिए। तीमध्ये सुबिसु २ खेलमा अपराजित रहँदै क्वार्टरफाइनलमा पुग्न सफल भयो ।

सुबिसुले दोस्रो दिन राष्ट्रिय वाणिज्य बैंकमाथि ३ विकेटको जित निकाल्दै अपराजित यात्रा कायमै राखेको हो। यो समूहबाट राष्ट्रिय वाणिज्य बैंक दोस्रो चरणमा पुग्न सफल भयो ।

वाणिज्य बैंकले पनि सोमवार एनसेल इलाट्सलाई १३ रनले पराजित गर्‍यो। यो जित नै वाणिज्य बैंकलाई क्वार्टरफाइनलमा पुग्न पर्याप्त भयो ।

सोमवार भएका अन्य खेलमा समूह ‘बी’ को जगदम्बा ग्रुपले कुमारी बैंकलाई ४ रन, समूह ‘सी’ को आईएमईले नेपाल बैंकलाई १८ रनले, समूह ‘ए’ को प्राइम बैंकले क्लाउड फ्याक्ट्रीलाई ३० रनले जित्यो । यद्यपि, यो जित तीनै टोलीका लागि दोस्रो चरणमा पुग्न पर्याप्त भएन ।

तीनदिने प्रतियोगिताको क्वार्टरफाइनल, सेमिफाइनल र फाइनल मंगलबार हुँदैछन् ।

१५ वटा कर्पोरेट हाउसले प्रतिष्पर्धा गरेको यस सिजनको विजेता र उपविजेताले ट्रफी र गिफ्ट ह्याम्पर पाउनेछन् ।

विजेताले आगामी सिजन फ्रि इन्ट्री पाउने भएका छन् । प्लेयर अफ दी टुर्नामेन्ट, बेस्ट ब्याट्सम्यान, बेस्ट बलर, बेस्ट फिल्डर र बेस्ट विकेटकिपरले पनि पुरस्कार पाउनेछन् ।

आयोजकका अनुसार सर्वाधिक छक्का प्रहार गर्ने खेलाडी, हिट बोर्ड र फेयर प्ले अवार्ड पनि प्रदान गरिने एसएस इभेन्ट्स प्रालिका निर्देशक सुमित रौनियारले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.