घरजग्गा कारोबारबाट चैतमा ४.३१ अर्ब राजस्व उठ्यो

  २०८१ वैशाख २ गते १८:५४     विकासन्युज

काठमाडौं । सरकारले चालु आर्थिक वर्षको चैत महिनामा घरजग्गा कारोबारबाट साढे ४ अर्ब रुपैयाँ बराबरको राजस्व संकलन गरेको छ । देशभरिका विभिन्न मालपोत कार्यालयमा चैतमा ४९ हजार घरजग्गा खरिदबिक्री हुँदा ४ अर्ब ३१ करोड २३ लाख रुपैयाँ राजस्व संकलन गरेको भूमि व्यवस्थापन तथा अभिलेख विभागले जनाएको छ ।

विभागका अनुसार चैतमा सेवा करवापत ३१ करोड ५२ लाख रुपैयाँ, रजिष्ट्रेशन दस्तुरबापत २ अर्ब ४९ करोड १७ लाख रुपैयाँ र पुँजीगत लाभकरवापत १ अर्ब ४६ करोड ९१ लाख रुपैयाँ राजस्व संकलन भएको छ ।

चैतमा सबैभन्दा धेरै राजस्व संकलन मालपोत कार्यालय लगनखेल ललितपुरले ४२ करोड ८६ लाख रुपैयाँ गरेको छ । यस्तै, मालपोत कार्यालय भक्तपुरले २९ करोड ८२ लाख रुपैयाँ, कलंकीले २७ करोड ८६ लाख रुपैयाँ, डिल्लीबजार कार्यालयले २६ करोड ९६ लाख रुपैयाँ, चावहिलले २५ करोड ६६ लाख रुपैयाँ र चितवनले १४ करोड ७६ लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।

यस्तै, इनरुवा सुनसरीले १४ करोड १ लाख रुपैयाँ, कास्कीले १२ करोड ७९ लाख रुपैयाँ, भद्रपुर झापाले १० करोड ९३ लाख रुपैयाँ, काभ्रेपलान्चोकले १० करेड ६३ लाख रुपैयाँ, मालपोत कार्यालय रुपन्देहीले ९ करोड ६३ लाख रुपैयाँ र मालपोत कार्यालय बुटवल रुपन्देहीले ९ करोड ७४ लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.