प्रहरीले जुवाडेबाट उठायो २ करोड ६३ लाख जरिवाना

  २०८० चैत २१ गते ६:४७     विकासन्युज


काठमाडौं । नेपाल प्रहरीले चालु आर्थिक वर्षको आठ महिनामा देशका विभिन्न स्थानमा जुवातास खेल्ने १ हजार ८ सय १७ व्यक्तिलाई पक्राउ गरेको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार चालु आवको साउनदेखि फागुन मसान्तसम्म देशका विभिन्न भागमा जुवातास खेल्नेलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा काठमाडौं उपत्यकाबाट ७ सय ७९, कोशी प्रदेशबाट १ सय १५, बागमती प्रदेशबाट १ सय १३, गण्डकी प्रदेशबाट २ सय ९९, लुम्बिनी प्रदेशबाट ९४, कर्णाली प्रदेशबाट १ सय ४ र सुदूरपश्चिम प्रदेशबाट ३ सय १३ जना रहेका छन् ।

उक्त अवधिमा प्रहरीले उनीहरूको साथबाट २ करोड ६३ लाख ४५ हजार ४ सय १७ रुपैयाँ बरामद गरेको केन्द्रीय प्रहरी प्रवक्ता, प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए ।

उक्त अवधिमा प्रहरीले जुवातास खेल्नेबाट ५ सय ५४ बुक तास र २ सय ५० थान कौडा बरामद गरेको छ । ‘जुवा खेलेको विशेष सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरेका हौँ,’ प्रवक्ता ढकालले भने ।

मुलुकी अपराध संहिता, २०७४ ले जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने दफाअन्तर्गत पहिलोपटक जुवा खेल्ने वा खेलाउनेलाई तीन महिनासम्म कैद वा ३० हजारसम्म जरिवाना गर्ने कानुनी व्यवस्था रहेको छ ।

यसैगरी दोस्रो पटकदेखि जुवा खेल्ने वा खेलाउनेलाई एक वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना र त्यसपछिको कसुरमा पटकैपिच्छे थप तीन महिनासम्म कैद र १० हजार रुपैयाँसम्म जरिवाना गर्ने व्यवस्था रहेको छ । जुवा खेल्न प्रयोग भएको साधन र जुवाबाट प्राप्त सम्पूर्ण चलअचल सम्पत्ति जफत हुने कानुनी प्रावधान समेत छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.