फागुनमा ६५ हजार युवा विदेशिए, धेरैको गन्तव्य यूएई

  २०८० चैत २ गते १५:१३     विकासन्युज

काठमाडौं । वैदेशिक रोजगारको सिलसिलामा फागुनमा ६५ हजार बढी नेपाली विदेशिएका छन् । वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार फागुनमा नेपालबाट ६५ हजार ६५८ जना नेपाली विदेशिएका हुन् ।

विभागको तथ्यांकअनुसार माघको तुलनामा फागुनमा रोजगारको निम्ति विदेश जाने नेपालीको संख्या झण्डै तीन हजारले वृद्धि भएको छ । माघ महिनामा ६२ हजार १४७ जना नेपाली वैदेशिक रोजगारको सिलसिलामा विदेशिएका थिए ।

वैदेशिक रोजगारको सिलसिलामा फागुनमा ५८ हजार ८९० जना पुरुष र ६ हजार ७६८ जना पुरुष विदेशिएका छन् । तथ्यांकअनुसार फागुन महिनामा नेपालबाट सबैभन्दा धेरै अर्थात् १८ हजार ७०७ जना नेपाली रोजगारीको लागि युएई गएका छन् ।

त्यस्तै, १३ हजार २६७ जना साउदी अरेबिया, ११ हजार ३९० कतार, ८ हजार ४१७ मलेसिया, ३ हजार २०६ कुवेत र १३६० जना नेपाली रोजगारको निम्ति इटली गएका छन् । सो महिनामा अन्य देशमा गएका नेपालीको संख्या भने एक हजार भन्दा कम रहेको विभागको तथ्यांकले देखाएको छ ।

चालु आर्थिक वर्षको ८ महिनामध्ये साउनमा ५५ हजार ५७५, भदौमा ५० हजार ८८४, असोजमा ५६ हजार २३५, कात्तिकमा ४३ हजार ६३३, मंसिरमा ७१ हजार २७६ र पुसमा ६५ हजार ८१३ जना नेपाली रोजगारको निम्ति विदेशिएका छन् । फागुन महिनामा धनुषा जिल्लाबाट सबैभन्दा ठूलो संख्या अर्थात् ३५५४ जना रोजगारको सिलसिलामा विदेश गएको विभागको तथ्यांकले देखाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.