२०८० फागुन २५ गते १०:४० इन्द्रसरा खड्का
काठमाडौं । सपना अधिकांशले देख्छन् । कतिपयले आफ्नो सपनालाई साकार गरेरै छोड्छन् त कतिले बिचमै बाटो मोड्छन् । कतिपयले नसोचेकै क्षेत्रमा हात हालेर त्यही क्षेत्रमा सफल बनेर उदाहरणीय पात्र बन्छन् ।
काठमाडौंको ज्ञानेश्वरमा रहेको इन्टरनेश्नल स्कुल अफ टुरिजम एण्ड होटेल म्यानेजमेन्ट (आईएसटी) कलेजकी प्राचार्य सम्झना बस्न्यातलाई पनि म शिक्षा क्षेत्रमा लागेर काम गर्छु भन्ने सोचेकी थिइनन् । तर, उनको प्रवेश यही क्षेत्रमा भयो । अहिले उनी शिक्षा क्षेत्रमा नै जमेकी छन् ।
बरु उनलाई कर्पोरेट क्षेत्रमा काम गर्न रुची थियो । तर, बाटो अन्तै मोडियो । उनी शिक्षण पेसामा आवद्ध भइन् । उनी विगत १२ वर्षदेखि सोही कलेजको नेतृत्व गरिरहेकी छन् ।
‘शिक्षक भएर शिक्षण पेसामा रम्छु भन्ने सोचेकी थिइनँ । तर, जब यो पेसामा आएँ, अन्त सोच्नै परेन,’ उनले भनिन् ।
उनले थपिन्, ‘काम गर्दै जाँदा रमाइलो लाग्ने रहेछ,’ आफूमा भएको ज्ञान र शिक्षा बालबालिकालाई बाँड्न पाउनु नै ठूलो कुरा हो, अहिले मलाई शिक्षण पेशा नै रमाइलो लागिरहेको छ, यो क्षेत्रमा २० वर्ष बित्तेको पत्तै भएन ।’
उनले पढाउन पनि यही कलेजबाट सुरु गरेकी हुन् । सम्झना शिक्षण पेसालाई डायनामिक जब रहेको अनुभव सुनाउँछिन् ।
‘यो कसैको भविश्य बनाउँछु अथवा उसको जीवनमा म परिवर्तन ल्याउछु भनेर गरिने पेसा हो, शिक्षणको प्यासन नभएको मान्छेलाई यो क्षेत्रमा गाह्रो पनि छ,’ उनले भनिन् ।
सिंगापुरमा पढाइदेखि प्राचार्यसम्म
सम्झना काठमाडौंकी रैथाने हुन् । उनी काठमाडौँको कुपण्डोलमा जन्मिइन् । अहिले काठमाडौंको विसालनगरमा बस्छिन् । उनले प्लसटुसम्म ज्ञानोदय बालबाटिकामा पढिन् ।
त्यसपछि पद्मकन्या क्याम्पसबाट स्नातक गरिन् । र, सिंगापुरमा गएर होटेल म्यानेजमेन्ट पढिन् । त्यहाँबाट फर्केपछि उनले काठमाडौं विश्वविद्यालयबाट मास्टर्स इन बिज्नेस एडमिस्ट्रेसन (एमबीए) गरिन् ।
उनका श्रीमान पूर्वबैंकर हुन् । उनी अहिले साथीहरूसँग मिलेर ट्रेनिङ इन्स्टिच्युट खोलेर आफ्नै व्यवसायमा छन् । उनका २१ वर्षका छोरा छन् ।
एउटा शिक्षक भएर पढाउँदा र व्यवस्थापकिय जिम्मेवारीमा रहेर काम गर्दा फरक अनुभव हुन्छ ।
‘शिक्षक हुँदा कक्षामा आज के पढाउने भनेर तयारी गर्दा पुग्छ । तर, म्यानेजमेन्टमा बसिसकेपछि त्यतिले पुग्दैन,’ उनी भन्छिन्, ‘पढाउनु पनि पर्छ म्यानेज पनि गर्नुपछर्, शिक्षक र प्रिन्सिपलको रूपमा रहँदा धेरै फरक हुँदो रहेछ ।’
सम्झनाको काँधमा अहिले प्रशासन, अप्रेशन विभाग र पढाउने तीन वटा जिम्मेवारी छन् । उनी बिहान साढे ८ बजे कलेज पुगिसक्छन् । साँझ ५ बजे घर फर्किन्छिन् । ‘बिहान आउँछु, अफिसको काम गर्छु, पढाउँछु, कहिले मान्छेहरूसँग भेटघाट गर्नुपर्छ, जिन्दगी मिहिनेतका साथ चलिरहेको छ,’ मुस्कुराउँदै सम्झनाले भनिन् ।
आफूलाई प्रमाणि गर्नु पर्ने चुनौती
नेपाली समाज अहिले पनि पितृसतात्मक छ । महिलाको काम र जिम्मेवारीलाई अहिले पनि शंकाको दृष्टिकोणले हेरिन्छ । यसले गर्न सक्छ र भन्ने भाव अझै पनि धेरैमा छ ।
कुनै पनि महिला नेतृत्वदायी भूमिकामा पुग्दा उसले बारम्बार आफुलाई सक्छु भन्दै प्रमाणित गर्नुपर्ने बाध्यता रहेको सम्झना बताउँछिन् । पुरुषलाई सहजै स्वीकार्ने समाजले महिलालाई विश्वास नै गर्दैन,’ ‘उनी भन्छिन्, ‘हामीले जति राम्रो काम गर्दा पनि बेला बखत म सक्षम छुभनेर प्रमाणित गराउनु पर्छ ।’
‘नेतृत्वदायी भूमिकामा पुरुषमात्र हुनुपर्छ भन्ने मान्यता अहिले पनि छ,’ उनी थप्छिन,‘ महिलाले त्यो पदमा पुग्न बेला-बेला आफू सक्षम रहेको प्रमाण देखाउनुपर्छ, म यसमा योग्य छु भनेर प्रमाणित गर्नैपर्छ । ’
कतिपय ठाउँमा प्रत्यक्ष नभने पनि पुरुषको हाउभाउले महिलालाई स्वीकार गर्न नसकेको अनुभव सम्झनासँग छ । यस्तो मानसिकताको विरुद्ध बलियो भएर काममार्फत् देखाउनु पर्ने उनी बताउँछिन् । महिला आर्थिकरूपमा पनि सक्षम हुन थालेपछि विभेदका घटना पनि कमी हुँदै गएको उनको भनाइ छ ।
‘चुनौती लिन्छु भनेर जिम्मेवारीमा बसेपछि चुनौतीको सामना गर्नैपर्छ,’ उनी भन्छिन्, ‘कुनैपनि काममा सबैजना पूर्ण हुँदैनन् । तर, आफू कमजोर पनि हुनु हुँदैन, मिहिनेत गर्नैपर्छ ।’
सम्झनालाई अहिले पनि धेरैले प्रश्न गर्छन्, ‘महिला भएर पनि यहाँ पुगेको ?’ ‘मलाई कलेजमा आउँदा धेरै अभिभावक वा अरुले पनि अचम्म लागे जस्तो गर्नुहुन्छ,’ उनी थप्छिन्, कलेजको प्रिन्सिपल भन्दा धेरै पुरुष हुन्छ भन्ने भान हुँदो रहेछ, तर जब मलाई देख्नुहुन्छ ओ हो भने जस्तै व्यवहार गर्नुहुन्छ ।’
विदेशको लहरले विद्यार्थी घट्दै
आईएसटी कलेज सार्ल्जबर्ग युनिभर्सिटी अफ एप्लाइड साइन्स, अस्ट्रियाको सम्बन्धन प्राप्त हो । यस कलेजमा स्नातकमा होटेल र टुरिज्म म्यानेजमेन्टको पढाइ हुन्छ । यो तीन वर्षे कोर्स हो । यो तहमा ३४ जना शिक्षक अध्यापन गराउँछन् भने करिब चार सय विद्यार्थी अध्ययनरत छन् ।
अहिले आईएसटी कलेजमा पनि सिट संख्याअनुसार विद्यार्थीको संख्या छैन । भर्ना भएका विद्यार्थीहरू पनि बिचमा पढाइ छोडेर विदेश जाने संख्या बढ्दो छ । पहिले तीन वर्षे स्नातकमा १० जनाको हाराहारीमा ड्रप्टआउट हुन्थे भने अहिले २० पुगेको छ ।
कलेजमा पढेका दई हजार बढी विद्यार्थी ग्राजुएट बनेका छन । उनीहरूमध्ये कोही पनि खालि बस्नु परेको छैन । ग्राजुएट हुनुभन्दा अगाडि इन्र्टनसिपको दौरानमा नै धेरै विद्यार्थीले काम पाइसक्छन् । ग्राजुएट भएको भोलिपल्ट नै कामको लागि अफर आउँछ ।
उनका अनुसार स्नातकमा विद्यार्थी पाउन गाह्रो छ । यो एउटा कलेजको समस्या मात्र हैन, देशकै समस्या हो । यसले चुनौती थपेको उनी बताउँछिन् । बुझेर नबुझेर वा देखासिखी गरेर विदेश जाने क्रम बढेको छ । यो कलेज र शिक्षाको मात्र समस्या हैन देशकै समस्या हो ।
‘पहिले कक्षा ८/९ मा कक्षमा पढ्ने विद्यार्थीलाई सोध्दा म साइन्स पढ्छु, ह्युम्यानिटिज पढ्छु भन्थे,’ उनी भन्छिन्, ‘तर, आजभोलि सोध्दा म जापान, अस्ट्रेलिया जान्छु भन्नेहरू धेरै छन् ।’
उनका अनसार छोराछोरीलाई विदेश पठाउने विषय अहिले सामाजिक दबाबसँग जोडिएको छ । ऋण काढेर पनि छोराछोरीलाई विदेश पठाउने अभ्यास पछिल्लो समय बढ्दै गएको छ ।
‘२० लाखमा जग्गा बेचेर छोराछोरीलाई विदेश पठाउने र पछि त्यही जग्गा ५० लाख हालेर किनेको मैले देखेकी छु, यही अवस्था रहीरहने हो भने भोलि गाह्रो हुन्छ,’ उनी भन्छिन्, ‘विदेश जाँदा १८/१९ वर्षको बच्चाको दिमागमा पढाइ भन्दा बढी ऋणको भारी हुन्छ ।’
व्यवहारिक शिक्षा भएन
उनी नेपाली शैक्षिक प्रणाली व्यवहारिक नभएको धारणा राख्छिन् । समुदाय जति शिक्षित भयो त्यति धेरै देशको विकास हुने धारणा उनको छ । तर, नेपालमा शिक्षा प्राथमिकतामा नपरेको उनको भनाइ छ ।
‘अहिले विदेश गयो भने त्यो मान्छे सफल हुन्छ भन्ने सामाजिक धारणा भयो । तर, विदेश जानेवित्तिकै सफल भइँदैन,’ उनी भन्छन्, ‘देशको शैक्षिक करिकुलममा पनि दोष छ ।’
विद्यार्थीले आत्मनिर्भरमा जोड दिनु पर्ने धारणा उनको छ । ‘छोरीलाई पढाउनुपर्छ भन्ने थाहा भए पनि करिअर बनाउनुपर्छ भन्ने तर्फ जोड दिँदैनन्, आत्मनिर्भर हुन सकियो भने अरुको अगाडि हात थाप्नु पर्दैन,’ उनले भनिन् ।
पछिल्लो समय देशको आर्थिक अवस्था नकरात्मक हुँदा कलेजहरूको बिजनेसमा पनि असर परेको छ । विद्यार्थीलाई व्यवहारिक शिक्षामा पनि जोड दिनु पर्ने भएकोले कलेजको बढी खर्च हुने उनको भनाइ छ । उनका अनुसार अब कलेजले अन्य संकाय पनि थप्ने तयारी गरेको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.