वायुको गुणस्तर सुधार गर्न ‘हावाको कुरा गरौँ’ अभियान सुरु

  २०८० फागुन १४ गते १२:०२     विकासन्युज

काठमाडौं । सहरी क्षेत्रमा बढ्दै गएको वायुको गुणस्तर सुधारका लागि समुदायको सहभागिता र सचेतना बढाउन आज हाँडीगाउँबाट ‘हावाको कुरा गरौँ’ अभियान सुरु भएको छ । काठमाडौं महानगरपालिकाले युएसएड, स्वच्छ हावा परियोजनासँगको सहकार्यमा अभियान थालनी गरेको हो ।

यस अभियानमा सवारी साधनको प्रयोगलाई कम गराउने, सवारी प्रयोग नगर्दा हुने ठाउँमा नचलाउने, यसको सट्टा हिँड्ने संस्कृति बढाउँदै लैजाने लगायत क्रियाकलाप हुनेछन् । यो सांस्कृतिक विकासका लागि आवश्यक पर्ने सहरी पूर्वाधार निर्माण गर्ने, सामाजिक र सांस्कृतिक क्रियाकलापलाई पर्यटन व्यवस्थापनसँग जोडेर स्थानीयबासीको आयमा टेवा पुर्याउने, परम्परागत उद्यम तथा उद्यमशीलताको विकासलाई प्रवद्र्धन गरिनेछ ।

यस प्रकारका क्रियाकलापबाट काठमाडौंका सम्पदाहरुको संरक्षण र प्रवर्धन तथा वातावरणीय सुधारमा टेवा पुग्नेछ । मौलिकपन र जीवन्तता पुनःस्थापना हुनेछ । यस अघि हाँडीगाउँमा यस प्रकारका क्रियाकलाप सञ्चालन गरिएका छन् ।

सवारी प्रवेश निषेध गरिएका ठाउँमा हाँडीगाउँको मौलिक जीवन पद्धतिसँग सम्बन्धित कला तथा सिप (सुकुल बुन्ने, काष्ठकला, माटोका भाँडा बनाउने), रञ्जना लिपी लेखन सिप, मौलिक खाना, परम्परागत वाद्यबादन, गायन तथा नृत्य र मौलिक सामाजिक खेलसहितको सडक महोत्सव गर्ने गरिएको छ ।

कला, साहित्य, सिर्जना र सहरी वातावरण सुधारका लागि काम गर्ने विभिन्न संघ संस्थाहरुले सूचना तथा जानकारीमूलक प्रदर्शनी गर्ने गरिएको छ । यी क्रियाकलापबाट सामाजिक सद्भाव वृद्धि, मौलिकताको जगेर्ना र वायुको गुणस्तर सुधारमा सहयोग पुगेको छ । यस कार्यक्रममा स्थानीयहरुको अपनत्व वृद्धि भएको छ ।

काठमाडौंको मौलिकता पुनःस्थापनामा हाँडीगाउँबाट थालिएको अभियान महानगरका अन्य स्थान तथा क्षेत्रसँगै उपत्यकाभित्र विस्तार हुनेछ । यो प्राचीन सहरको मौलिकपन फिर्ता गराउने प्रयासको प्रारम्भ हो । यसका सवल पक्ष अन्य स्थानका लागि सिकाइ बन्न सक्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.