२०८० माघ २९ गते १७:५८ विकासन्युज
काठमाडौं । सरकारले विकास साझेदारहरुमार्फत विभिन्न कार्यक्रमहरु सञ्चालन गर्न लिएको रकम पनि खर्च गर्न सकेको छैन । सरकारले चालु आर्थिक वर्ष (आव)को बजेटको अर्धवार्षिक मूल्यांकनले सरकारले साझेदारसँग लिएको रकम खर्चमा सबैभन्दा कमजोर देखिएको हो ।
चालु आवको छ महिनामा सरकारले विभिन्न आयोजना तथा कार्यक्रम सञ्चालन गर्ने गरी विभिन्न ३१ वटा दातृ निकायहरुसँग साझेदारी गरेको छ । तर, सरकारले साझेदारहरुसँग रकम लिएर कतिपय कार्यक्रममा १ प्रतिशत पनि रकम खर्च गर्न नसकेको अर्थ मन्त्रालयकै अर्धवार्षिक मूल्यांकनले देखाएको छ ।
सरकारले युनिसेफसँगको साझेदारीमा खर्च गर्नेगरी चालु आवको बजेटमा १७ करोड ६१ लाख रकम बिनियोजन गरेको थियो, तर चालु आवको ६ महिनासम्ममा सरकारले मात्रै १ लाख अर्थात ०.०५ प्रतिशत मात्रै रकम खर्च गरेको छ । त्यस्तै, सरकारले चालु आवमा दातृ निकाय जेफम्याटसँगको साझेदारीमा ५६ करोड २४ लाख बराबरको कार्यक्रम सञ्चालन गर्ने योजना बजेटमा प्रस्तुत गरेकोमा ६ महिनाको अवधिमा १५ लाख अर्थात ०.२६ प्रतिशत मात्रै रकम खर्च गरेको छ ।
सरकारले एसइएसपीसँग साझेदारीमा लिएको रकम भने सबैभन्दा धेरै रकम खर्च गर्न सफल भएको छ । एसइएसपीसँगको साझेदारीमा चालु आवमा सरकारले १३ अर्ब ८७ करोड ८ लाख खर्च गर्ने कार्यक्रम तय गरेकोमा चालु आवको ६ महिनासम्म ५ अर्ब ९४ करो ४३ लाख अर्थात् ४२.८४ प्रतिशत रकम खर्च गर्न सफल भएको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.