देशभर २० प्रतिशत जनसंख्या गरिबीको रेखामुनि, धेरै ग्रामीण भेगमा

  २०८० माघ २९ गते १७:४३     विकासन्युज

काठमाडौं । नेपालमा २० प्रतिशतभन्दा बढी जनसंख्या अझै पनि गरिबीको रेखामुनि रहेको पाइएको छ ।

राष्ट्रिय तथ्यांक कार्यालयले सोमबार काठमाडौंमा सार्वजनिक गरेको नेपाल जीवनस्तर सर्वेक्षण चौथो (२०७९/०८०) नेपालमा अझै पनि २०. २७ प्रतिशत मानिसहरु गरिबीको रेखामुनि रहेको उल्लेख गरिएको हो । करिव १२ वर्षपछि प्रतिघर परिवारले उपभोग्य वस्तुमा गर्ने खर्चको आधारमा सो तथ्यांक सार्वजनिक गरिएको राष्ट्रिय तथ्यांक कार्यालयका प्रवक्ता डा. हेमराज रेग्मीले बताए ।

उनकाअनुसार मानिसहरुको गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य, साधनमाथिको पहुँच, मनोरञ्जनबाट वञ्चित हुनेहरु अझै पनि २० प्रतिशतभन्दा बढी पाइएको छ । प्रदेशगत रुपमा भने सबै भन्दा कम गरिबी गण्डकी प्रदेश रहेको छ भने सबैभन्दा बढी गरिबी सुदूरपश्चिम प्रदेशमा रहेको पनि कार्यालयका प्रवक्ता रेग्मीले बताए । सुदूरपश्चिम प्रदेशमा अहिले पनि करिव ३४ प्रतिशत मानिसहरु गरिवीको रेखामुनि रहेका छन् ।

कार्यालयका प्रवक्ता रेग्मीले भने, ‘आज पनि नेपालमा करिव २० प्रतिशत भन्दा बढी मानिसहरु न्युनतम मापदण्डअनुसार खान नपाउने, लगाउन नपाउने, मनोरञ्जनका क्रियाकलाप गर्न नपाउने अथवा शिक्षा, स्वास्थ्य र साधनमाथिको पहुँच नपुगेको मान्छेहरुको प्रतिशत अहिले पनि करिव २० प्रतिशत छ भनेर यो पछिल्लो सर्वेक्षणले देखाएको छ । कर्णालीमा सुधार भएको देखिएको छ पछिल्लो प्रतिवेदनअनुसार । सुदूरपश्चिममा अहिले पनि करिव ३४ प्रतिशत गरिबी छ ।’

सर्वेक्षणमा कणाली प्रदेशमा भने गरिबीको संख्यामा सुधार हुँदै गएको देखाइएको पनि राष्ट्रिय तथ्यांक कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.