मैले स्वदेशमै काम गर्न सक्ने, युवाले किन गर्न नसक्ने ?

  २०८० माघ २८ गते १७:१५      सुरेन्द्रकुमार उदास

स्थानीय तहले गर्नुपर्ने विकासका काम धेरै छन् । जनताको मागलाई सम्बोधन गर्ने किसिमको योजना बनाई अगाडि बढ्नु स्थानीय तहको जिम्मेवारी पनि हो । भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि, भेटनरीदेखि जनतासँग जोडिएका पक्षलाई समेटेर अगाडि बढ्नु पर्ने हुन्छ । हामीले पनि विषयलाई मध्यनजर गर्दै अघि बढिरहेका छौं । षडानन्द नगरपालिकाले भौतिक पूर्वाधार र कृषिको क्षेत्रमा नयाँ तरिकाले काम गरिरहेको अवस्था छ । सडक र पुल निर्माणमा भने आशा लाग्दो अवस्थाको सिर्जना भएको छ । तुम्लिङ्टार लम्छुवा दिङ्ला जोड्ने पक्की पुलको काम रद्द भएता पनि कात्तिकेमा पुल निर्माणको काम धमाधम भइरहेको छ । उक्त पुलको काममा ठेकेदार कम्पनीलाई नगरको तर्फबाट गर्नुपर्ने सहजीकरण पनि भइरहेको छ । सो पुलको काम यही वर्षभित्र सम्पन्न गर्ने योजना छ ।

वडा नम्बर २ बाट साल्पासिलिछो गाउँपालिका जोड्ने पक्की पुल निर्माणको कार्यले तीव्रता पाएको छ । दिङ्लादेखि भोजपुर सदरमुकाम जोड्ने सडकको कालोपत्रे गर्न लागि टेन्डर भइसकेको छ । नगरपालिकाको कार्यालयदेखि वडासम्म जोड्ने सडकलाई बाह्रै महिना सञ्चालन गर्ने उद्देश्य राखेका छौं । सो विषयमा हाम्रो फोकस छ । नगरको प्रशासकीय भवन निर्माणको कार्यले तीव्रता पाएको छ । नगरको सभा हल यो वर्षभित्रै निर्माण सम्पन्न भइसक्छ । यो वर्ष १५ बेडको अस्पताल पनि सञ्चालन गर्ने लक्ष्य छ । जसको लागि स्वास्थ्य मन्त्रालय, स्वास्थ्य विभाग लगायतका निकायलाई प्रपोजल पनि पठाएका छौं ।

हामीले व्यवसायिक कृषि प्रणालीको विकास गर्नमा जोड दिएका छौं । अब निर्वाहमुखी खेती गरेर जनताको जीवनस्तर उकासिँदैन भन्ने विषयलाई मनन गर्दै पालिकाको हावापानी सुहाउँदो कृषि उत्पादनलाई जोड दिएका छौं । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत सुन्तलाको जोन बनाई आवश्यक कार्यक्रमहरू सञ्चालन गरेका छौं । षडानन्दको हावापानी अनुसार यहाँ गुणस्तरी कफी उत्पादन हुन्छ । यस विषयमा विज्ञहरूसँग आवश्यक छलफल गरेका छौं । यो वर्ष करिब एक लाख कफीका बिरुवा रोप्ने छौं । अर्को वर्षदेखि व्यावसायिक कफी खेतीलाई लगाउने योजना बनाएका छौं । उत्पादन भएको कफीको बजार व्यवस्थापन नगरपालिकाले गरेको छ ।

कम बजेट नै पालिकाको समस्या

जनताको आवश्यकता र मागको हिसाबले हेर्न भने हामीले गरेको काम पर्याप्त होइन । तर, पर्याप्त विकास गर्नको लागि स्रोत व्यवस्थापन गर्नु चाहिँ ठूलो विषय छ । शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, पुल निर्माण लगायत क्षेत्रमा लगानी नगरले गर्नुपर्छ । जसका लागि हामीसँग पर्याप्त बजेट छैन । हामी नगरको आन्तरिक आम्दानी बृद्धि गर्नतर्फ लागि रहेका छौं । तर, संघ र प्रदेश सरकारबाट प्राप्त हुने बजेट निरन्तर घटिरहेको विषय यहाँहरू सबैलाई थाहै छ । यो वर्ष करिब ३ करोड रुपैयाँ बजेट सिलिङ कटेर आयो । आगामी आर्थिक वर्षमा पनि बजेटको सिलिङ घटेर आउने अनुमान गरेको छु । दुई वर्षभित्रै सबै विषयको सम्बोधन गर्न सकिँदैन । तथापि पालिकाले धेरै काम जनताको पक्षमा गरेको छ ।

भौगोलिक विकटकताका साथै ठूलो भूगोल भएको यस नगरपालिका काठमाडौं महानगरपालिकाभन्दा पाँच गुणा ठूलो छ । बजेटको हिसाबले पनि महानगर भन्दा हाम्रो नगरको बजेट ३० गुणाले काम छ । तथापि नगरको आन्तरिक स्रोत कम हुँदा पनि सबै विषयलाई व्यवस्थापन गरी सुधार गर्ने दिशामा लागेका छौं । हामीले समृद्ध नगरपालिका बनाउने आधार तयार पारेका छौं । हामीले प्रशासकीय खर्चलाई सेवासँग जोड्नु पर्ने हुन्छ । नगरले फजुल खर्चलाई धेरै हदसम्म कटौती गरिएको छ भने अनावश्यक कर्मचारी नियुक्त गरेका छैन । पहिला नगरमा करार कर्मचारी मात्र राख्ने चलन रहेछ । तर, हामी निर्वाचित भएर आइसकेपछि लोकसेवासँग पद पूर्तिको लागि माग राखी स्थायी कर्मचारीको व्यवस्थापन गर्यौं । स्वास्थ्यमा पनि ५० प्रतिशतभन्दा बढी स्थायी कर्मचारीको व्यवस्थापन गरी सकेका छौं ।

हामीले षडानन्द नगरपालिकाभित्रका स्वास्थ्य चौकीमा औषधिको अभाव हुन दिएका छैनौं । मैले प्रत्येक पटक स्टाफ मिटिङमा अस्पतालमा औषधि सकिन लागेको केही महिना अघि नै नगरलाई जानकारी दिनु भनेर स्वास्थ्य चौकी प्रमुखलाई भनेको छु । यदि अस्पतालमा औषधीको अभाव भए त्यसको जिम्मेवारी स्वास्थ्य शाखा र स्वास्थ्य चौकी प्रमुखले लिनुपर्ने हुन्छ, हामी हुँदैनौं । तर, हामी नेपाल सरकारबाट प्राप्त भएका निःशुल्क औषधी दिन सक्छौं । त्यसमा नगरले केही औषधीलाई थपेको छ । नगरभित्रका अस्पतालमा पर्याप्त जनशक्ति नभएता पनि काम गर्न सक्ने जनशक्ति व्यवस्थापन गरेका छौं ।

यसैगरी शिक्षा क्षेत्रमा सुधारका नगरले थुप्रै कदम चालेको छ । शिक्षा क्षेत्रमा देखिएका समस्यालाई पहिचान गर्दै सुधार गर्दै अगाडि बढ्ने पक्षमा छौं । भएका कमी कमजोरीलाई सुधार गर्ने मौका हामीले शिक्षकहरूलाई दिइरहेका छौं । निर्वाचित भएपछि शिक्षा कति सुधार भएछ भन्ने विषयको मापन आगामी ५ वर्षपछि मात्र गर्न सकिन्छ । शिक्षकहरु पनि रूपान्तरण हुन आवश्यक छ । किनभने परम्परागत पठन/पाठनको शैली अबको दिनमा काम लाग्दैन । नगरले शिक्षकको सुधारको निमित्त शैक्षिक गुणस्तरकार अभिवृद्धिको कार्यक्रम पनि सञ्चालनमा ल्याएका छौं । परम्परागत सोच, परम्परागत शैली, विद्यार्थी र शिक्षकबाट हटाउन सकिएन । यो विषयले चाहिँ समस्या बनायो । नगरपालिकाको एउटा नेतृत्वले घरमा कस्तो पढाइभएको छ, त्यो हेर्न सक्दैन । त्यो हेर्न अभिभावकको जिम्मा हो । विद्यालयलाई हेर्ने जिम्मा हाम्रो हो ।

३ वर्षमा २० लाख कफी रोप्ने लक्ष्य

कृषिमा हामी केही न केही परिणाम देखाउँछौं भनेर लागेका छौं । कृषिमा नमुना केन्द्र स्थापनाको लागि लगभग १०० रोपनी जग्गा लिने योजना बनाएका छौं । उक्त जग्गामा फलफूल, तरकारी, अन्य बालीहरूको सिकाइ केन्द्र बनाउने छौं । नेपाल सरकारले सञ्चालनमा ल्याएका अनुसन्धान केन्द्र पनि घाम तापेर बसिरहेका छन् । तर, हामीले सञ्चालनमा ल्याउने उक्त केन्द्रको सम्भवतः यस्तो अवस्था हुँदैन । प्राविधिक सल्लाह लिएर प्रविधिकहरुको नै निगरानीमा उक्त केन्द्रको स्थापना गर्ने छौं । मान्छेलाई केही गर्नुपर्छ भन्ने सिकाइ र उदाहरण नदिई केही हुँदैन । त्यो उदाहरण नगरपालिका केन्द्र मार्फत झल्काउन मात्र खोजेको हो ।

नगरभित्र आगामी तीन वर्षभित्रमा २० लाख कफीका बिरुवा रोप्ने योजना बनाएको छु । यस वर्षभित्रै कम्तीमा १५ हजार बिरुवा रोप्न सकिन्छ भनेर आँकलन गरेका छौं । कसैले १/२ वटा कफीका बिरुवा रोप्छ भने उसलाई १०० प्रतिशत रकम लिने । तर, कुनै व्यक्तिले व्यवसायिक रूपमा ५०० बिरुवा रोप्छ भने उसलाई निःशुल्क २५० वटा बिरुवा उपलब्ध गराउँछौं । व्यावसायिक कृषि खेती अबको आवश्यकता हो । त्यसैले निर्वाहमुखी भन्दा व्यावसायिक कृषि खेती प्रोत्साहनमा नगर लागेको छ । नगरपालिका बाट आजका दिनमा ट्रकका ट्रक सुन्तला, चिराइतो, अलैँची निर्यात भइरहेको छ । त्यसको लागि हामीले बजार खोज्नु परेको छैन । उत्पादन भएपछि बजार आफै आउँछ ।

मैले सक्ने युवाले किन नसक्ने ?

म आफै पनि कृषक हुँ । मेरो आफ्नै सुन्तला बगैँचा छ । जुन नमुना बगैँचाको रूपमा स्थापित भइरहेको छ । १५० वटा आँपका फल्ने क्रममा छ । मैले उक्त बगैँचाबाट वार्षिक ६ लाख रुपैयाँ आम्दानी गर्छु । मेरो आफ्नो लक्ष्य भनेको कृषिबाट वार्षिक १०/१२ लाख रुपैयाँ कमाउने हो । हाल ५ रोपनी क्षेत्रका विभिन्न बिरुवाहरू लगाइएको छ । म आफैले थप १५ रोपनी जग्गामा बिरुवा लगाउने योजना बनाएको छु । भनेपछि मैले गर्न सक्ने युवाले गर्न किन नसक्ने ? पढेका मान्छे सबै जागिरे हुन्छन् भन्ने छैन । तर, काम सानो ठूलो नभनी गर्नुपर्यो । यहाँ कृषि र पर्यटनको अथाह सम्भावना छ ।

पालिकास्तरबाट ठूलो उद्योग खोलेर सञ्चालनमा ल्याई रोजगारी दिन सकिँदैन । स्थानीय तहबाट यहाँ भएको कच्चा पदार्थमा आधारित घरेलु तथा साना उद्योग सञ्चालनमा ल्याउने हो । कृषि उद्योगहरू सञ्चालनमा ल्याउन सकिन्छ । तर, त्यसका लागि बेस चाहिन्छ । कफी उद्योग सञ्चालन गर्नुपर्यो भने पहिला कफी उत्पादन हुनुपर्यो । नगरपालिकाभित्र हजार दुई हजार टन कफी उत्पादन गर्न सक्यौं भने भोलिका दिनमा युवाहरुले यहीँ उद्योग खोल्छन् । स्थानीय युवाले सकेनन् भने बाहिरबाट उद्योग खोल्ने अन्य मान्छेहरू आउँछन् । हामी त्यो खालको अनुकूल वातावरणको सिर्जना गर्छौं । हामीले दुईवटा कफी उत्पादनको तालिम सञ्चालन समापन गरिसकेका छौं ।

अहिले युवाहरू १०/२० लाख खर्च गरेर विदेश जान तयार हुन्छन् । पहिलो वर्ष त्यसको ब्याज तिर्दै ठिक्क हुन्छ । २/३ वर्षमा उहाँहरूले ल्याउँने देश अनुसारको फाल हो । तर, उहाँहरूलाई म भन्छु त्यो खर्च नगर्नुहोस् ५० हजार रुपैयाँ खर्च गरेर १० रोपनी जग्गामा कफी लगाउनुहोस् । ३ वर्षमा फल्न थाल्छ । त्यो १०० वर्ष फल्छ । १० रोपनी क्षेत्रफलमा कफी लगाउँदा आन्दले वार्षिक ५ लाख रुपैयाँ आउँछ । बजारको ग्यारेन्टी नगरपालिकाले गएको छ । कफी विकास बोर्डले निर्धारण गरेको दर रेटमा नगरपालिकाले उत्पादन भएको कफी खरिद गर्छ ।

नगरपालिकाले बिरुवा अनुदान साथै प्रशोधनका सामग्री छुटमा उपलब्ध गराउँछ । तर, त्यसमा जाँगर युवाको हुनुपर्यो । युवा विदेश जान जरुरी छैन । हाम्रो माटोमा पैसा नै पैसा छ । टिप्ने कि नटिप्ने त्यो आफैमा भर पर्छ । म युवाहरूलाई चोकमा क्यारेमबोर्ड, लुडो खोलेर दिन बिताएको देख्छु । उहाँहरूलाई केही काम गर्न थाल्नु होस् भन्ने भन्दा उहाँहरूबाट पासवर्ड पेसेको छ, ३ महिनाभित्र भिसा आउँछ भन्ने उत्तर अधिकांश युवाको पाइन्छ । त्यसैले पनि अब युवामा देशमा नै केही गर्न सकिन्छ भन्ने मानसिकताको विकास गर्न आवश्यक छ ।

आजका दिनमा लस्कर लागेर जनताको छोरा छोरी विदेश गइरहेका छन् । त्यो रोक्नको लागि स्वतन्त्रका साथीहरूले के गरिरहेका छन् भन्ने बारे अनुसन्धान गरिरहेको छु । त्यो मैले पनि सिक्नको लागि हो । तर, भेटेको चाहिँ छैन । बरु हामीले यस विषयमा ध्यान पुर्याइ रहेका छौं । हामीले गाउँमै युवाहरूलाई रोक्ने वातावरणको सिर्जना गरिरहेका छौं । राजनैतिक दलको बारेमा जुन किसिमको आक्रोश छ । राजनैतिक दल सुधारको अपेक्षा आम नागरिकले लिएका छन् । त्यो सुधार्ने भनेकै दलभित्रका प्रतिनिधिहरूले हो । पार्टीभित्र भएको विकृति विसङ्गतिलाई न्यूनीकरण गर्नुपर्छ । जसले गर्दा त्यसमा सुशासन, कानुन हुन्छ, भ्रष्टचार मुक्त समाजको निर्माण गर्न सकिन्छ । अनि मात्र सहज रूपमा जनताको काम अगाडि बढ्न सक्छ ।

स्वतन्त्रले सँस्कार र सँस्कृति बिगार्ने हो कि भन्ने मलाई लागेको छ । मेयरले कर्मचारी कुट्ने, मनमुटाब गर्ने, हप्काउने तरीकाबाट जाने हो अब ? नीति बनाएर सहि नीतिको कार्यान्वयन गरी सिस्टमा हिँडाउने कि तुरुन्तका तुरुन्तै एक्सन लिएर मान्छेलाई ठिक लगाउने हो ? स्वतन्त्रले राज्य गरेको देश कुन छ ? उहाँहरूले गरेको कामलाई प्रशंसा गर्छु । त्योबाट हामीले शिक्षा लिनु पनि पर्छ । तर, राम्रो काम जनताको जीविको पार्जको लागि हुनुपर्यो ।

अन्याय, अत्याचार, शोषण मुक्त समाज निर्माणको लागि हुनु पर्यो । त्यसको लागि सहि सिस्टम सहि नीति हुनुपर्छ । म नै राज्य हो भन्ने सिद्धान्त ठिक हो जस्तो मलाई लाग्दैन । आधारभूत वर्गको उत्थानको लागि गरिने काम के हो र कसरी भइरहेको छ भन्ने विषय चाहिँ महत्वपूर्ण हो । बालेनले ठेलावालादेखि लिएर सडक पेटीमा भएका मान्छेलाई उठाउनु भयो । त्यो राम्रो गर्नु भयो । तर, त्यहाँबाट विस्थापित भएका मान्छेको रोजगारीको लागि उहाँले के गर्नु भएको छ ? त्यो विषय चाहिँ प्रमुख हो ।

न्युरोडको पार्किङ हटाउनु भएको छ । त्यहाँ मान्छे जानै बन्द गर्ने त हैन । जति मान्छे हिजोका दिनमा पार्किङ गर्न जान्थे । पार्किङ हटाएपछि त्यो भन्दा बढी मान्छे त्यहाँ पुग्ने वातावरण बनाउँनु पर्यो । त्यसको लागि एउटा व्यवस्थित पार्किङ व्यवस्थापन उहाँले गर्नु भएको छ ? जनताको क्रेज केमा छ भन्ने मापन कसरी गर्ने ? तपाईंहरुले अहिले सामाजिक सञ्जालको आधारमा मापन गरिराख्नु भएको होला ।

काठमाडौंको अब गरिबी कति घट्छ । काठमाडौंका जनता विदेश जानबाट कति रोकिन्छन् र यहाँ कतिले रोजगारी पाउँछन् । काठमाडौंमा नयाँ रोजगारीको अवसर कसरी हुन्छ, धरानमा कसरी हुन्छ ? पार्टीलाई गाली गरेर वहावहा कमाएर हुँदैन । पार्टीलाई पनि हामीले नै हो सुधार गर्ने हो । नेपालको पार्टीलाई नेपाली जनताले नै हो सुधार गर्ने हो । हैनभने हाम्रो शासन नै बहुदलीय प्रणाली हुनु भएन । एक तन्त्री हुनुपर्यो । प्रधानमन्त्री, राष्ट्रपति पनि स्वतन्त्र चाहियो । राजा जस्तो हुनुपर्यो । त्यो खालको सिस्टम छ ? देश बनाउने राजनैतिक पार्टीले नै हो । सम्भवतः स्वतन्त्र भनिएता पनि उहाँहरूले पनि कुनै दिन पार्टी खोल्नु हुन्छ ।

हामीले नगरभित्र गर्नुपर्ने काम धेरै छन् । आगामी तीन वर्षमा उल्लेखनीय काम गर्न सक्ने आँकलन गरेका छौं । अरुण नदिमा निर्माणाधीन पुल सम्पन्न गर्नतर्फ लागेका छौं । सतिघाटामा पुल निर्माणको लागि ठेक्का लागको छ । दिङ्ला सतिघाट सडकको कालोपत्रे गर्ने काम सम्पन्न गर्नेछौं । दिङ्ला भोजपुर सडकको काम तीव्र गतिमा अगाडि बढ्छ । दिङ्लाबाट हरेक केन्द्र जोड्ने बाटो बाह्रै महिना चल्न सक्ने बनाउने छौं । १५ बेडको अस्पताल सञ्चालन हुनेछ । जनताले आधारभूत तहका सेवा सुविधाहरू सहज रूपमा पाउँने वातावरण बन्छ । कृषिमा राम्रै आयामको सिर्जना गर्छौं । मलाई लाग्छ धेरै युवाहरूलाई स्वदेश फर्काउने वातावरण बनाउन सक्ने छु । नभएता पनि फर्केका युवाहरूलाई यहाँ अवसरको सिर्जना गर्ने छु ।

शिक्षाका भौतिक पूर्वाधारका योजनाहरूको समस्या समाधान हुन्छन् भने हाम्रो मुख्य जोड शैक्षिक गुणस्तरमा हुनेछ । मैले प्रत्येक घरमा खानेपानी पुर्याउने उद्घोषण गरेको छु त्यो पुरा गर्ने छु । प्रत्येक घरमा बिजुली पुर्याउने छौं । नागरिकले अब प्रशासकीय झन्झट बेहोर्नु पर्दैन । नगरपालिकाबाट जो टाढा रहेका १, २, ३, ९, १०, ११, १२, १३, १४ वडामै वृद्ध भत्ता लगेर बाढ्ने योजना बनाएका छौं । दिङ्ला बजारलाई आधुनिक बजार बनाउने योजना बनाएको छु । जसको लागि प्रारम्भिक छलफल सुरु भइसकेको छ ।

(षडानन्द नगरपालिकाका मेयर सुरेन्द्रकुमार उदाससँग गरिएको कुराकानीमा आधारित)

One comment on "मैले स्वदेशमै काम गर्न सक्ने, युवाले किन गर्न नसक्ने ?"

  • Nil Bdr Chauhan says:

    excellent vision; micro, small and medium enterprises should be launched under the supervision ofmunicipality for developing new youth entrepreneur based on agriculture and other sector to promote youth generation.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.