२०८० मंसिर २२ गते १२:३७ विकासन्युज
काठमाडौं । बैंकका प्रमुख कार्यकारी अधिृकतहरूले राष्ट्र बैंकले गरेको केही नयाँ व्यवस्थाले अर्थतन्त्र चलायमान हुन मद्दत पुग्ने बताएका छन् । उनीहरूले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत् भएको व्यवस्थाले बैंकको ब्याज घट्ने र यसले अर्थतन्त्र चलायमान बनाउन मद्दत पुग्ने धारणा राखेका हुन् ।
नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले अब ब्याजदर घट्न मद्दत पुग्ने बताएका छन् । व्यवसायीहरूले माग गर्दै आएको विषय बैंक दर राष्ट्र बैंकले घटाएपछि ब्याजदर थप घट्दै जाने अध्यक्ष केसीले बताए ।
राष्ट्र बैंकले बैंक दरलाई ७.५ प्रतिशतबाट घटाई ७ प्रतिशत, नीतिगत दरलाई ६.५ प्रतिशतबाट घटाई ५.५ प्रतिशत र निक्षेप संकलन बोलकबोल दरलाई ४.५ प्रतिशतबाट घटाई ३ प्रतिशत कायम गरेको हो । पछिल्लो समय निरन्तर घटिरहेको ब्याजदरलाई यस व्यवस्थाले थप घट्न मद्दत पुग्ने उनको भनाइ छ ।
‘निजी क्षेत्रले ब्याजदर घटाउन माग गर्दै आएका थिए, त्यसलाई सम्बोधन गर्दै बैंकदर १ प्रतिशत घटाईएको छ, पछिल्लो समय घट्न खोजिरहेको ब्याजदरलाई थप घट्दा व्यवसायीहरूको लागतलाई घटाउन मद्दत गर्छ,’ उनले भने ।
उनका अनुसार बाह्य तथा आन्तरिक कारणले अर्थतन्त्र चलायमान हनु नसकेपनि कर्जा पुनसरंचनालाई फराकिलो बनाउँदा व्यवसायीहरुलाई नै सजिलो हुनेछ ।
यस्तै, सेयर धितो कर्जा र घरजग्गा धितो कर्जाको जोखिम भार घटाउँदा बैंकहरुलाई सो क्षेत्रमा कर्जा बढाउन सहज हुने उनले बताए । साथै, सेयर धितो कर्जामा लगाइएको १५/२० करोडको क्यापलाई सम्बोधन गरेको उनको भनाइ छ ।
५० लाख रुपैयाँसम्मको आवास कर्जाको हकमा मासिक किस्ता आम्दानी अनुपात बढाई ६० प्रतिशत कायम गर्दा आवासीय कर्जा बढ्ने उनले बताए । उनका अनुसार ऋणपत्रको ५० प्रतिशत मात्रै स्रोतको रुपमा गणना गर्न दिँदा खासै असर नपर्ने उनको भनाइ छ । किनभने अधिकांश बैंकहरूको सीडी रेसियो कम छ । मौद्रिक नीतिको त्रैमासिक समीक्षाले बैंकहरूलाई रिकभरीमा सहज हुने उनले बताए ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.