मौद्रिक नीतिको समीक्षा : बैंकदर घट्ने, लघुवित्तलाई राहत

  २०८० मंसिर १३ गते १६:३४     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको समीक्षा सार्वजनिक गर्ने तयारी गरेको छ । राष्ट्र बैंकले यसै साताभित्र मौद्रिक नीतिको पहिलो त्रैमासको समीक्षा सार्वजनिक गर्ने तयारी गरेको हो ।

राष्ट्र बैंकका सहायक सूचना अधिकारी डा.भागवत आचार्यका अनुसार मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा यही साता सार्वजनिक गर्ने तयारी छ । अहिलेसम्म कुन दिन सार्वजनिक गर्ने भनेर एकिन नभए पनि शुक्रबारसम्म सार्वजनिक गर्ने तयारी भइरहेको उनको भनाइ छ । साथै, राष्ट्र बैंकको सञ्चालक समितिले स्वीकृत गर्न बाँकी रहेकाले स्वीकृत हुने बित्तीकै तत्काल सार्वजनिक गर्ने उनले बताए ।

राष्ट्र बैंकले सार्वजनिक गरेका तथ्याङ्क अनुसार अर्थतन्त्र ठिकठाक भए पनि पूर्णरुपमा सहज नभएकाले पहिलो त्रैमासमा कस्तो मौद्रिक नीति ल्याउँछ भन्ने विषयलाई चासोका साथ हेरिएको छ । व्यापार व्यवसाय सुस्त नै रहेका बेला अर्थतन्त्र माथि उकास्न राष्ट्र बैंकले कस्तो कदम चाल्छ भन्ने विषय पनि बहसका रूपमा लिइएको छ ।

साथै, मुलुकको अर्थतन्त्रको विद्यमान अवस्था र सुधारका लागि तत्काल गर्नु पर्ने कामबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गत मंसिर ५ गते नीजि क्षेत्रसहित विज्ञहरुसँग छलफल गरेका थिए । छलफलमा उठेका विषयहरुलाई त्रैमासिक समीक्षामा समावेश हुने अपेक्षा अधिकांशले गरेका छन् ।

छलफलपछि सरकारले पनि बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर लगानी गरेका तर समयमै ऋणको साँवा ब्याज चुक्ता गर्न नसकेका व्यवसायीलाई कर्जा भुक्तानीमा राष्ट्र बैंकमार्फत सहजीकरण गर्ने निर्णय गरेको थियो । साथै, बैंकदर घटाउन सरकारले राष्ट्र बैंकसँग सहजीकरण गर्ने बताएको थियो । यस आधारमा राष्ट्र बैंकले त्रैमासिक समीक्षामा बैंकदर घटाउन सक्ने सम्भावना छ ।

पछिल्लो समय बैंक तथा वित्तीय संस्थामा प्रयाप्त तरलता हुँदा पनि बैंकहरुले लगानी गर्न सकिरहेका छैनन् । त्यसैले कर्जा प्रवाहलाई जोड दिन ब्याजदर बैंक तथा वित्तीय संस्थाको व्याजदर घट्ने गरी मौद्रिक नीतिको समीक्षा ल्याउन सक्ने राष्ट्र बैंक स्रोत बताउँछन् । राष्ट्र बैंक स्रोतका अनुसार पहिलो त्रैमासिक समीक्षामा धेरै विषयहरु परिवर्तन हुने छैनन् । अधिकांश नीति निर्देशनलाई यसपटक निरन्तरता दिन सक्ने उनको भनाइ छ ।

‘मूल्य स्थिती, वित्तीय क्षेत्र स्थायीत्व, कर्जा प्रवाहको दिशा, उत्पादनमुलक क्षेत्रमा कर्जा जाने गरी मौद्रिक नीतिको समीक्षा आउन सक्छ,’ उनले भने, ‘बाह्य क्षेत्र स्थायित्व गाह्रो नै छ, अर्थतन्त्र जुन तरिकाबाट ट्रयाकमा आउनु पर्ने हो, त्यो अपेक्षा गरेअनुसार पुरा हुन सकेको छैन, त्यसैले नेपालको मूल्य पनि स्वतन्त्र नभएर भारतबाट प्रभावित हुने भएकाले त्यहाँको वस्तुस्थिती हेर्नु पर्ने हुन्छ ।’

बैंकहरूले एक आपससँग सापट लिने कर्जा (अन्तर बैंक)को ब्याजदर पनि पछिल्लो समय घटेर तल्लो बिन्दुमा रहेको हुँदा राष्ट्र बैंकल निक्षेपको ब्याजदर घटाउन सक्ने सम्भावना रहेको स्रोतको भनाइ छ । साथै, लघुवित्त संस्थाबाट लिएको ऋण भुक्तानीलाई सहजीकरण गर्ने निर्णय गरेको थियो । त्यसैले राष्ट्र बैंकले लघुवित्त संस्थाका लागि लघुवित्त अध्ययन प्रतिवेदनमा उल्लेख भएका विषयलाई समीक्षामा समावेश गर्नेछ ।

मुलुकको अर्थतन्त्रको अवस्था खस्किँदै गएका कारण उद्योगी व्यवसायी समयमा कर्जाको साँवा ब्याज भुक्तानी गर्न नसक्ने अवस्थामा पुगेका कारण कर्जाको पुनः संरचना र पुनरतालिकीकरण गरिनु पर्ने माग निजी क्षेत्रको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.