सवारी जाम हुँदा उपत्यकामा १ खर्ब १६ अर्बको क्षति

  २०७९ चैत २३ गते ७:२८     विकासन्युज

काठमाडौं । काठमाडौँ उपत्यकामा हुने ट्राफिक जामका कारण वार्षिक १ खर्ब १६ अर्ब बराबरको आर्थिक क्षति हुने गरेको छ । सवारी जाम हुँदा त्यसबाट सिर्जना हुने वायु र ध्वनि प्रदूषण, तेलको खपत, सवारी साधनमा हुने ह्रास, स्वास्थ्यमा पर्ने समस्या, दुर्घटना जस्ता कारणले आर्थिक क्षेत्रमा १ खर्ब १६ अर्ब बराबरको क्षति हुने गरेको काठमाडौँ महानगरपालिकाको ट्राफिक व्यवस्थापन सल्लाहकार जगतमान श्रेष्ठले जानकारी दिए ।

‘यो ठूलो क्षति हो, यसलाई न्यूनीकरण गर्नका लागि कामपाले ट्राफिक जाम कम गर्ने भन्नेबारे अध्ययन गरिरहेको छ,’ उनले भने ।

उक्त समस्या न्यूनीकरणको विषयमा कामपाले अध्ययन गरिरहेको भए पनि यसका लागि भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय, यातायात व्यवस्था कार्यालय, सडक विभागसहित सरोकारवालाको सकारात्मक भूमिका रहनुपर्नेमा उनले जोड दिए ।

ट्राफिक व्यवस्थापन विज्ञ श्रेष्ठले एक वर्षभित्र सवारीको गतिलाई पाँच मिनेट छिटो बनाउने लक्ष्यका साथ काम गरिरहेको पनि जानकारी दिए । सार्वजनिक यातायात सञ्चालन र व्यवस्थापनको इञ्जिनियरिङमा समस्या भएको तथा जिम्मेवारी पालनामा लापरबाही भएकाले अहिलेको अवस्था सिर्जना भएको उनको भनाइ छ ।

उपत्यकाभित्र सवारी र यातायातलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा सङ्घीय राजधानी सहरी क्षेत्र सार्वजनिक यातायात प्राधिकरणले काम थाल्नुपर्ने उनको भनाइ छ । कामपाका प्रमुख अध्यक्ष र ललितपुर महानगरका प्रमुख उपाध्यक्ष रहने प्राधिकरणको काम कारबाही सञ्चालन, रेखदेख र व्यवस्थापन गर्न सङ्घीय राजधानी सहरी क्षेत्र सार्वजनिक यातायात परिषद् रहने व्यवस्था छ ।

सरकारले सार्वजनिक यातायात नीतिको प्रभावकारी व्यवस्थापनका लागि ‘सहरी क्षेत्र सार्वजनिक यातायात (व्यवस्थापन) प्राधिरण ऐन–२०७९’ जारी गरिसकेको छ । सहरी क्षेत्रमा सार्वजनिक यातायात क्षेत्रलाई सहज, पहुँचयोग्य, यात्रुमैत्री, विश्वसनीय, लागत प्रभावी र सुरक्षित बनाउने उद्देश्यले प्राधिकरणको कानूनी प्रबन्ध गरेको हो ।

यातायात विज्ञ श्रेष्ठका अनुसार सडक अनुशासन, सङ्केत चिह्न, लिफ्टसहितको आकाशे पुलजस्ता पूर्वाधारको निर्माणमा छरिएका अधिकारले नतिजामुखी काम गर्न नसकिएको टिप्पणी गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.