काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले नेपाल–अष्ट्रेलिया सिधा उडानको तयारी थालेको छ । दुई देशबीच सिधा उडान गर्न गत वर्ष नै नेपालले हवाई सेवा सम्झौता गरिसकेको छ । उक्त सम्झौता अनुसार उडान सुचारु गर्न मन्त्रालयले परराष्ट्र मन्त्रालय मार्फत् अष्ट्रेलियाको उडड्यन प्राधिकरणलाई पत्राचार गरेको हो ।
अष्ट्रेलियाबाट अनुमति पाएसँगै सरकारी स्वामित्वमा सञ्चालित नेपाल वायुसेवा निगमले उडान गर्ने मन्त्रालयले जनाएको छ । ‘निगमले गरेको प्रस्तावका आधारमा हामीले परराष्ट्र मन्त्रालय मार्फत पत्राचार गरिसकेका छौँ, उताबाट अनुमति पाएसँगै दुई देशबीच सिधा उडान सुरु हुन्छ’, मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले भने ।
उनका अनुुसार निगमसँग भएको वाइडबडी जहाजले अष्ट्रेलियाको सिड्नी उडानको तयारी थालेको हो । निगमले सिंगापुरमा तेल भरेर सिड्नी उडान गर्ने प्रस्ताव गरेको हो ।
काठमाडौंबाट सिड्नी उडान गर्न १५ घण्टा लाग्ने भएकाले निगमले सिंगापुरमा तेल भरेर अष्ट्रेलिया उड्ने प्रस्ताव गरेको हो । काठमाडौंबाट सिंगापुर हुँदै सिड्नी पुगेर फर्कंदा करीब २५ घण्टा लाग्छ ।
दुई देशबीच भएको सम्झौताअनुसार दुई देशका वायुसेवा कम्पनीले सातामा ७ अर्थात् दैनिक एक उडान गर्न पाउने गरी सहमति भएको थियो ।
नेपाली वायुसेवा कम्पनीले सिड्नी, मेलबर्न, ब्रिसबेन र पर्थमा सात उडान र अन्य विमानस्थलहरुमा असीमित क्षमतामा उडान गर्न सक्ने समझदारी थियो ।
२७४ सिट क्षमताको वाइडबडीले कोरोनोको समयमा मलेसियामा हवाई इन्धन भरेर सिड्नी चार्टर्ड उडेका गरेको थियो ।
निगम भन्छ : जहाज नथप्दासम्म उडान हुँदैन
निगमको आग्रहमा नै मन्त्रालयले पत्राचार गरिरहँदा निगमका अधिकारीहरु भने तत्काल अष्ट्रेलिया उडान सम्भव नभएको बताउँछन् ।
निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले तत्काल जहाज उडान गर्न असम्भव भएको भन्दै मन्त्रालयमा पत्र पठाएका छन् । ‘हाल उडान भैरहेको गन्तव्यमा त जहाज अपुग छ, अष्ट्रेलिया उडानको तयारी थाल्नु आफैँमा मुर्खता हो,’ निगम स्रोतले भन्यो ।
छोटो दुरीका गन्तव्यमा समेत उडानका लागि जहाज अपुग हुँदा लामो दुरीको गन्तव्यमा उडान गर्नु भनेको निगमको उडान सेड्युल नै बिग्रानु रहेको ती अधिकारीले बताए ।
‘हाल उडान भएका गन्तव्यमा जहाज कम हुँदा राम्रोसँग उडान भर्न सकिएको छैन, २५ घण्टाको बाटोमा उडान हुनु भनेको अन्य सबै गन्तव्यका उडान सबै रोक्नु हो’, स्रोतले भन्यो, ‘एक दिन जहाज बिग्रदा एक महिनाको सेड्युलमा असर पर्छ, २५ घण्टाको दुरीको उडान २ वटा जहाजले गर्नु असम्भव हो ।’
निगमका सहप्रवक्ता गणेशकुमार घिमिरे भने निगमले प्रक्रिया पूरा गरेर उडान गर्ने बताउँछन् । ‘हामीले आन्तरिक तयारी गरिरहेका छौँ, प्रक्रिया पूरा भएपछि उडान सुरु हुन्छ’, उनले भने ।
सीमित जहाज हुँदा उडानमा केही समस्या देखिन सक्ने आंकलन गरिएको उनले बताए ।
निगमले हाल चार जहाजमार्फत् दिल्ली, बैंकक, क्वालालम्पुर, बैंग्लोर, हङकङ, दोहा, नारिता, दुवइ, मुम्बई, रियादमा उडान गर्दै आएको छ। निगमसँग दुई वटा वाइडबडी र दुई वटा न्यारोवडी गरी अन्तर्राष्ट्रिय उडानका लागि ४ वटा जहाज छन् ।
लामो दुरीका गन्तव्यकोे उडानका लागि निगमले नयाँ जहाज खरिद प्रक्रिया सुरु गरेको छ । अन्तर्राष्ट्रिय तथा आन्तरिक रुटमा उडानका लागि जहाज खरिद गर्न निगमले उपमहाप्रबन्धक जनक कालाखेतीको संयोजकत्वमा समिति गठन गरेको छ ।
उक्त समितिले आन्तरिक उडानका लागि ट्विनअटर र अन्तर्राष्ट्रिय उडानका लागि न्यारोवडी जहाज खरिदको लागि आवश्यक तयारी थाल्नेछ । सुरुवाती चरणमा दुईवटा न्यारेवडी र आन्तरिक उडानका लागि तीनवटा ट्विनअटर र ट्रंक रुटका लागि दुईवटा एटीआर जहाज ल्याउन अध्ययन गर्नेछ ।
उक्त समितिले निगम सञ्चालक समितिलाई अध्ययन प्रतिवेदन पेश गर्नेछ । उक्त प्रतिवेदनलाई आधार बनाएर सञ्चालक समितिले निर्णय गरेर मन्त्रालयमा पठाइने निगमले जनाएको छ । निगमका अनुसार अब जहाज आकाशमै २५ घण्टा उड्नेछ । काठमाडौंबाट अष्ट्रेलिया र अष्ट्रेलियाबाट नेपाल फर्कन जहाजले आकाशमा २५ घण्टा उड्नु पर्ने हुन्छ ।