बैंकको ब्याज तिर्न बैंककै सेयर बेच्दै

  २०७९ चैत ९ गते १५:४५     सीआर भण्डारी

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले गत फागुन २४ गते साविकको मेगा बैंकका विभिन्न संस्थापक सेयरधनीको नाममा रहेको १ लाख ४६ हजार ४३ कित्तासहित २ लाख ७७६ कित्ता सेयर बिक्रीमा राख्यो ।

यस्तै, गत चैत २ गते प्रभु बैंकले पनि विभिन्न संस्थापक सेयरधनीहरुको नाममा रहेको ५ लाख ७ हजार ९३७ कित्ता सेयर बिक्रीमा राख्यो । बैंकले ३५ दिने सूचना जारी गर्दै संस्थापक सेयर बिक्रीमा राखेको थियो ।

यस्तै, नबिल बैंकले पनि गत फागुन १० गते विभिन्न संस्थापक सेयरधनीको नाममा रहेको ३ लाख कित्ता सेयर बिक्रीमा राखेको थियो । बैंकले फागुन १० गतेदेखि फागुन २५ गतेसम्म विद्यमान संस्थापक सेयरधनीहरुको नाममा रहेको ३ लाख कित्ता सेयर बिक्री गर्ने जनाएको थियो । बैंकको उक्त सेयरमा संस्थापक सेयरधनी वा अन्य जो कोही ब्यक्ति तथा संघ संस्थाले पनि खरिद गर्न पाउनेछन् । सो बैंकको सेयर खरिद गर्न चाहनेले न्यूनतम १ हजारदेखि आवेदन दिन सक्ने उल्लेख थियो । बैंकले यसअघि पनि विभिन्न समयमा संस्थापक सेयर बिक्रीमा राखेको थियो ।

यस्तै, कुमारी बैंकले चैत २ र ५ गते गरी विभिन्न समयमा लाखौं कित्ता सेयर बिक्रीमा राखेको छ । बैंकले गत चैत २ गते ८६ हजार ३३३ कित्ता बिक्रीमा राखेको छ भने चैत ७ ते ६ हजार ३२४ कित्ता सेयर बिक्रीमा राखेको हो ।

यी केही प्रतिनिधि बैंक मात्रै हुन् । पछिल्लो समय विभिन्न बैंक तथा वित्तीय संस्थाले संस्थापक सेयरधनीहरुको सेयर बिक्रीमा राखिरहेका छन् । बैंकले सेयर बिक्री गरेर संस्थापक सेयरधनीहरु धमाधम बैंकबाट बाहिरिन खोजेको देखिन्छ । सेयर बिक्रीमा आउने तथ्यांक हेर्ने हो भने बैंकका साना संस्थापक सेयरधनीहरु बाहिरिन खोजेको देखिन्छ ।

लगानीकर्ता छोटेलाल रौनियार बजार घटिरहेको समयमा लगानीकर्ताहरु डराएर संस्थापक सेयर बिक्री गरिरहेको हुन सक्ने बताउँछन् । संकटको बेलामा संस्थापक सेयरधनीहरुले सेयर बिक्री गर्नु राम्रो संकेत नभएको उनको बुझाइ छ । दोस्रो बजारमा संस्थापक सेयरको मूल्य नै १ सय रुपैयाँमा बिक्री भइरहेका बेलामा पनि दैनिक बिक्रीका सूचना आउनु राम्रो संकेत नभएको उनको भनाइ छ ।

‘मान्छेहरु आत्तिएका छन्, डराइरहेका छन्, सेयरको मूल्य घटेर सर्वसाधारणले बेचिरहेका छन्, संस्थापकले पनि सेयर बिक्री गरिरहेका छन्, जति मूल्य घट्यो त्यति धेरै डराएर बेचिरहेका छन्,’ उनले भने ।

कसैको कर्जा, ब्याज तिर्नुपर्ने, घरायसी समस्या भएकाले सेयर बिक्री गर्ने गरेको उनले बताए । घरजग्गा कारोबार बन्द भएकाले पनि सेयर बेचेर आफ्नो समस्या समाधान गर्न खोजिरहेको हुन सक्ने उनी बताउँछन् ।

‘तरल सम्पत्ति सेयर पनि हो, घरजग्गा बेच्नुभन्दा सेयर बेच्न सजिलो हुन्छ, प्रमोटर सेयर बिक्री गरेर आफ्नो समस्या टारेका हुन्, बजार घटिरहेको बेलामा लगानीकर्ता डराए,’ उनले भने । पछिल्लो समय कर्जा नतिर्नेहरु बढ्दा बैंकको खराब कर्जा पनि बढेको हुँदा बैंकबाट पाइने प्रतिफलमा ह्रास आउने संकेत देखिएपछि धेरैले सेयर बिक्री गर्न खोजेको रौनियार बताउँछन् ।

‘बैंकहरु डुब्दैनन् किनभने बैंकको पुँजी र जगेडा कोषमा अर्बाै रुपैयाँ छ, राष्ट्र बैंकले नियमन गरिरहेका संस्था भएकाले बैंकहरुमा धेरै ठूलो समस्या आएको छैन, बैंकहरुले पनि डुब्ने गरी लगानी गरेका छैनन्,’ उनले भने, ‘बैंकहरुले माघसम्म ४१ अर्ब रुपैयाँ नाफा कमाएका छन्,यो नाफा कमाएको हिसाबमा बैंकहरु समस्यामा छैनन्, उद्योगी व्यवसायीहरु घाटामा जान सक्छन् तर बैंकहरु घाटामा जान सक्दैनन् ।’

लगानीकर्ता लबराज जोशी संस्थापकहरुको व्यवसाय राम्रो नभएकाले बिक्री गर्न लागेको बताउँछन् । उनीहरुले गरेको व्यवसायमा कर्जाको ब्याज तिर्नुपर्ने भएकाले सेयर बेचेर तिर्न खोजिरहेको हुन सक्ने उनको बुझाइ छ ।

‘आफ्नो ऋण चुक्ता गर्न सेयर बेचेका हुन सक्छन्, व्यवसायलाई डुब्न नदिन सेयर बेचेर तिरिरहेका छन्, अहिले व्यापार व्यवसायी र उद्योग राम्रोसँग सञ्चालन भएको छैन, बैंकले पनि ब्याज मिनाह गर्दैन, एक/दुई किस्ता नतिर्ने बित्तिकै ताकेता गर्छन्, उनीहरुले सहज वातावरणबाट आफ्नो समस्या समाधान गर्न खोजेका छन्,’ उनले भने ।

उनका अनुसार बैंक तथा वित्तीय संस्थाको प्रतिफल घटेको हुँदा संस्थापकहरुले सेयर बेच्न लागेका हुन् । कुनैपनि बैंकहरुले विगतका वर्ष जस्तै उत्साह रुपमा लाभांश दिन नसक्ने आँकलन गरेकाले पनि सेयर बेचेर बाहिरिन खोजेको उनको भनाइ छ ।

‘मर्जरका कारण बैंकको पुँजी बढ्दै गयो, पुँजी वृद्धि अनुसार नाफा कमाउन सकेनन्, गत वर्ष राम्रो रिकभरी भइरहेको थियो, यस पटक रिकभरी पनि घटेको छ, रिकभरी भएन भने नाफा घट्छ,’ उनले भने, ‘५ प्रतिशतसम्म खराब कर्जा पुग्ने सम्भावना छ, खराब कर्जा बढ्यो भने बैंकहरुले ठूलो रकम प्रोभिजन राख्नुपर्ने हुन्छ, प्रोभिजन राख्नु पर्दा बैंकको नाफा हुँदैन, अहिले प्रमोटरलाई पनि समस्या परेको छ ।’

अर्थतन्त्र संकटमा परेको बेला यसरी सेयर बिक्री गर्नु राम्रो संकेत नभएको उनको बुझाइ छ । तर, नेपालमा भयावह स्थिती नरहेको उनको भनाइ छ ।

बैंकर बिएन घर्ती संस्थापक सेयर बिक्री गर्नु सामान्य प्रक्रिया भएको बताउँछन् । ठूलो संख्यामा प्रमोटर सेयर बिक्री भएमा मात्रै संकट परेको भन्न सकिने उनले बताए । सानो संस्थापक सेयरधीहरुले सेयर बिक्री गरेर खासै समस्या नहुने उनको भनाइ छ ।

उनका अनुसार यदि विज्ञ ब्यक्तिलाई सञ्चालक बनाउनु पर्याे भने स-सानो सेयर बिक्री हुन्छ । ‘जस्तो कुनै बैंकमा कसैलाई सञ्चालक बनाउनुपर्याे तर, ऊसँग बैंकको सेयर हुँदैन, अर्काे ब्यक्तिसँग धेरै सेयर हुन्छ, त्यसपछि धेरै सेयर भएको ब्यक्तिले अर्काेलाई सेयर ट्रान्सफर गरेर बोर्डमा ल्याउन खोजेको हुन सक्छ,’ उनले भने ।

कुनै ब्यक्तिले उपहार स्वरुप सेयर दिन खोज्दा पनि प्रमोटर सेयर बिक्री हुने गरेकाे उनको भनाइ छ । साथै पछिल्लो समय तरलताको समस्या कायम रहेकाले घरखर्च चलाउन गाह्रो भएकाले सेयर बिक्री गरेर समाधान गर्न खाेजेकाे उनको भनाइ छ ।

‘खल्तिमा एक/दुई लाख पनि भएन भने उसले आफूसँग भएको सेयर बिक्री गरेर घर खर्च जुटाउन सक्छ, सेयरमा लगानी गर्दा बर्बाद भयो र प्यानिक भएको बेलामा सबैले बेच्न चाहन्छन्, यो अहिले हुन सक्दैन,’ उनले भने, ‘कुनै उद्योगी व्यवसायीको ब्याज तिर्न पर्नेछ भने सेयर बेचेर ब्याज तिरेका हुन्छन्, ब्याजको किस्ता तिर्न नसक्ने अवस्था आयो भने सेयर बेच्न सक्छन् ।’

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) महेश शर्मा ढकाल पछिल्लो समय बैंकहरु मर्जरमा गएका कारण पनि सेयर बिक्री गर्न थालेको बताउँछन् ।

‘धेरै बैंकहरु मर्ज भए, मर्जर भएपछि जुन बैंकमा आफ्नो प्रमोटर सेयर छ, त्यो बैंकबाट कर्जा लिन पाउँदैन, कुनै ब्यक्तिको बैंकमा प्रमोटर सेयर छ भने त्यो बैंकबाट कर्जा लिन पाउँदैन, कर्जा लिइरहेको बैंक प्रमोटर सेयर भएको बैंकसँग मर्ज भयो,’ उनले भने, ‘आफु प्रमोटर भएको बैंकसँग मर्ज भयो भने कर्जा लिन नपाउने भएकाले सेयर बेचेका हुन्, उनीहरुले कर्जा सेटल गरे ।’

साथै, कर्जा सेटल गर्न, ब्याज तिर्न वा रकम भुक्तानीका लागि सेयर बिक्री गरेको हुन सक्ने उनको भनाइ छ । उनका अनुसार आर्थिक स्थिती कमजोर भएकाले सेयर बेचेर आफ्नो व्यवस्थापन गरिरहेका छन् । बैंकको सेयर बेचेर पनि अन्य बैंकको ब्याज वा कर्जा चुक्ता गरेको हुन सक्ने उनले बताए ।

‘बैंकको रिटर्न पनि कम हुँदै गएको छ किनभने चुनौति धेरै छन्, राष्ट्र बैंकले स्प्रेड दर घटाउन लगाएको छ, अन्य आम्दानीमा पनि सीमा तोकेको छ, कर्जाको शुल्कमा पनि तोकिएभन्दा बढी शुल्क लिन पाउँदैन,’ उनले भने, ‘राष्ट्र बैंकले कडाइ गर्दै आएको छ, पहिला आम्दानी धेरै हुन्थ्यो, अहिले घटेको छ, अर्निङपर सेयर, रिटर्न अफ इक्विटी घटिरहेको छ, त्यसैले पहिलाको जस्तो नाफा कमाउने अवस्था अहिले छैन ।’

डीसीईओ ढकालका अनुसार बैंकको सेयर बिक्री गरेर अन्य व्यवसायमा लाग्ने स्थिती छैन । बैंकको भन्दा बढी नाफा आउने ठाउँ भएपनि लगानी गर्ने वातावरण नबनेको उनले बताए ।

‘बैंकभन्दा आकर्षक रिटर्न दिने संस्थाहरु छन्, सुरक्षित रुपमा दीर्घकालसम्म लगानी गर्न मिल्ने संस्था बैंक हुन्, लगानी गरेर दीर्घकालमा ठूलो फाइदा लिनेले बेचेका छैनन्,’ उनले भने ।

एनआइसी एशिया क्यापिटलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रमेन्द्र रायमाझी पहिला जस्तो सेयर बिक्रीको चाम नरहेको बताउँछन् । सबैभन्दा बढी प्रमोटर सेयर बिक्रीको काम एनआईसी एशिया क्यापिटलले गर्ने गरेको भएपनि पछिल्लो समय खासै नआएको उनले बताए ।

‘पहिला र अहिलेको तुलना गर्दा खासै वृद्धि भएको छैन, अहिले ठूला प्रमोटरहरु होल्ड गरेर बसेका छन् भने साना प्रमोटरहरु बिक्री गर्न थालेका छन्,’ उनले भने ।

संकटको बेलामा सबैभन्दा पहिला बजारमा हिट गर्ने गरेको उनको भनाइ छ । प्रमोटर सेयरधनीहरुले बोनस सेयरको अपेक्षा गरेका हुन्छन् । तर, बैंकको बोनस दर पनि घट्दै गएका कारण बेच्न थालेको उनले बताए ।

‘संकटको बेला सबैभन्दा पहिला बिक्री हुने सेयर हो, तरलता पुर्ति गर्नका लागि पनि सेयर बेच्छन्, स-सानो २/३ हजार कित्ता सेयर पनि बिक्री भइरहेका छन्, यो सामान्य प्रक्रियाको विजनेश हो,’ उनले भने ।

उनका अनुसार केही लगानीकर्ता सेयर संख्या बढाउन नचाहेर पनि बेच्छन् । ठूलो संख्यामा सेयर बिक्री भएपछि चिन्ता लिनुपर्ने स्थिती आउने भएपनि साना साना सेयर बिक्रीमा आउँदा खासै फरक नपर्ने उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.