किन धमाधम देश छाड्दैछन् युवा ?

  २०७९ फागुन ३० गते १८:०८     नारायण अर्याल

फाइल तस्वीर ।

काठमाडौं । लाखौं युवाहरुले नेपाल छोडिरहेका छन् । उनीहरुलाई आफ्नो भविष्य नेपाल भन्दा बाहिर नै सुनिश्चित हुन्छ भन्ने लागिरहेको छ । जसले गर्दा उनीहरुले विशेषगरी विकसित मुलुकमा जानका लागि अनेक उपायहरु अपनाइरहेको देखिन्छ । नेपालबाट विशेषगरी शिक्षा, काम र भ्रमणको नाममा वर्षेनी लाखौं युवाहरु विदेशिने गरेका छन् । त्यसमध्ये ठूलो संख्यामा युवाहरुले सधैंका लागि देश नै छाडेर जान खोजेको पनि देखिन्छ । जसका धेरै प्रमाण र उदाहरणहरु समाजमा भेटिन्छन् । कतिपय नेपालीहरुले त विकसित मुलुक जानको लागि गैरकानुनी बाटोको यात्रा गर्दै आफ्नै जीवनलाई जोखिममा समेत पुर्याउने समाचारहरु पनि समय–समयमा सुनिन्छन् ।

विकसित मुलुकमा अध्ययनको लागि भनेर गएका लाखौं युवाहरुले सोही देशमा नै पारिवारिक जीवनको शुरुवात गर्ने गरेका छन् । त्यस्तै ठूलो संख्याका युवाहरुले भिजिट भिसाको प्रकृयाबाट विकसित मुलुक प्रवेश गरिरहेका छन्, उनीहरुको सो प्रवेश पनि ती मुलुकमा स्थायी बसोवासको प्रकृयाको लागि नै हो ।

अमेरिकाको डिभी लोटरी भिसाको लागि आवेदन भर्न प्रत्येक वर्षको एक महिना स्टुडियोहरुमा लाइन लाग्ने गरेको यथार्थ सबैका सामु छर्लंग छ । जापान, मलेसिया र अरब क्षेत्रका देशमा बाहेक अन्य विकसित देशमा गएका नेपालीहरुको ठूलो हिस्सा नेपाल नफर्कने गरेको प्रमाणहरु विभिन्न क्षेत्रबाट पाइन्छ । तर, आजको दिनमा कति नेपालीले सधैंका लागि देश छाडेर गए भन्ने तथ्यांक राज्य वा कुनै निकायसँग छैन ।

देशको प्रतिष्ठित विद्यालय काठमाडौंको बुढानिलकण्ठमा पढेका झण्डै ८० प्रतिशत विद्यार्थी नेपाल नबस्ने गरेको आफूले पाएको त्यहाँका एक अधिकारीले विकासन्युजसँग बताए ।

काठमाडौंको सेन्ट जेभियर्स लगायत अन्य केही निजी प्रतिष्ठित स्कुल पढ्ने विद्यार्थीहरुको ठूलो हिस्सा पनि नेपाल भन्दा बाहिर जाने गरेको जानकारहरु बताउँछन् ।

धेरै विकसित मुलुकहरुले नेपालीलाई काम, अध्ययन र भ्रमणको लागि भिसा दिने विषयमा निकै कसिलो नीति लिएका छन् । जसले गर्दा पनि नेपालीहरु सहज रुपमा भने ती देशमा प्रवेश गर्न सक्दैनन् ।

चालू आर्थिक वर्षको ७ महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ५७.३ प्रतिशतले वृद्धि भई ३ लाख १४ हजा ७६७ पुगेको छ । वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या ७ महिनामा १०.१ प्रतिशतले वृद्धि भई १ लाख ६७ हजार ७०८ पुगेको छ ।

त्यस्तै, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको एनओसी शाखाले नो अब्जेक्सन लेटर जारी गर्ने १ सय ५ वटा मूलुकमध्ये ४० वटा जति मुलुकमा नेपाली विद्यार्थी अध्ययनको लागि जाने गरेका छन् । चालू आर्थिक वर्षको पछिल्लो ७ महिनामा विदेशमा अध्ययन गर्नको लागि ५३ हजार पाँच सय ३० जना विद्यार्थीले एनओसी लिएका छन् ।

खासरी मलेसिया र खाडी मुलुकमा श्रम गर्न जाने नेपालीहरु कामको समय सकिएपछि फर्केर आउने गर्छन भने युरोपियन लगायत अन्य विकसित मुलुकमा कामको लागि गएकाहरु भने सकेसम्म उतै बस्ने कोशिस गर्ने गरेको पाइन्छ ।

किन देश छाड्न चाहन्छन् युवा ?

नेपालको शिक्षा नीतिको कारण पनि नेपालीहरुले देश छाड्ने अवस्था सिर्जना भएको पूर्व शिक्षा सचिव गोपीनाथ मैनाली बताउँछन् । ‘नेपालको शिक्षा व्यक्तिगत, सामाजिक र राष्ट्रिय उद्देश्य पूर्ति गर्ने प्रकारको भएन, जसले गर्दा अवसरको खोजीमा मानिसहरुले देश छाड्ने गरेका छन्’, मैनालीले भने ।

कानुनी मापदण्ड तथा प्रकृयागत जटिलताको कारण पनि युवाहरुले मुलुक छाडेको केहीको तर्क छ । नयाँ पुस्ताले सहज र सरलता खोजेको तर, कानुनी जटिलताको कारणले उद्यम तथा व्यवसाय गर्न र राज्यको सेवा प्राप्त गर्न जटिल भएको युवाहरुको भनाइ छ ।

अधिवक्ता दयानिधी पौडेलले कानून कार्यान्वयनको पाटोलाई जटिल बनाइएको कारण युवाहरुलाई असहज भएको हुन सक्ने बताउँछन् । ‘युवाहरु विदेश पलायन हुनुमा कानुन कार्यान्वयनको प्रकृया जटिल बनाइनु पनि हुनसक्छ, कानून कार्यान्वयन गर्ने निकायहरुले यसलाई सहजिकरण गर्न आवश्यक छ’, उनले भने ।

नेपाल उद्योग वाणिज्य महासंघका स्टार्टअप एण्ड इनोभेसन समितिका सभापति रञ्जित आचार्यले नयाँ पुस्ताका युवाहरुलाई नेपालमा सहज ढंगले स्टार्टअप उद्यम शुरु गर्ने वातावरण नभएको बताए । उनले विद्यालय तहको अध्ययनदेखि कानुनी प्रकृयासम्मको अवस्थामा स्टार्टअप अनुकुल नभएको बताए ।

‘राज्यले स्टार्टअपको अहिलेसम्म न कुनै परिभाषा गरेको छ, न कुनै नीति बनाएको छ, नत कुनै सहुलियत छ’, उनले भने, ‘विद्यालय स्तरको पाठ्यक्रममा विद्यार्थीहरुलाई स्टार्टअप बनाउने विषय नै छैन ।’

राज्यको नीति र शिक्षा प्रणाली नै स्टार्टअपमैत्री नभएको आचार्यको भनाइ छ । नेपालमा स्टार्टअपको लागि वातावरण नै नभएको भन्दै उनले नेपाल छोडेर गएको मान्छे फेरि फर्केर नेपाल आउने समेत वातावरण नभएको धारणा राखे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.