बैंकले पर्यटनमा लगानी गर्नुपर्ने बाध्यात्मक व्यवस्था बनाउन नाट्टाको सुझाव

  २०७९ माघ २० गते १४:१८     विकासन्युज

काठमाडाैं । व्यवसायीहरुले पर्यटन क्षेत्रमा बैंकहरुले निश्चित प्रतिशत लगानी गर्नुपर्ने बाध्यात्मक व्यवस्था गरिदिन नेपाल राष्ट्र बैंकसँग आग्रह गरेका छन् ।

राष्ट्र बैंकले गर्न लागेको मौद्रिक नीतिको अर्धवार्षिक समिक्षाका लागि नेपाल एशोसिएशन अफ टूर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले कृषि क्षेत्रमा जस्तै पर्यटनमा पनि बैंकहरुले लगानी गर्नै पर्ने बाध्यात्मक व्यवस्था गरिदिन सुझाव दिएकाे हाे ।

नाट्टाले पछिल्लाे समय पर्यटन क्षेत्र अति प्रभावित क्षेत्रमा परेको बताउँदै ऋणको प्रवाहलाई सहज गरिदिन पनि राष्ट्र बैंकलाई सुझाव दिएकाे छ ।

यस्तै, पुर्नकर्जा कम्तीमा ५ वर्षसम्म निरन्तरता दिनुपर्ने नाट्टाकाे सुझाव छ । नाट्टाले पर्यटन क्षेत्र थोरै चलायमान हुन लागेको अवस्थामा राष्ट्र बैकले पुर्नकर्जा कार्यविधिमा गरेको परिवर्तनले असाध्यै अपठ्यारो परिस्थिति उत्पन्न भएको बताएकाे छ ।

नाट्टाले राष्ट्र बैंकले जारी गरेको पुर्नकर्जा संशोधित कार्यविधिमा एक पटक पुनकर्जा सुविधा पाएको व्यवसायले नपाउने र पछिल्लो दुई वर्षको औसत रिर्टन अफ इक्विटी ३ प्रतिशतभन्दा बढि रहेका उद्योग व्यवसायमा प्रवाहित कर्जालाई सुविधा नदिने व्यवस्था परिवर्तन गरी पहिलाकाे जस्तै बनाउन सुझाव दिएकाे छ ।

यस्तै, पर्यटन व्यवसायीहरु ऋणको किस्ता समयमा भुक्तानी गर्न नसक्ने अवस्थामा भएकाे बताउँदै नाट्टाले विलम्ब शुल्क नलाग्ने गरि भुक्तानीको अवधिलाइ रिसेड्युल गर्न पनि नाट्टाले राष्ट्र बैंकलाई सुझाव दिएकाे छ ।

‘कोभिड १९ पछि पर्यटन क्षेत्र अति प्रभावित क्षेत्रमा परेको र पर्यटन व्यवसायीहरुले लिएको बैंक ऋणको किस्ता समयमा भुक्तानी गर्न नसक्ने अवस्था सिर्जना भएको हुँदा कुनै शुल्क वा विलम्ब शुल्क नलाग्ने गरि भुक्तानीको अवधिलाइ रिसेड्युल गरि पर्यटन व्यवसायलाई संरक्षण र प्रवद्र्धनको वातावरण बनाउनुपर्ने देखिएको छ,’ सुझावमा भनिएकाे छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.