बैशाखयता भित्रिए ३ अर्बका विद्युतीय गाडी, माग धान्नै मुस्किल

  २०७९ मंसिर ११ गते ९:५४     विकासन्युज

काठमाडौं । सरकारले विदेशी मुद्रा सञ्चितीमा कमी भएको भन्दै गत बैशाखदेखि डिजेल तथा पेट्रोलबाट चल्ने कार, जीप तथा भ्यान आयातमा पूर्ण रुपमा प्रतिबन्ध लगाएको छ ।

विदेशी मुद्राको कमी र विद्युतीय सवारी साधन सञ्चालनलाई जोेड दिन भन्दै सरकारले गाडी आयातमा प्रतिबन्ध लगाउँदा विद्युतीय गाडी आयातमा बृद्धि हुन थालेको छ ।

भन्सार विभागको तथ्यांक अनुसार सरकारले गाडी आयातमा रोक लगाएयता (गत बैशाखदेखि असोज मसान्तसम्म) साढे ३ सय वटा विद्युतीय गाडी विभिन्न नाका हुँदै नेपाल भित्रिएका छन् । ६ महिनाको अबधिमा ३ अर्ब २ करोड ८९ लाख ८४ हजार रुपैयाँ बराबरका ३३४ वटा विद्युतीय गाडी नेपाल भित्रिएका हुन ।

विभागको तथ्यांक अनुसार गत बैशाख महिनामा २३ करोड बढीका ७८, जेठ महिनामा ५२ करोड ४८ लाख रुपैयाँ बराबरको १५३ वटा र असार महिनामा २६ करोड ८९ लाख बढीका १०३ वटा विद्युतीय गाडी नेपाल भित्रिएको हो ।

तीन महिनामा २ करोडका गाडी भित्रिए

भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तीन महिना (गत साउनदेखि असोज मसान्तसम्म) को तथ्यांक अनुसार २ अर्ब बढीका विद्युतीय गाडी नेपाल भित्रिएका छन् ।

विभिन्न देशबाट उक्त अबधिमा २ अर्ब ५० लाख रुपैयाँ बराबरका ७०५ वटा विद्युतीय गाडी नेपाल भित्रिएका हुन ।

तथ्यांक अनुसार तीन महिनाको अबधिमा नेपालमा सबैभन्दा धेरै विद्युतीय गाडी भारतबाट भित्रिएका छन् । भारतबाट १ सय किलोवाटका ५०२ वटा विद्युतीय गाडी नेपाल भित्रिएका हुन् ।

भारतपछि सबैभन्दा धेरै विद्युतीय गाडी दक्षिण कोरियाबाट भित्रिएको छ । तीन महिनाको अबधिमा कोरियाबाट १ सय किलोवाटसम्मका १०९ वटा र १०० किलोवाटदेखि २०० किलोवाट सम्म ११ गरी १२० वटा विद्युतीय गाडी नेपाल भित्रिएका हुन् ।

यस्तै, उक्त अबधिमा चीनबाट १०० किलोबाट सम्मका ७५ वटा, १०० देखि २०० सम्म किलोवाट क्षमताका ४ गरी ७९ वटा गाडी नेपाल भित्रिएका हुन ।

यस्तैगरी, युकेबाट १०० दखि ००० किलोवाट क्षमताका २ र २०० देखि ३०० किलोवाट क्षमताका २ वटागाडीहरु नेपाल आएका छन् ।

माग धान्ने मुस्किल

डिजेल तथा पेट्रोलबाट चल्ने गाडी आयातमा प्रतिबन्ध लाग्दा विद्युतीय गाडीको माग उच्च भएको व्यवसायीहरुले बताएका छन् । पछिल्लो समय विद्युतीय गाडीको माग उच्च हुँदा बुकिङ गरेको ६ महिनासम्म गाडी बुझाउन नसकिएको उनीहरुको भनाई छ ।

विद्युतीय गाडी बिक्री गर्दै आएको हुण्डाईले विद्युतीय गाडीको माग धेरै हुँदा पुर्याउनै मुस्किल भएकोे जनाएको छ । हुण्डाईको थापाथली शो रुमका म्यानेजर दीवाकर रेग्मी अन्य गाडीको आयात प्रतिबन्ध हुँदा विद्युतीय गाडीको बजार विस्तार भएको बताउँछन् ।

‘हामीकहाँ गाडीको माग उच्च छ, उत्पादन कम्पनीले हामीलाई समयमा नै गाडी दिन नसक्दा बुकिङ गरेको ६ महिनासम्म लाग्ने गरेको छ’, उनले भने ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले गत बैशाख १३ गते देशमा विदेशी मुद्रा सञ्चितीमा कमी आएको भन्दै राजपत्रमा सूचना प्रकाशन गर्दै विभिन्न दश वस्तु आयातमा प्रतिबन्ध लगाएको थियो । पछिल्लो समय सरकारले उक्त वस्तुको आयात प्रतिबन्धलाई निरन्तरता दिदै आगामी मङ्सिर मसान्तसम्मका लागि प्रतिबन्धलाई निरन्तरता दिएको छ ।

अन्य वस्तुको प्रतिबन्धलाई खुलाएपनि सरकारले सबै प्रकारका तयारी मदिरा (औद्योगिक कच्चा पदार्थ), ३ सय अमेरिकी डलरभन्दा बढी मूल्यका स्मार्टफोन, एम्बुलेन्स र शववाहनबाहेक जिप, कार र भ्यान एवं १ सय ५० सीसीभन्दा माथिका मोटरसाइकलको आयात मंसिर मसान्तसम्म रोकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.