नबिल इन्भेष्टमेन्टले ल्यायो फ्लेक्सी क्याप फण्ड, लगानी गर्नेलाई १८९.६९ प्रतिशत प्रतिफल

  २०७९ कार्तिक २३ गते ९:१३     विकासन्युज

काठमाडौं । नबिल इन्भेष्टमेन्ट बैंकिङ्गले आज कात्तिक २३ गतेदेखि खुलामुखी म्युचुअल फण्ड निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने नबिल फ्लेक्सी क्याप फण्ड निष्काशन गरेको हो ।

क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्य दरका ७ करोड ५० लाख इकाई मध्ये १ करोड १२ लाख ५० हजार वा कुल निष्काशन गरिने इकाई संख्याको न्यूनतम १५ प्रतिशत इकाई कोष प्रबद्र्धकका लागि १४ प्रतिशत वा १ करोड ५ लाख इकाई र योजना व्यवस्थापकका लागि १ प्रतिशत वा ७ लाख ५० हजार इकाई छुट्याइएको छ । बाँकी रहेको ६ करोड ३७ लाख ५० हजार इकाई मध्ये पहिलो चरणमा सर्वसाधारणका लागि ५ करोड इकाई निष्काशन गरेको हो ।

क्यापिटलको उक्त फण्डमा छिटोमा कात्तिक २७ गते र ढिलोमा मंसिर ७ गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले न्यूनतम १ सय इकाई र अधिकतम ७५ लाख इकाईका लागि आवेदन दिन सक्नेछन् ।

उक्त फण्डमा धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिनेछ । यो फण्डको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमन्ट बैंकिङ्ग रहेको छ ।

योजना व्यवस्थापकको परिचय

म्युचुअल फण्डको योजना व्यवस्थापक नबिल इन्भेष्टमेन्ट बैंकिंङ्ग लिमिटेड हो । कम्पनी रजिष्ट्रारमा वि.स. २०६६ माघ २४ मा दर्ता भएको थियो । कम्पनीले मिति २०६७ बैशाख १३ मा मर्चेन्ट बैंकरको रुपमा कार्य गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त गरेको थियो ।

कम्पनीले स्थापना वर्षमा धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा विभिन्न संघ संस्थाहरुको धितोपत्रको सार्वजनिक निष्काशन कार्य गरेको थियो । हाल कम्पनीले यसका अलवा सेवालाई विविधीकरण गर्दै सेयर प्रत्याभूती सेवा, सेयर रजिष्ट्रार सेवा, लगानी व्यवस्थापन सेवा तथा वित्तीय परामर्श सेवासमेत प्रदान गर्दै आइरहेको छ । साथै यस कम्पनीले वि.स. २०६९ भदौ २७ मा नेपाल धितोपत्र बोर्डबाट योजना व्यवस्थापक तथा डिपोजिटरीको कार्य गर्ने अनुमति प्राप्त गरेको थियो ।

कम्पनीले नबिल म्युचुअल फण्ड अन्तर्गतको पहिलो योजना नबिल ब्यालेन्सड् फण्ड १ को योजना सफलतापूर्वक योजना व्यवस्थापकको रूपमा काम समापन गसिकेको छ । यस्तै, दोस्रो योजना नबिल इक्वीटी फण्डको विगत ५ बर्षदेखि र तेस्रो योजना नबिल ब्यालेन्सड् फण्ड २ को विगत ३ बर्षदेखि योजना व्यवस्थापकको रूपमा समेत कार्य गरिरहेको छ । हालै चौथौ योजना नबिल ब्यालेन्सड् फण्ड–३ को सार्वजनिक निष्काशन कार्य समापन गरी योजना व्यवस्थापकको कार्य गरिरहेको छ ।

कम्पनीको चुक्ता पूँजी २७ करोड रुपैयाँ रहेको छ भने अधिकृत पूँजी १ अर्ब रुपैयाँ रहेको छ । कम्पनीमा नबिल बैंकको ५२ प्रतिशत र सिजि फिन्कोको ४८ प्रतिशत सेयर स्वामित्व रहेको छ ।

क्यापिटलको आगामी योजना

कम्पनीले व्यवसाय तथा कार्यक्षेत्र विस्तार, आयमिक सोचका साथ अन्तराष्ट्रिय स्तरको सेवा प्रवाह योजनाका साथ यस प्रकारको व्यवसायमा व्यवसायिक तथा प्रतिस्पर्धि संस्थाको रूपमा अघि बढ्ने रणनीति लिएको छ ।

यस्तै, व्यवसाय/ सेवा बृद्धिका लागि योजना व्यवस्थापकको भावी योजना र त्यस्तो योजनाको प्राप्तिका लागि चालिने समयवद्ध रणनीति र प्रतिस्पर्धा, विद्यमान आर्थिक स्थिति र समान किसिमको उद्योगको स्थितिको आधारमा योजना व्यस्थापकको व्यवसायको भविष्य रहेको छ ।

कहाँ लगानी गर्छ ?

फण्डबाट संकलन भएको रकम विभिन्न योजनाहरुमा लगानी गर्ने तयारी गरेको छ । सेबोनमा दर्ता भएको धितोपत्र, सार्वजनिक निष्काशन भएका धितोपत्र, धितोपत्र विनिमय बजारमा सूचीकृत धितोपत्रमा लगानी गर्ने छ ।

यस्तै, नेपाल राष्ट्र बैंकले जारी गरेको ऋणपत्र, ट्रेजरी वील तथा मुद्रा बजार र अन्य साधना, बैंक निक्षेप, मुद्रा बजार उपकरणमा, बोर्डले तोकिदिएका अन्य क्षेत्रमा लगानी गर्ने क्यापिटलले बताएको छ ।

इकाईधनीहरुले १८९.६९ प्रतिशत प्रतिफल पाउने

क्यापिटलले फण्डबाट संकलन भएको रकम विभिन्न क्षेत्रमा लगानी गर्नेछ । सोही क्षेत्रमा लगानी पश्चात् हुने आम्दानीलाई इकाईधनीहरुलाई सबै खर्च कटाएर प्रतिफल वितरण गर्नेछ । कम्पनीले १० वर्षको अवधिमा इकाईधनीहरुलाई कूल १८९.६९ प्रतिशत प्रतिफल दिने अनुमान गरिएको छ ।

फण्डका इकाईधनीहरुलाई पहिलो वर्ष १७.९८ प्रतिशत प्रतिफल दिने प्रक्षेपण गरेको छ । यस्तै, दोस्रो वर्ष १८.७६ प्रतिशत, तेस्रो वर्ष १८.९८ प्रतिशत, चौंथों वर्ष १९.१६ प्रतिशत र पाँचौ वर्ष १९.३५ प्रतिशत प्रतिफल वितरण गर्ने प्रक्षेपण गरेको छ ।

यस्तै, कम्पनीले छैठौं वर्ष १९.३६ प्रतिशत, सातौं वर्ष १९.०८ प्रतिशत, आठौं वर्ष १९.१० प्रतिशत, नवौं वर्ष १८.९६ प्रतिशत र दशौं वर्ष १८.९६ प्रतिशत प्रतिफल दिने कम्पनीको प्रक्षेपण रहेको छ ।

संचालन पूर्व खर्च विवरण

कम्पनीले फण्ड निष्काशन गर्न लाग्ने खर्च विवरण पनि उल्लेख गरेको छ । कम्पनीले फण्ड निष्काशन पूर्व हुने खर्च विवरण र निष्काशनपश्चात् हुने खर्चको विवरण पनि इकाईधनीहरुका लागि सार्वजनिक गरेको छ ।

कम्पनीको योजना दर्ता शुल्क ७ लाख ५० हजार रुपैयाँ, निष्काशन तथा बिक्री प्रबन्ध शुल्क योजनाको ०.२५ प्रतिशत, लेखापरीक्षण शुल्क वार्षिक १ लाख ५० हजार रुपैयाँ हुने अनुमान गरिएको छ ।

यस्तै, नियमित सूचना प्रकाशन शुल्क पहिलो वर्ष २१ लाख ८७ हजार ८ सय रुपैयाँ र त्यसपछि वर्षमा बार्षिक ८ लाख २० हजार रुपैयाँ हुनेछ । हरेक वर्षमा पछिल्लो कायम शुल्कमा ५ प्रतिशतले बृद्धि गरिने कम्पनीले जनाएको छ । तर, वास्तविकतामा सो खर्च फरक पर्न सक्नेछ ।

यस्तै, कानुनी परामर्श शुल्क वार्षिक ५० हजार रुपैयाँ, सफ्टवेयर शुल्क पहिलो वर्ष २ लाख रुपैयाँ र त्यसपछि वार्षिक ५० हजार रुपैयाँ हुने अनुमान गरिएको छ । कम्पनीको अन्य शुल्क अनुमानित ५० हजार रुपैयाँ छ । कम्पनीको फण्ड निष्काशन गर्नु पूर्व भने ३९ लाख १९ हजार रुपैयाँ जम्मा खर्च हुने भएको छ ।

यसअघि निष्काशन गरेका फण्डको प्रतिफल

कपनीले यसअघि नबिल ब्यालेन्सड् फण्ड १, नबिल इक्वीटी फण्ड, नबिल ब्यालेन्सड् फण्ड २ र नबिल ब्यालेन्सड् फण्ड–३ म्युचुअल फण्ड निष्काशन गरिसकेको छ ।

नबिल व्यालेन्सड् फण्ड १ नबिल म्यूचुअल फण्ड अन्तर्गतको पहिलो योजना हो । उक्त फण्ड वि.स. २०७४ चैत्र २९ मा परिपक्व भएको थियो । उक्त योजनाको अवधि ५ बर्षको थियो । ईकाईधनीहरुलाई परिपक्व भएपश्चात् १७.४६३९७ रुपैयाँका दरले रकम भुक्तानी गरिएको थियो । उक्त फण्डका इकाईधनीहरुले पाँच वर्षको अवधिमा १ सय प्रतिशत प्रतिफल प्राप्त गरेका थिए ।

नबिल इक्वीटी फण्ड नबिल म्यूचुअल फण्ड अन्तर्गतको दोस्रो योजना हो । नबिल इक्वीटी फण्ड करिब ४ वर्ष अघिदेखि सञ्चालनमा आएको थियो । उक्त योजनाको अवधि ७ बर्षको रहेको छ । उक्त फण्डले इकाईधनीहरुलाई हालसम्म ४६ प्रतिशत प्रतिफल वितरण गरिसकेको छ ।

नबिल व्यालेन्सड् फण्ड २ नबिल म्यूचुअल फण्ड अन्तर्गतको तेस्रो योजना हो । नबिल व्यालेन्सड् फण्ड २ २०७५÷७६ देखि सञ्चालनमा आएको हो । उक्त योजनाको अवधि १० बर्षको हो । उक्त फण्डका इकाईधनीहरुलाई हालसम्म ४३ प्रतिशत प्रतिफल वितरण गरेको छ ।

क्यापिटलको संचालक र व्यवस्थापक टिम

क्यापटलको संचालक समितिमा ४ जना संस्थापक र २ जना स्वतन्त्र संचालक गरी ६ जना छन् । क्यापिटलको अध्यक्षमा संस्थापकको तर्फबाट वरुण चौधर छन् । उनी सिजि फिन्कोको तर्फबट अध्यक्ष बनेका हुन् । यस्तै, नबिल बैंकको तर्फबाट आदर्श बजगाई उपाध्यक्ष र गणेश प्रसाद अवस्थी सञ्चालक रहेका छन् । यस्तै, सञ्चालकहरुमा सञ्जय पोखरेल, भरत अधिकारी र शंकर प्रसाद पाण्डे छन् ।

कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा मनिष नारायण जोशी कार्यरत छन् । ४० वर्षिय जोशीसँग एमबिएसम्मको शैक्षिक योग्यता छ । उनले ४ वर्षसम्म सानिमा क्यापिटलमा प्रमुख कार्यकारी अधिकृत भएर काम गरिसकेका छन् । नबिल इन्भेष्टमेन्ट बैंकिंङ्गमा प्रमुख कपरेट फाइनान्स तथा रिसर्चको रुपमा लगानी व्यवस्थापन तथा रिर्सच क्षेत्रको करिब ५ वर्ष भन्दा बढीको कार्यानुभव समेत रहेको छ ।

यस्तै, इन्फिनिटी मल्टिप्रपोजमा परामर्शदाताको रुपमा २ वर्षको कार्यानुभव, सनराईज बैंकमा कर्जा अधिकृतको रुपमा २ वर्षको बैकिंङ्ग अनुभव र अमेरिकामा वित्त विश्लेषकको रुपमा २ वर्षको काम गरेको अनुभव उनीसँग छ ।

यस्तै, कम्पनीको मर्चेन्ट बैंकिङ्ग प्रमुखमा मनोहर कडेल र लगानी व्यवस्थापन प्रमुख विकास चन्द्र भण्डारी कार्यरत छन् । कम्पनीले २०७८ श्रावण १ देखि आषाढ मसान्त, २०७९ को एक आर्थिक वर्षमा सीईओ जोशीलाई १ करोड ४९ लाख ९३ हजार रुपैयाँ,े मर्चेन्ट बैंकिङ्ग प्रमुखमा मनोहर कडेललाई ३१ लख १४ हजार रुपैयाँ र लगानी व्यवस्थापन प्रमुख विकास चन्द्र भण्डारीलाई २४ लाख १० हजार रुपैयाँ तलब तथा भत्ता प्रदान गरेको छ ।

योजना व्यवस्थापकको रेटिङ्ग

योजना व्यवस्थापकलाई इक्रा नेपालले इक्रा एनपी एएमसी क्वालिटी ३ प्लस प्रदान गेको छ । जसले सम्पत्ति वा कोषको उचित यवस्थापनको प्रयाप्त आधार रहेको जनाउँछ ।

कोष सुपरिवेक्षक

म्युचुअल फण्डको कोष सुपरिवेक्षकमा सि.ए.मदन कृष्ण शर्मा, प्राध्यापक डा.फत्त बहादुर के.सी., प्राध्यापक डा.देवी प्रसाद शर्मा बिडारी, देब बहादुर बोहोरा र नवीन कुमार वर्मा रहेका छन् ।

बजारबाट उच्च प्रतिफल आर्जन गर्ने

नबिल फ्लेक्सी क्याप फण्ड एक खुलामुखी फण्ड हो । सूचीकृत कम्पनीहरुमध्ये उत्कृष्ट प्रतिफल दिने कम्पनीहरुमा लगानी गर्नेछ । फण्डले बजारको वर्तमान अवस्था अध्ययन गरी तथा भविष्यमा हुनसक्ने परिस्थितिलाई मध्यनजर गरी उच्च प्रतिफल आर्जन गर्नेमा क्यापिटलले काम गर्नेछ ।

One comment on "नबिल इन्भेष्टमेन्टले ल्यायो फ्लेक्सी क्याप फण्ड, लगानी गर्नेलाई १८९.६९ प्रतिशत प्रतिफल"

  • satya mandal says:

    बिदेशिलाई कुनै सुबिधा छ भने जनकारी पाउँ!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.