वैदेशिक रोजगारीमा जाने श्रमिकलाई निगमले ४० वटा सस्तो टिकट दिने

  २०७८ पुष ७ गते ९:५३     विकासन्युज

काठमाडौं । नेपाल वायुसेवा निगमले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई ४० वटा सस्तो टिकट दिने भएको छ ।

मंगलबार संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री प्रेम आलेले विदेशमा पसिना बगाएर मुलुकमा विप्रेषण भित्र्याउने वैदेशिक रोजगारीमा जाने श्रमिकको सम्मानका लागि निगमले कम्तीमा पनि ४० वटा सस्तो टिकटको व्यवस्था गर्न निगम नेतृत्वलाई निर्देशन दिएका थिए ।

निगमले यसअघि २० वटा यस्तो टिकट उपलब्ध गराउने गरेको थियो । मन्त्री आलेले रोजगारीमा जाने मजदुरलाई निगम हाताभित्रैबाट टिकट दिलाउने र बिचौलियाबाट रोक्ने गरी व्यवस्थापन गर्न आग्रह गरेका थिए ।

पर्यटन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले निगमको व्यापार हिस्सा बढाउन र यसको साखलाई अभिवृद्धि गर्न मन्त्रालय पनि गम्भीर रहेको बताएका थिए । उनले व्यावसायिक कार्ययोजनाका साथ उपलब्ध स्रोत, साधन र जनशक्तिको भरपुर उपयोग गरी खर्च कम गरेर नाफा बढाउनेतिर लाग्न निगम व्यवस्थापनलाई निर्देशन दिए ।

सचिव न्यौपानेले निगमलाई जहाज थपेर सेवालाई गुणस्तरीय र भरपर्दो बनाइनुपर्ने आवश्यकता औँल्याएका थिए ।

निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले निगमको आन्तरिक तथा अन्तर्राष्ट्रिय गन्तव्यमा बजार हिस्सा बढाउने गरी भएका जहाजको प्रभावकारी व्यवस्थापन र आवश्यक जहाज खरिदका लागि कार्ययोजनाका साथ अघि बढेको जानकारी दिए ।

उनले निगमको प्रमुख आयस्रोत भूमिस्थ सेवा खोस्न निजी एयरलाइन्स लागि परेको भन्दै निगमको भविष्यसँग जोडिएको यो सेवालाई निगमले नै पाउने गरी निर्णय गर्न पर्यटनमन्त्रीसमक्ष अनुरोध गरे । उनले निगमले विश्वका प्रख्यात एयरलाइन्ससँग सहकार्य गरेर निगमकै टिकटमा निगमका जहाज नपुग्ने विश्वका विभिन्न गन्तव्यमा पनि यात्रुले यात्रा गर्ने वातावरण सिर्जना भएको भन्दै यसले निगमको साखलाई उँचो बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.