करिब २ करोड लगानीमा उद्योग सञ्चालन गर्दै मुकुन्दसेन दुग्ध उत्पादक सहकारी

  २०७८ कार्तिक १५ गते ११:३६     विकासन्युज

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा रहेको मुकुन्दसेन दुग्ध उत्पादक सहकारी संस्थाले दाना उद्योग सञ्चालन गर्ने भएको छ । गैँडाकोट–११ हर्कपुरमा रहेको सहकारीले एक करोड ९४ लाख ८५ हजार २६४ लगानीमा उद्योग सञ्चालन गर्न लागेको हो ।

कृषि तथा पशुपक्षी विकास मन्त्रालय, नेपाल लाइभस्टक सेक्टर इनोभेशन आयोजना, विकेन्द्रिकृत आयोजना सहयोग एकाइ पोखराको ५० प्रतिशत अनुदान र सहकारीको ५० प्रतिशत लगानीमा गैँडाकोट–११ मा ‘मुकुन्दसेन दाना उद्योग’ सञ्चालन गरिने संस्थाका अध्यक्ष गोपाल श्रेष्ठले जानकारी दिए । आइतबार हर्कपुरमा आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा उनले सहकारीका शेयर सदस्य, उपभोक्ता एवं स्थानीयवासी सबैलाई लाभ हुने गरी उद्योग सञ्चालन गरिने जानकारी दिए । कार्यक्रममा गैँडाकोट नगरपालिका प्रमुख छत्रराज पौडेलले उद्योग सञ्चालनका लागि र आगामी दिनमा आवश्यक अन्य सहयोग एवं पुनः अनुदान आवश्यक भए लगानीको वातावरण बनाउन पहल गर्ने बताए ।

गैँडाकोट–११ का वडाध्यक्ष गोविन्दप्रसाद सुवेदीले जनतालाई फाइदा हुने गरी गुणस्तरीय उत्पादनमा ध्यान दिन आग्रह गर्दै वडाको तर्फबाट आवश्यक सम्पूर्ण सहयोग गर्ने बताए । मुकुन्दसेन दाना उद्योगका सम्पर्क व्यक्ति एवं सहकारीका व्यवस्थापक रमाकान्त घिमिरेले उद्योग सञ्चालनका लागि पूर्वाधार विकासमा वडा, नगरपालिका तथा स्थानीयवासीको सहयोगको अपेक्षा गरिएको बताए । उद्योग सञ्चालनका स्वीकृत बजेटबारे जानकारी दिँदै मुकुन्दसेन दाना उद्योगका सम्पर्क व्यक्ति एवं सहकारीका सहायक व्यवस्थापक सागर सापकोटाले संस्थागत लगानी ३९ लाख ४६२, बैंक ऋण ५८ लाख ४८ हजार ६२४ र आयोजना अनुदान ९७ लाख ३६ हजार १७८ रहेको जानकारी दिए ।

आगामी असार मसान्तसम्म उद्योग निर्माण सम्पन्न गरी उत्पादन सुरु गर्ने सहमति भई गत असोज ११ गते आयोजनासँग सम्झौता भइसकेको छ । मुकुन्दपुर क्षेत्रको दूध व्यवस्थित गर्दै कृषकलाई आर्थिकरूपमा सबल बनाउने कार्यमा सहकारी लागिरहेको छ । दाना उद्योग सञ्चालनमा आएपछि गैँडाकोटको मुकुन्दपुर, अमरापुरी र रजहर क्षेत्रका कृषक प्रत्यक्ष लाभान्वित हुने विश्वास लिइएको छ ।

संस्थाको मातहातमा १५० वटा व्यावसायिक पशुपालन फार्म दर्ता भएका छन् । ६५० जना कृषक दुग्ध व्यवसायमा संलग्न रहेका छन् भने सहकारीमा दैनिक १५ हजार लिटर दूध सङ्कलन हुँदै आएको छ । विसं २०५३ मा स्थापित संस्थामा हाल ८९० जना शेयर सदस्य छन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.