चैतसम्म २ करोड १५ लाख डाेज खोप नेपाल आइसक्छ: स्वास्थ्य मन्त्रालय

  २०७८ साउन ११ गते १६:३५     विकासन्युज

सरकारले आगामी चैत सम्ममा २ करोड बढी कोरोना विरुद्धको खोप आइसक्ने जनाएको छ । सोमबार प्रतिनिधि सभा अन्तरगतकाे शिक्षा तथा स्वास्थ्य समितिमा बोल्दै स्वास्थ्य सचिव लक्ष्मण अर्यालले चैत महिनासम्ममा २ करोड १५ लाखलाई खोप उपलब्ध गराउने रोडम्यापको आधारमा काम गरिरहेको बताएका हुन ।

उनले आवश्यक खोप किन्नको लागि प्रक्रिया अगाडी बढिरहेको बताउँदै खोपको अभाव नहुने जनाएका हुन ।

‘असोज महिना भित्रमा लक्षित समुहका ३३ प्रतिशतलाई खोप दिने र चैतसम्ममा खोप उपलब्ध भएमा सबैलाई २ करोड १५ लाखलाई खोप उपलब्ध गराउन सकिन्छ भन्ने रोडम्यापको आधारमा काम गरेका छौँ’, उनले भने ।

स्वास्थ्य मन्त्रालय अन्र्तगत स्वास्थ्य आपतकालीन केन्द्रका संयोजक डा. गुणराज लोहनीले हालसम्म कोभिड–१९ विरुद्धको खोपको पहिलो मात्रा ३४ लाख ५ हजार १ सय ५४ जनालाई लगाइएको र १४ लाख ३० हजार ४ सय १६ जनालाई दुवै मात्रा खोप लगाइएको बताए ।

उनले वैदेशिक अनुदानमा चीन सरकारबाट १८ लाख र भारत सरकारबाट ११ लाख मात्रा खोप आएको तथा हालसम्म ५० लाख मात्रा खरिद गरिएको जनाएका थिए । जसमध्ये भारतबाट १० लाख मात्रा कोभिशिल्ड र चीनबाट ३२ लाख मात्रा भेरोसेल खोप किनिएको स्पष्ट पारेका थिए । उनले चीनबाट ८ लाख डोज खोप आउने बाँकी रहेको भन्दै शुक्रबारसम्म नेपाल आईपुग्ने समेत बताएका थिए ।

असोज मसान्त भित्र थप १ करोड ५ लाख ४८ हजार मात्रा खोप कोभ्याक्स सुविधा अन्तर्गत, वैदेशिक अनुदान र खरिदमार्फत् नेपाल आउने उनले बताए ।

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले सरकारको पहिलो प्राथमिकता कोभिड १९ विरुद्धको खोप उपलब्ध गराउने रहेको बताएका थिए ।

उक्त समितिको बैठकमा उनले सरकारको प्राथमिकता कोभिड १९ विरुद्धको खोप उपलब्धता गराउने भएकाले अनुदान, ऋण अथवा किनेरै भएपनि सबै नेपालीलाई खोप उपलब्ध गराइने बताएका हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.