बजारको जोखिम न्युनिकरण गरेरै लगानीकर्तालाई लाभांश दिने प्रक्षेपण गरेका छौंः सीईओ प्याकुरेल

  २०७८ असार २० गते १७:५२     विकासन्युज

सरकारको करिब पूर्ण स्वामित्व रहेको राष्ट्रिय वाणिज्य बैंकको सहायक कम्पनी आरविवि मर्चेन्ट बैंकिङ्गले पहिलो पटक म्युचुअल फण्ड जारी गर्दै छ । संस्थाले ‘आरविवि म्युचुअल फण्ड १’ नामक म्युचुअल फण्ड निष्काशन तथा बिक्री गर्न लागेको हो । यससँगै, संस्थाको नयाँ योजना कस्तो हो ? योजनाको उद्देश्य के हो ? लगानीकर्ताले यसमा किन लगानी गर्ने भन्ने विषयमा सम्बन्धित रहेर आरविवि मर्चेन्टका प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद प्याकुरेलसँग विकासन्युजले गरेको कुराकानीको सम्पादित अंशः

आरविवि म्युचुअल फण्ड १ कस्तो फण्ड हो ?
हामीले निष्काशन गर्न लागेको आरविवि म्युचुअल फण्ड १ पहिलो म्युचुअल फण्ड हो । यो बन्दमूखी प्रकृतिको योजना हो । योजनाको आकार एक अर्ब रुपैयाँ रहेको यो फण्डको समयावधि ७ वर्षको रहने छ ।

हामीले आगामी असार २३ गतेदेखि यसको निष्काशन तथा बिक्री खुला गर्दैछौं । जसमा लगानीकर्ताले छिटोमा असार २७ गतेसम्म र ढिलोमा साउन ६ गतेसम्म आवेदन दिन सक्ने व्यवस्था रहेको छ । उक्त फण्ड निष्काशन तथा बाँडफाँड पश्चात नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा सूचीकृत हुनेछ । र, त्यससँगै दोश्रो बजारमा किनबेच गर्न सकिन्छ ।

सामुहिक लगानी कोष र धितोपत्रसँग सम्बन्धित ऐन, नियमावली तथा निर्देशिकाहरुको अधिनमा रहि तोकिएका क्षेत्रमा लगानी गर्नेछौं । यो बन्दमूखी योजनामा ब्यालेन्सड् हिसाबले धितोपत्र बाजारमा लगानी गर्नेछौं ।

फण्ड जारी गर्नुको उद्देश्य के हो ?
इकाई बिक्रीबाट संकलित रकम योजना व्यवस्थापकले दक्षतापूर्वक योजनाले तोकेको लगानीका क्षेत्रहरुमा लगानी गरी आवेदकहरुलाई उच्च प्रतिफल दिई धितोपत्र बजारको दिगो विकासमा समेत एक संस्थागत लगानीकर्ताको हैसियतमा सघाउ पुर्याउने उद्देश्यले यस योजनाको इकाईहरु निष्काशन गरिएको हो । योजनाको खुद सम्पत्ति मूल्यको सीमाभित्र रही सामूहिक लगानी कोष निर्देशिकामा तोकिए बमोजिम सार्वजनिक निष्काशन गरिएका धितोपत्रको प्रत्याभूति (अन्डरराईट) गर्ने । साथै ,योग्य संस्थागत लगानीकर्ताको रुपमा कार्य गर्ने हो ।

बजारमा आएका अन्य म्युचुअल फण्डभन्दा आरविवि म्युचुअल फण्डमा के फरक छ ?
अहिले बजारमा जुन किसिमका फण्डहरु आइरहेका छन्, ती सबैले यो क्षेत्रमा यति लगानी गर्छौं भनेर मापदण्ड तोकेर ल्याएका हुन्छन् । तर हामी ब्यालेन्सड तरिकाले लगानी गर्छौं । इकाईधनीलाई अधिकतम प्रतिफल प्राप्त होस् भनेर हामीले त्यहि अनुसार अनुभवि टीम खडा गरेका छौं । नियामक निकायले तोकेको लगानीको क्षेत्रको सीमा भन्दा बाहिर जाने कुरा भएन ।

आधारभूत विश्लेषण (फण्डामेन्टल एनालाईसिस्), प्राविधिक विश्लेषण (प्राविधिक एनालाईसिस्) र भ्यालु इन्भेष्टिङ्ग जस्ता विभिन्न विधिबाट विश्लेषण गर्छौं । सो विश्लेषण गर्दा जुन स्टक लगानी गर्न उचित हुन्छ, जुनबाट बढी प्रतिफल आउँछ भन्ने अनुमान गछौं, त्यसमै लगानी गर्छौं ।

सो विश्लेषण गर्दा हामीले गत ५ वर्षको वित्तीय विवरणको तथ्यांकलाई लिन्छौं, अहिले बजार मूल्य के छ, त्यो हेर्छौं ? भ्यालु इन्भेष्टिङ्ग गर्दा यदि अहिलेको बजार मूल्यभन्दा ५ वर्ष पछिको अनुमानित मूल्य धेरै छ भने हामीले दीर्घकालिन लगानीको रुपमा केन्द्रित हुन्छौं ।

७ वर्षमा कूल १२७ प्रतिशत लाभांस दिने हाम्रो प्रक्षेपण रहेको छ । यस अनुसार लगानी गर्ने लगानीकर्ताले पहिलो वर्षमा १० प्रतिशत, दोश्रोमा १३, त्यसपछि क्रमशः १७, १९, २१, २२ गर्दै अन्तिम वर्षमा २५ प्रतिशत लाभांस पाउनु हुनेछ ।

लगानीकर्ताले यसमै किन लगानी गर्ने ?
आरविवि मात्रै नभएर लगानीकर्तालाई अहिलेको समयमा म्युचुअल फण्डमा लगानी गर्न पाउनु एउटा राम्रो अवसर हो ।

अर्को, विश्व बजारकै पुँजी बजारमा हेर्ने हो भने म्युचुअल फण्डमा लगानीकर्ताहरु धेरै आकर्षित भएको पाइन्छ । हाम्रो छिमेकी राष्ट्र भारतकै बजारमा पनि प्रतिइकाई १० रुपैयाँ युनिटको बजार भ्यालु हेर्ने हो भने राम्रे प्रतिफल देखिन्छ । त्यस्तै, हामी कहाँ पनि शुरुको म्युचुअल फण्डको तुलनामा अहिलेको म्युचुअल फण्डमा लगानीकर्ताको आकर्षण निकै बढ्दो छ । यसको मतलब हामी कहाँ पनि लगानीकर्ताले म्युचुअल फण्ड प्रति लगानिको जागरुकता बढेको देखिन्छ ।

साथै, आगामी वर्षको बजेटले म्युचुअल फण्डलाई कर छुट गरिदिने व्यवस्थाले थप आकर्षण बढेकाे छ ।

अहिले १४ वटा क्यापिटले म्युचुअल फण्ड जारी गरेका छन् , त्यसमध्ये २४ वटा योजनाहरु बजारमा गइसकेका छन् । यसमध्ये अब आरविवि म्युचुअल फण्ड नै किन ? भन्नुहुन्छ भने हाम्रो फण्ड म्यानेजमेन्ट टीम अनुभवि र कुशल हुनुहुन्छ । सुपरिवेक्षक टीममा पनि विभिन्न क्षेत्रको अनुभव बटुलेका विज्ञहरु हुनुहुन्छ । जसले गर्दा कुन क्षेत्र तथा कम्पनीमा बढी लगानी गर्ने, कसरी गर्ने, कुन स्टक बढी होल्ड गर्ने, भन्ने विषयमा निर्णय लिन सजिलो हुन्छ । यसकै आधारमा हामीले लगानीकर्तालाई राम्रो प्रतिफल दिन सक्छौं, त्यसैले लगानीकर्ताले आरविवि म्युचुअलमा लगानी गर्न सक्नुहुन्छ ।

यहाँले राम्रो प्रतिफल भन्नु भयो । राम्रो भन्नाले कस्तो हो ? लगानीकर्तालाई कति दिने प्रक्षेपण गर्नु भएको छ ?
राम्रो प्रतिफल भन्नाले फिक्स्ड डिपोजिटमा भन्दा बढी प्रतिफल दिन्छौं भन्न खोजेको हो । जसले लगानीकर्ता सन्तुष्ट होउन् भन्ने हाम्रो योजना हो ।

यस फण्डमा लगानी गर्ने लगानीकर्ताले पहिलो वर्षदेखि नै लाभांस पाउनु हुनेछ । यससँगै उहाँहरुलाई ७ वर्षमा कूल १२७ प्रतिशत लाभांस दिने हाम्रो प्रक्षेपण रहेको छ । यस अनुसार लगानी गर्ने लगानीकर्ताले पहिलो वर्षमा १० प्रतिशत, दोश्रोमा १३, त्यसपछि क्रमशः १७, १९, २१, २२ गर्दै अन्तिम वर्षमा २५ प्रतिशत लाभांस पाउनु हुनेछ ।

तोकिएको प्रतिफल वितरण गर्ने आधारहरु के छन् ?
आरविवि मर्चेन्ट बैंकिङ्गले कम्पनीको छनौट गर्ने क्रममा विभिन्न कम्पनीहरुको आधारभूत तथा प्राविधिक अनुसन्धान तथा विश्लेषण गरि विभिन्न कम्पनीहरुको वर्गिकरण गर्दछ । यसरि वर्गिकरण गरे पश्चात विभिन्न कम्पनीहरुलाई तयार गरेको कम्पनी ग्रेडिङ्ग पोलिसीको आधारमा, उक्त कम्पनीको शेयरहरुमा लगानी गरिन्छ । योजनाको कम्पनी छनौट गर्ने रणनीतिले विशेष गरि कम्पनीको वित्तीय अवस्था, कम्पनीको व्यवस्थापन, व्यवसायको प्रकृति तथा संस्थागत सुशासनलाई विशेष महत्व दिन्छ ।

क्यापिटलको अबको योजना के कस्ता छन् ?
हाम्रो अबको योजना भनेको यससँगै थप फण्ड निष्काशन तथा बिक्री गर्ने हो । हामीले अहिले एक अर्बको फण्ड जारी गर्दैछौं । यसपछि पुनः बन्दमुखी प्रकृतिको योजना ल्याउने योजना छ । र, उक्त फण्ड बिक्री तथा बाँडफाँड पश्चात पनि पुनः अर्को योजना ल्याउने योजना बनाईरहेका छौं । जुन खुलामुखी प्रकृतिको हो ।

जोखिम कत्तिको देख्नु भएको छ ?
सेयर बजार एउटा जोखिम भएकै क्षेत्र हो, जसलाई कसैले नकार्न सक्दैन । त्यहि जोखिमलाई नै विभिन्न प्रकारका विधिहरु तथा रणनीति प्रयोग गरेर हामीले लगानी गर्छौं ।

जोखिम भएता पनि ती जोखिमलाई न्युनिकरण गरेरै हामीले प्रतिफल दिने प्रक्षेपण गरेका हौं ।

लगानीकर्तालाई के भन्न चाहानुहुन्छ ?
लगानीकर्तालाई म के अनुरोध गर्छु भने हाम्रो यो आरविवि म्युचुअल फण्ड पहिलो योजना हो । यसमा गर्नुभएको लगानीमा राम्रो प्रतिफल पाउनु हुनेछ । नेपाल सरकारको करिब पूर्ण स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैंकको सहायक कम्पनी आरवीवी मर्चेन्ट बैंकिङ्ग हो । त्यसैले पनि यसमा सबैको चासो रहेको हुन्छ भन्नेमा म विश्वस्त छु । हामीले विभिन्न चरणमा विश्लेषण गरेर मात्रै लगानी गर्ने छौं । त्यसैले लगानीकर्ताले कुनै पनि दुविधामा नपरि आरविवि म्युचुअल फण्डमा लगानी गर्नुभयो भने हामीले सन्तुष्टि हुने गरी नै प्रतिफल दिनेछौं ।

आरविवि मर्चेन्ट बैंकिङ्ग बारेमा जानकारी गराइदिनुस् न ?
आरविवि मर्चेन्ट बैंकिङ्ग राष्ट्रिय वाणिज्य बैंकको पूर्ण स्वामित्वमा रहेको संस्था हो । धितोपत्र बोर्डबाट मर्चेन्ट बैंकरको रुपमा स्वीकृति पाप्त गरेको यस संस्था सञ्चालनमा आएको ६ वर्ष पुरा भइसकेको छ । यो अवधिमा हामीले सेयर रजिष्टार, सेयर बिक्री प्रबन्धक, लगानी व्यवस्थापन लगायतका विभिन्न सेवाहरु दिँदै आएका छौं । राष्ट्रिय वाणिज्य बैंकको उच्च व्यस्थापकीय तह नै हाम्रो मर्चेन्ट बैंकिङ्गको बोर्डमा हुनुहुन्छ । उहाँहरुको मार्ग निर्देशनबाट नै मर्चेन्टलाई अघि बढ्न थप सहयोग पुगिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.