मोबाइलको व्यालेन्स बैंकको पैसा जसरी प्रयोग गर्न पाइने, टेलिकमले अघि बढायो प्रक्रिया

  २०७७ भदौ २६ गते १३:२८     नविन पोखरेल

काठमाडौं । तपाईंको मोबाइलमा हजार रुपैयाँ व्यालेन्स छ । तर, खाजा खाने पैसा खाल्तीमा छैन भने मोबाइलको व्यालेन्सबाट तिर्न पाइने गरी खाजा खान पाए हुन्थ्यो भन्ने लाग्दैन ?

अथवा तपाईंलाई पैसाको जरुरी छ । पैसा सापटी दिने वा सहयोग गर्ने मान्छे इन्टरनेटको पहुँचभन्दा बाहिर कुनै स्थानमा छ । उसले मोबाइलमा व्यालेन्स हालिदिन सक्छ । तर, मोबाइलको व्यालेन्स देखाएर तपाईंले न कतै खाजा खान सक्नु हुन्छ, न कतै सपिङ नै ।

मोबाइलमा भएको व्यालेन्स प्रयोग गरेर खाजा खान, सपिङ गर्न, सिनेमा हेर्न तथा अस्पताल तथा शिक्षण शुल्क तिर्न मिल्ने व्यवस्था भए कति सजिलो हुन्थ्यो भन्ने तपाईंलाई लागेको छ ? वा कसैले मोबाइलमा हालिदिएको व्यालेन्स बैंकमा राखेको पैसा जसरी प्रयोग गर्न पाए हुन्थ्यो भन्ने सोचिरहनु भएको त छैन ? यस्तै यस्तै चाहनामा हुनुहुन्छ भने तपाईंको लागि खुसीको खबर छ ।

नेपाल टेलिकमले मोबाइलमा भएको व्यालेन्सलाई बैंकमा जम्मा भएको रकम जसरी नै प्रयोग गर्न पाइने अर्थात क्यास बनाउन पनि पाइने व्यवस्था गर्न लागेको छ । यस्तै, मोबाइलको व्यालेन्सबाट विजुलीको विल, शिक्षण संस्थाको शुल्क तिर्न वा सिनेमा हेर्न पनि प्रयोग गर्न पाइने भएको छ ।

नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले दिएको जानकारी अनुसार अब यही आर्थिक वर्ष भित्रमै तपाईको हातमा कुनैपनि मोवाईल फोन छ भने तपाईले तुरुन्तै फिजिकल क्यास प्राप्त गर्न सक्नु हुन्छ ।

नेपाल टेलिकमले मोबाइल व्यालेन्सलाई फिजिकल क्यास बनाउन मिल्ने गरी नयाँ कम्पनी स्थापना गरेर काम गरिरहेको छ । यसका लागि टेलिकमले नेपाल राष्ट्र बैंकबाट स्वीकृति लिएर नयाँ कम्पनी स्थापना गरिसकेको छ ।

‘हामीले अंग्रेजी नयाँ बर्षबाटै मोवाईलमा भएको व्यालेन्सलाई फिजिकल मनी बनाउन मिल्ने गरी काम गरिरहेका छौं, कोरोना महामारीका कारण केही ढिलाई भएको छ, नेपाली नयाँ वर्षबाट सो सोजना संचालनमा आउँछ,’ प्रबन्ध निर्देशक अधिकारीले विकासन्यूजसँग भने ।

मोवाईलमा रहेको व्यालेन्सलाई फिजिकल क्यासको रुपमा प्रयोेग गर्न सकिने चलन अन्तर्राष्ट्रिय रुपमा चलिआएकै कुरा हो ।

अहिले यस्तो छ, पछि के होला ?

अहिलेसम्म मोवाईलबाट एयर टाइम मात्र ट्रान्सफर गर्न मिल्छ । त्यो भनेको ग्राहकले फिजिकल मनीबाट एयर टाइम किन्यो, अनि त्यसलाई लोड गरेपछि खपत गर्न सकिन्छ । एयर टाइममा डाटा, भ्वाईस, एसएमएसहरु किन्न सकिन्छ । यसरी ग्राहकले आफ्नो व्यक्तिगत प्रयोजनको लागि वा कसैलाई गिफ्ट गर्न मिल्ने व्यवस्था छ ।

टेलिकमले गर्न लागेको नयाँ व्यवस्था अनुसार कुनै पनि मोबाइलमा भएको व्यालेन्सलाई बैंकमा रहेको नगद सरह प्रयोग गर्न मिल्ने हो । बैंकमा रहेको रकम नगदको रुपमा झिक्न पाइन्छ, सपिङ गर्दा कार्डमार्फत तिर्न पाइन्छ वा अरुलाई दिन सकिन्छ । अब मोबाइलमा भएको व्यालेन्स पनि बैंकमा भएको व्यालेन्स जस्तै हुनेछ ।

डिजिटल फाइनान्स कम्पनी

टेलिकमले यसका लागि डिजिटल फाईनान्स कम्पनी स्थापना गरेको छ । नेपाल राष्ट्र बैंकबाट वित्तीय कारोबार गर्न स्वीकृति लिएको यो कम्पनीले नै मोबाइल व्यालेन्सलाई फिजिकल मनीको रुपमा प्रयोग गर्न गराउन मिल्ने प्रबन्ध मिलाउने छ ।

नयाँ कम्पनीले काम सुरु गरेपछि डिपोजिट गर्नेदेखि विभिन्न काममा पैसा प्रयोग गर्न सकिन्छ । त्यसका लागि टेलिकमले कुनै कोड नम्बर प्रदान गर्नेछ । टेलिकमले कम्पनी दर्ता गरिसकेको छ भने काम अघि बढाउनको लागि अन्र्तराष्ट्रियस्तरको टेन्डर समेत आह्वान गरिसकेको छ ।

असोजको पहिलो साता टेन्डर खालेर काम अघि बढाइने प्रबन्ध निर्देशक अधिकारीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.