तत्काल बैंकको व्याज मिनाहा गर्न सकिँदैनः गभर्नर अधिकारी

  २०७७ वैशाख २३ गते १४:३०     विकासन्युज

काठमाडाैं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले तत्काल बैंकबाट प्रवाह हुने ऋणको व्याज मिनाहा गर्न सकिने अवस्था नरहेको बताएका छन् । उनले उद्योगी व्यवसायीले बैंक तथा वित्तीय संस्थाबाट लिने ऋणको व्याजालई मिनाहा गर्न सकिने अवस्था नरहेका बताएका हुन् ।

मंगलबार अर्थ समितिको बैठकमा आगामी मौद्रिक नीति सम्बन्धी छलफलमा सहभागी अधिकारीले व्यवासायीले व्याज मिनाहाको कुरा उठाए पनि त्यसको समाधान तत्काल गर्न नसकिने बताएका हुन् । दैनिक आफुसमक्ष पनि धेरै उद्योगी व्यवसायीले व्याज मिनाहाको माग उठाउने गरेको बताउँदै उनले अहिले त्यसको कार्यान्वयन गर्न कठिन रहेको उनको भनाइ छ ।

‘अहिले ब्याज तिर्नपर्ने तनावमा नपरे हुन्छ, बरु व्याज तिर्ने समय सार्न सकिन्छ,’ उनले भने । वित्तीय क्षेत्रबाट धेरै ऋण लिनेमा ठूला व्यवसायी नै बढी रहेको बताउँदै पाँच करोडभन्दा बढी ऋण लिनेहरु ३६ प्रतिशत र ५० लाखभन्दा थोरै लिने ३४ प्रतिशत रहेको उनले बताए ।

बैंक तथा वित्तीय क्षेत्रले बैशाख २१ गतेसम्म ३६ खर्ब ७८ निक्षेप संकलन गरी ३२ खर्ब ४६ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको उनकाे भनाइ छ ।  उनका अनुसार बैंकिङ क्षेत्रबाट प्रवाहित कर्जा मध्ये कृषि क्षेत्रमा कुल कर्जाको ७.०४ प्रतिशत अर्थात कर्जा प्रवाह २ खर्ब २० अर्ब ४३ करोड रुपैयाँ र उत्पादनमुलक क्षेत्रमा ५ खर्ब ३२ अर्ब ८५ करोड रुपैयाँ प्रवाह भएको छ ।

यस्तै, अर्को वर्ष रेमिट्यान्स र राजस्वका स्रोतहरु घट्दा अर्थतन्त्र अप्ठेरोमा पर्न सक्ने विषयलाई समेत ख्याल गरी मौद्रिक नीति बनाउनुपर्ने उनको धारणा छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.