भारतले प्रतिबन्ध लगाएसँगै नेपालमा बजार खाेज्दै प्लाष्टिक कम्पनी, नेपाल सरकार के गर्ला ?

  २०७६ पुष ८ गते १८:०४     सन्ताेष राेकाया

काठमाडाैं । भारत सरकारले देशव्यापी रुपमा प्लाष्टिक झोला उत्पादनमा प्रतिबन्ध लगाएसँगै भारतीय प्लाष्टिक उत्पादन कम्पनीहरु नेपालमा व्यापार खोज्न थालेका छन् । भारत सरकारले देशभर प्लाष्टिक झोला बन्देज गर्ने लक्ष्य लिएसँगै उनीहरु आफ्नो बजार खोज्न नेपाल आउन थालेका हुन् ।

भारत सरकारले सन् २०२२ मा भारतमा सिंगल प्लाष्टिक झोला समाप्त गर्ने लक्ष्य लिएको छ । भारत सरकारले यस वर्षदेखि देशब्यापी रुपमा प्लाष्टिक प्रतिबन्ध गर्ने योजना बनाएको हो । भारत सरकारले विदेशबाट आयात हुने प्लाष्टिकमा समेत रोक लगाएको छ ।

भारतमा प्लाष्टिक उत्पादन र आयातमा रोक लगाएसँगै प्लाष्टिक सम्बन्धि काम गर्ने भारतीय उद्योग तथा कम्पनीहरु नेपाली बजारमा सलबलाउन थालेका हुन् । गत शुक्रबारदेखि आइतबारसम्म काठमाडौंमा भएको फाइभ पी (प्लाष्टिक, पेपर, प्रिन्टिङ, प्याकेजिङ र प्रोसेसिङ) प्रदर्शनी मेलाले पनि भारतीय प्लाष्टिक उत्पादन कम्पनीहरु नेपालमा जुर्मुराएको बुझ्न सकिन्छ ।

काठमाडौंको भृकुटीमण्डपमा तीन दिनसम्म चलेको प्रदर्शनी मेलामा भारतीय प्लाष्टिक कम्पनीहरुको बाक्लो उपस्थिती रहेको थियो । उक्त कार्यक्रममा नेपाल चेम्बर अफ कमर्स प्रदेश तीनको सहकार्यमा पीएचडी चेम्बर अफ कमर्स भारतले आयोजना गरेको थियो ।

प्लाष्टिकजन्य वस्तुलाई प्रवद्र्धन तथा विक्री वितरणका लागि नेपालमै भारतले फाइभ पी एक्सपो आयोजना गरेर धेरै ग्राहकहरुलाई आफ्नो उत्पादनमा जानकारी पनि गराएको छ ।

कार्यक्रममा पीएचडी चेम्बर अफ कमर्सका प्रिन्सिपल डाइरेक्टर नवीन सेथले नेपाल सार्क क्षेत्रमा द्रुत गतिमा बढिरहेको प्रमुख बजार भएकाले यस प्रदर्शनीले हजारौं संख्यामा रहेका प्लास्टिक, पेपर खरिदकर्ता र यसै क्षेत्रका निर्णयकर्ताहरूलाई एकै ठाउँमा उभ्याउँदै पेपर, प्रिन्टिङ, प्याकेजिङ र प्रोसेसिङका खरिदकर्ताबीचको सिधा सम्पर्क प्रवर्द्धन गर्ने बताएका थिए ।

तर नेपालले पनि प्लाष्टिक मुक्त गर्ने लक्ष्य लिएको छ । विदेशी प्लाष्टिक कम्पनीहरू नेपालमा छिरेसँगै नेपालले लिएकाे लक्षयमा धक्का लाग्ने पक्का छ । कार्यक्रमको कोर्डिनेसनको भूमिकामा रहेको मिडिया स्पेसका प्रबन्ध निर्देशक सृजल भट्टराईले नेपालमा आएका सबै प्लाष्टिक कम्पनीहरु रिसाइक्लिङ गर्न सकिने भएकोले यसले वातावरणलाई असर नगर्ने बताए ।

‘कुन प्लास्टिक रिसाइक्लिङ गर्न मिल्ने र कुन नमिल्ने भन्ने कुरामा ध्यान दिनुपर्छ, नेपालमा आएका सबै कम्पनीहरु उद्योगहरुलाई चाहिने सामान उत्पादन गर्नेवाला हुन्, हामीले सरकारले गरेको निर्णय वेवास्ता गर्न पनि मिल्दैन, सबै प्लाष्टिक नराम्रो भन्न मिल्दैन,’ उनले भने ।

प्रदर्शनी मेलामा क्यारी ब्याग उत्पादन, प्रिन्टिङ तथा रिसाइक्लिङ गर्ने कम्पनीहरु सहभागी थिए । लाखदेखि करोडसम्मका मेसिनहरु प्रदर्शनीमा राखिएका थिए । भारतमा प्लाष्टिक बन्देज भएसँगै पहिलाे पटक उनीहरू व्यापार प्रवर्द्धनका लागि नेपाल छिरेका हुन् ।

नेपाल सरकारले के गर्ला ?

नेपाल सरकारले २०७१ मा प्लाष्टिक झोलामा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । यसको कार्यान्वयनमा सरकार र प्लाष्टिक झोला व्यवसायीहरुको आ-आफ्नै सिद्धान्तबिचको लडाई माझ रुमल्लिन् पुगेको छ ।

सरकारले उक्त निर्णय अनुसार २०७२ बाट लागु हुनेगरी काठमाण्डौ उपत्यकामा ४० माईक्रोन मोटाई भन्दा कममा प्लाष्टिकका झोलाहरुमा प्रतिबन्ध लगाएको थियो । प्लाष्टिकको अत्याधिक प्रयोगले वातावरणलाई प्रदूषित र दुर्गन्धित बनाएको सरकारी ठम्याइ थियो । तर यसको कार्यान्वयन भने हुन सकेको छैन ।

विभिन्न समयमा राष्ट्रियसभा सदस्यहरूले बैठकमा प्लाष्टिकका झोला प्रयोगमा लगाईएको प्रतिबन्ध कार्यान्वयन नभएको सम्बन्धमा सरकारको ध्यानाकर्षण गराउँदै आएका छन् । तर सरकारले त्यसप्रति कुनै ध्यान दिएको छैन । बरु विदेशी प्लाष्टिक उत्पादन गर्ने कम्पनीहरु सल्बलाउन थालेका छन् । नेपालमा करिब चार सय प्लास्टिक उद्योग छन्, तीमध्ये कुनैले प्लास्टिक उत्पादन बन्द भइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.