एक खर्ब ६ अर्बकाे सेयर काराेबारमा अनलाइनबाट १६ अर्ब ५४ करोड मात्रै

  २०७६ कार्तिक २२ गते १३:५१     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा गत एक वर्षमा कूल एक खर्ब ६ अर्ब ९ करोड ३४ लाख १८ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जसमध्ये अनलाइनबाट १६ अर्ब ५४ करोड ८२ लाख ९ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।  उक्त रकम कूल कारोबारको १५.६ प्रतिशत हाे ।

नेप्सेका अनुसार २०७५ कात्तिक २० गतेदेखि २०७६ कात्तिक १९ गतेसम्मकाे अवधिमा कूल १६ हजार २३४ जनाले इन्टरनेट अर्थात अनलाइन कारोबार प्रणाली(नट्स)मार्फत सेयर खरिदबिक्री गरेका छन् ।

एक वर्षकाे अवधिमा कूल २४२ दिन मात्र सेयर कारोबार भएको थियो । जसमा कूल १५ लाख २४ हजार ०१४ पटक भएकोे कारोबारमा ३७ करोड १२ लाख ५७ हजार ९८८ कित्ता सेयर किनबेच भएको छ । जसमध्ये अनलाइनबाट मात्रै ३ करोड १३ हजार १९७ पटकमा ५ करोड ८७ लाख २१ हजार ६४९ कित्ता सेयर बिक्री भएका छन् । बाँकी ३१ कराेड २५ लाख ३६ हजार ३३९ कित्ता सेयर ब्रोकर कम्पनीमार्फत किनबेच भएकाे छ ।

नेप्सेले दिएको सूचना अनुसार १२ दिन सय करोडभन्दा बढी र एक दिन मात्र २ सय करोडभन्दा बढी सेयर कारोबार भएको छ । त्यस्तै, कारोबार संख्या २३ दिनमा १० हजारभन्दा बढी र एक दिन मात्र २० हजार भन्दा बढी भएको छ । सो अवधिमा सबैभन्दा बढी अर्थात उच्च कारोबार रकम २० करोड रुपैयाँ रहेको नेप्सेले जनाएको छ ।

नेप्सेले २०७५ कात्तिक २० गतेदेखि पूर्ण स्वचालित अनलाइन कारोबार प्रणाली(नट्स) सञ्चालनमा ल्याएको थियो । दोस्रो बजार कारोबारमा लगानीकर्ताको सहभागितालाई प्रोत्साहन गर्न ल्याएको उक्त प्रणाली सञ्चालनमा आएको एक वर्ष पुरा भएको छ ।

इन्टरनेटको माध्यमबाट जुनसुकै ठाउँबाट सेयर खरिद बिक्री गर्न सकिने भएपछि देशविदेशबाट लगानीकर्ताहरुले सेयर कारोबारमा सहभागिता जनाएका नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.