दुई महिनामै २८ अर्ब ३६ करोडको धितोपत्र थपियो, आईपीओ मात्रै २० अर्बको

  २०७६ कार्तिक ६ गते १८:०३     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्षको प्रथम दुई महिनामा नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा २८ अर्ब ३८ करोड रुपैयाँ बराबरको धितोपत्र थपिएको छ । गत साउनदेखि भदौ मसान्तसम्ममा साधारण सेयर(आईपीओ), बोनस, हकप्रद, डिबेन्चर र अन्य सेयर गरी सो मात्राको सेयर नेप्सेमा सूचीकृत भएको हो ।

जसमध्ये सबैभन्दा बढी आईपीओ सूचीकृत भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७६/७७ को दुई महिनामा नेप्सेमा २० अर्ब ९४ करोड रुपैयाँ बराबरको आईपीओ थपिएको हो ।

त्यस्तै, चार अर्ब ४८ करोड रुपैयाँ बराबरको बोनस र एक अर्ब ४५ करोड रुपैयाँ बराबरको हकप्रद सेयर थपिएको छ । त्यसैगरी, साउन र भदौमा गरी ३५ करोडको डिबेन्चर(ऋणपत्र) र एक अर्ब १४ करोडको अन्य धितोपत्र नेप्सेमा सूचीकृत भएको हो । उक्त अवधिमा नेपाल धितोपत्र बोर्डले विभिन्न बैंकहरुलाई एक अर्ब ८० करोड बराबरको ऋणपत्र निष्काशनको अनुमति दिएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार भदौ मसान्तमा सूचीकृत ४ अर्ब ३७ करोड सेयरको चुक्ता मूल्य ४२८ अर्ब ५० करोड रुपैयाँ रहेको छ । सो अवधिसम्म नेप्सेमा सूचीकृत कम्पनीको संख्या २१८ पुगेको छ । जुन अघिल्लो वर्षको सो अवधिको तुलनामा २२ वटा बढी कम्पनी थपिएका हुन् । २०७५ भदौमा सूचीकृत कम्पनीको संख्या १९६ रहेको थियो ।

सूचीकृत कम्पनीमध्ये १५५ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ३२ जलविद्युत् कम्पनी, १९ उत्पादन र प्रशोधन उद्योग, ४/४ होटल तथा व्यापारिक संस्था र ४ अन्य समूहका रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.