२०७६ भदौ २६ गते १०:३७ विकासन्युज
काठमाडौं । धितोपत्र बजारमा इन्साइडर ट्रेडिङ(भित्री कारोबार) गर्नेमाथि सरकार कठोर देखिएको छ । अर्थ मन्त्रालयले संसदमा दर्ता गराएको धितोपत्र सम्बन्धि ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकमा हाल रहेको जरिवानालाई १० गुणासम्म र दण्ड सजायलाई तीन गुणासम्म बढाउने प्रस्ताव गरेको हो ।
विद्यामान ऐनमा इस्साइडर ट्रेडिङ गर्नेलाई बिगो बराबरको जरिवाना वा एक वर्षसम्म कैद वा दुबै सजाय हुने व्यवस्था छ । प्रस्तावित विधेयकमा बिगो नखुलेमा एक लाखको ठाउँमा १० लाख र एक वर्ष दण्ड सजायको ठाउँमा तीन वर्ष तोकिएको हो । बिगो खुलेको अवस्थामा भने बिगो बमोजिमको जरिवाना र तीन वर्षसम्म कैद वा दुबै सजाय हुने प्रस्ताव गरिएको छ ।
कानुन मिचेर झुटो कारोबार गरेमा, मूल्यमा उतार चढाव गरी धितोपत्र बजारलाई प्रभावित पारेमा ५० हजार रुपैयाँदेखि एक लाख पचास हजार रुपैयाँ जरिवाना वा एक वर्ष कैद वा दुबै सजायको सट्टामा बिगो नखुलेमा एक लाख ५० हजार रुपैयाँदेखि ४ लाख ५० हजार रुपैयाँसम्म जरिवाना वा ३ वर्ष कैद वा दुबै सजाय हुने व्यवस्था प्रस्तावित विधेयकमा गरिएको छ । यदि बिगो खुलेको अवस्थामा भने बिगो भराइ बिगो बमोजिमको जरिवाना वा ३ वर्ष कैद वा दुबै सजाय प्रस्तावको लागि पेश भएको छ ।
अर्थमन्त्री डा. युवराज खतिवडाले ऐन संशोधनका लागि संसद्मा दर्ता गरेको उक्त विधेयकमा झुक्याउने विवरणहरू दिने, जालसाजीयुक्त कारोबार गर्ने, जालसाज गरी वा झुक्याउने हिसावले धितोपत्र कारोबार गरेमा वा लिखत, विवरण वा अभिलेख नष्ट गरेमा वा लुकाएमा एक लाख रुपैयाँदेखि तीनलाख रुपैयाँसम्म जरिवाना वा दुई वर्षसम्म कैद वा दुबै सजाय हुनेछ भन्ने शब्दमा बिगो नखुलेमा ३ लाख रुपैयाँदेखि ५ लाख रुपैयाँसम्म जरिवाना र ६ वर्षसम्म कैद वा दुबै सजायको प्रस्ताव गरिएको छ । यदि बिगो खुलेकोमा बिगो भराइ बिगो बमोजिम जरिवाना र ६ वर्षसम्म कैद वा दुबै सजाय हुन सक्ने व्यवस्था गरिएको छ ।
कसैले जानी वा बदनीयत साथ यो ऐन वा यस ऐन अन्तर्गत बनेका नियम वा विनियम बमोजिम राख्नु, बनाउनु, तयार गर्नु वा पेश गर्नुपर्ने हिसाव किताव, खाता, विवरण, प्रतिवेदन, सूचना, जानकारी वा यस्तै कुनै कागजात पेश गर्नुपर्ने समयमा पेश नगरेमा, नबाएमा वा तयार नगरेमा एक लाख ५० हजार रुपैयाँदेखि ६ लाख रुपैयाँसम्म जरिवान राखिएको छ ।
सरकारले जारी गरेका नीति नियम, निर्देशन वा आदेशको बर्खिलाप काम गरी संगठित संस्था, धितोपत्र बजार तथा व्यवसायी वा लगानीकर्तालाई हानी नोक्सानी हुने गरमो वा गराएमा बोर्डले त्यस्तो व्यक्तिलाई ५ लाख रुपैयाँदेखि १५ लाख रुपैयाँसम्म जरिवानाको व्यवस्था प्रस्तावित विधेयकमा उल्लेख गरिएको छ । यस्तो कसुरमा अहिले ५० हजार रुपैयाँदेखि एक लाख ५० हजारसम्म जरिवानाको व्यवस्था गरिएको थियो ।
ऐन बमोजिम रित नपुर्याई धितोपत्र निष्कासन गरेमा, धितोपत्र बजार वा धितोपत्र व्यवसायीको हैसियतले धितोपत्र कारोबार संचालन गरे /गराएमा त्यस्तो काम गर्ने व्यक्तिलाई बोर्डले ५० हजार रुपैयाँदेखि एक लाख ५० हजार रुपैयाँ जरिवाना गर्नुको यो सजाय वा जरिवानालाई बढाएर एक लाख ५० हजारदेखि ४ लाख रुपैयाँसम्म पुर्याएको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.