३५ लाख पर्यटक, दैनिक खर्च सय डलर र ४ लाख ९० हजारलाई रोजगारी

  २०७६ जेठ २६ गते १९:४९     विकासन्युज

काठमाडौं । सरकारले नेपाल भ्रमण वर्ष २०२० घोषणा गरेर पर्यटन प्रवद्र्धन र पूर्वाधारहरुको निर्माण गरिरहेको छ । स्थापित गन्तव्यहरुको प्रचार प्रसारका साथमा उदियमान १ सय नयाँ गन्तव्यहरुमा पूर्वाधार निर्माण लगायतका काममा सरकारले बिशेष ध्यान दिएको छ । २० लाख पर्यटक भित्र्याउने योजनासहित अघि बढेको सरकारले आगामी पाँच बर्षछि ३५ लाख पर्यटक नेपाल भित्र्याउने अर्काे महत्वकांक्षी योजना अघि सारेको छ ।

१५ औं पञ्च वर्षिय योजना मार्फत सरकारले आगामी पाँच बर्षपछि नेपाल आउने पर्यटकहरुको संख्या बार्षिक ३५ लाख पुर्याउने लक्ष्य निर्धारण गरेको हो । पाँच वर्षमा नेपालको पर्यटन क्षेत्रमा ४ लाख ९० हजार रोजगारी सृजना हुने प्रक्षेपण समेत गरिएको छ । हाल पर्यटन क्षेत्रमा प्रत्यक्ष रुपमा ३१ हजार रोजगारी सृजना गरेको सरकारी तथ्यांक छ ।

सरकारले हवाई पूर्वाधारहरुको निर्माण, पर्यटकिय क्षेत्रको प्रवद्र्धन, प्रदेश र स्थानीय तहहरुमा मार्फत पर्यटन क्षेत्रमा लगानी अभिवृद्धि, निजी क्षेत्रलाई प्रोत्साहन लगायतका योजना अघि सारेको छ । एक जना विदेशी पर्यटकको नेपाल बसाई औषतमा १३ दिन रहेको छ । पर्यटकले नेपाल बसाईका क्रममा दैनिक औषतमा ५४ अमेरिकी डलर मात्रै खर्च गरिरहेको छ ।

सरकारले पाँच बर्षपछि पर्यटकको नेपाल बसाई औषत बसाई १५ दिन पुर्याउने र दैनिक खर्च बढाएर एक सय डलर पुर्याउने लक्ष्य पनि निर्धारण गरेको छ । त्यसका लागि नेपालका पर्यटकिय गन्तव्यहरुको थप व्यवस्थापन, प्रचार प्रसार, पर्यटन प्याकेज निर्माण, गुणस्तरीय सेवा लगायतका काममा ध्यान दिने सरकारी योजना रहेको छ । नेपाल भ्रमण वर्ष घोषणा गरेको भएपनि पर्यटन मन्त्री रबिन्द्र अधिकारीको मृत्युपछि अभियान सुस्ताएको आरोप लागिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.