२०७६ जेठ २६ गते ९:२५ विकासन्युज
काठमाडौं । सरकारले साढे ३ लाख मुक्त हलिया र मुक्त कमैयालाई लाल पूर्जा वितरण गर्ने भएको छ । सरकारले आगामी पाँच वर्षभित्र ३ लाख ४४ हजार ४ सय मुक्त कमैया र मुक्त हलियालाई जग्गा धनी लालपुर्जा वितरणको योजना बनाएको हो । १५ औं पञ्च वर्षिय योजना मार्फत ३ लाख ४४ हजार ४ सय परिवार मोही, मुक्त कमैया र मुक्त हलियालाई जग्गा उपलब्ध गराउन लागेको हो ।
सरकारले ३ लाख मोही, २७ हजार ५ सय मुक्त कमैंयाँ, १६ हजार ९ सय मुक्त हलियालाई जग्गा धनी लालपुर्जा दिने लक्ष्य निर्धारण गरेको छ । सरकारी तथ्यांक अनुसार हालसम्म २७ हजार मुक्त कमैया र ७ हजार मुक्त हलियाको पुनर्बासको व्यवस्था गरिसकेको सरकारले जनाएको छ । उनीहरुलाई घडेरीसहित व्यवस्थित आवासमा पुनस्थापना गरिएको छ ।
सुकुम्बासीबारे मौन !
सरकारले सुकुम्बासी समस्या समाधान गर्ने भनेपनि उनीहरुका लागि जग्गा वा घर के उपलब्ध हुने हो त्यो भने स्पष्ट पारेको छैन् । २०७१ सालमा गठिन सुकुम्बासी आयोगमा ८ लाख ६१ हजार ३ सय १७ परिवारले सुकुम्बासीले फारम भरेका थिए ।
पञ्च वर्षिय योजनामा ‘भूमिहिन दलित, कृषक, सुकुम्बासी, मोही तथा गुठी किसान, अव्यवस्थित बसोबासी लगायत सिमान्तकृत वर्गको भूमिमाथीको अधिकार र पहुँच सुनिश्चित गर्ने’, भनिएको छ । मुक्त हलिया र कमैयालाई जग्गा तथा आवासको व्यवस्था गर्ने भनिए पनि सुकुम्बासीका हकमा भने ठोस केहि उल्लेख गरिएको छैन् ।
उत्पादन बढाउन भूमि बैंक
सरकारले कृषि क्षेत्रको उत्पादकत्व अभिवृद्धिका लागि भूमि बैंकको अवधारणा कार्यान्वयनमा ल्याउने पनि बताएको छ । त्यस्तै, औद्योगीक विकास र सार्वजनिक निर्माणका लागि आवश्यक जग्गा प्राप्ति गर्न नीतिगत सुधार गर्ने योजना पनि सरकारले बनाएको छ ।
चीनीयाँ सिमा डिजटल भयो भारतसँग बाँकी
सरकारले चीनसँगको सिमालाई डिजिटल बनाउने काम सम्पन्न भएको बताएको छ । तर भारतसँग भने ९८ प्रतिशत मात्रै काम सम्पन्न भएको बताएको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.