परिवार नियोजन सन्तानको रहर पुगेकालाई मात्र लक्षित गरिदैन : कबिता अर्याल

  २०७५ असोज ४ गते १२:३०     विकासन्युज

कबिता अर्याल – कम्युनिटी नर्सिङ प्रशासक

नेपालको जनसंख्या वृद्धिदरमा कमी आएपछि सरकारले परिवार नियोजन कार्यक्रमलाई त्यति महत्व दिएको छैन् । राष्ट्रिय परिवार नियोजन संघले आफनो तहबाट कार्यक्रम अघि बढाइरहेको छ । संघले परिवार नियोजनसंग सम्बन्धित जनचेतना बढाउन कार्यक्रम लिएर जाने तयारी समेत गरेको छ । संघको भावी योजनको विषयमा केन्द्रीत रहेर कम्युनिटी नर्सिङ प्रशासक कबिता अर्यालसँग गरिएको कुराकानी ।

यस वर्षको परिवार नियोजनका नारा के छन ?

विगत ५ वर्षदेखी हामीले राष्ट्रिय परिवार नियोजन सेवा दिवस मनाईरहेका छौ । पछिल्लो ४ बर्षसम्म एउटै नाराका साथ परिवार नियोजनका कार्यक्रमहरु अगाडि बढिरहेको थियो । हामीले नेपालमा परिवार नियोजन सेवामा लामो समयदेखी काम गरेपनि यसको वकालत गर्न राष्ट्रिय परिवार नियोजन सेवा दिवस मनाउँदै आएको हो । सुरुवाती दिनको हाम्रो नारा ’व्यवस्थित परिवार स्वास्थ्य र बिकासको आधार’ रहेको थियो ।
परिवार नियोजन सेवाको फोकश किशोर र किशोरी नै हो । हामीले यसबर्ष किशोर र किशोरीको सहभागीतामा परिवार नियोजन सेवाको सुनिश्चितता’ भनेर कार्यक्रम ल्याएका छौ । यो कार्यक्रम हामीले संघीय स्तरमा मात्र नभएर स्थानीय तहमा पनि परिवार नियोजन सेवाको वकालत पुगोस भनेका छौं ।

परिवार नियोजनको विषयमा कति चेतना आएको छ ?

परिवार नियोजनको सेवालाई व्याख्या गर्दा हिजोको दिनमा परिवार नियोजन भन्दा जनमानसको बुझाई बिहे गर्यो, बच्चा जन्मायो र सन्तानको रहर पुगिसकेपछि मात्र परिवार नियोजनको साधन प्रयोग गर्ने भन्ने थियो । तर आज त्यसलाई हामीले परिवर्तन गरिरेहेका छौ । यसकारणले गर्दा परिवार नियोजन सन्तानको रहर पुगेकालाई मात्र लक्षित गरिदैन । यो एउटा किशोर÷किशोरीको समुहदेखी सन्तानको रहर पुगेको समुह सम्मलाई लक्षित गर्छ । परिवार नियोजन बिकासको पनि मुद्दा हो । यो मानव अधिकार पनि हो । हाम्रो संविधानले पनि महिलाको प्रजनन् स्वास्थ्य अधिकारको रुपमा व्याख्या गरिसकेको छ ।

परिवार नियोजनले के कस्ता सेवा दिदै आईरहेको छ ?

हाम्रो अहिले प्रत्येक स्वास्थ्य संस्थाबाट पाँच वटा परिवार नियोजनका साधनहरु उपलब्ध छन् । यी अस्थायी साधनहरु हुन् । यसमा कन्डम, पिल्स, डिपो प्लोभेरा,ईम्प्लान्ट,आईयुसीडी पर्छन । परिवार नियोजन सेवालाई यहाँसम्म ल्याउनलाई धेरै समयदेखी सरकारको लगानी छ । यो एकदमै भरपर्दो लगानी हो । २०३० सम्म हामीले परिवार नियोजनलाई सबैको पहुँचमा पुर्याउने छौं ।

किशोर र किशोरीमा परिवार नियोजन साधनबारे चेतनाको स्तर कत्तिको पाउनुभयो ?

किशोर र किशोरीको परिवार नियोजनको ज्ञान हेर्ने हो भने ९९.९ प्रतिशत देखिन्छ । तर अभ्यासमा केही कमी देखिन्छ । अभ्यासको ग्याप लगभग ४० प्रतिशतभन्दा कम छ । अहिले हाम्रो नियोजनको सेवाको स्थिति विश्लेषण गर्दा हामीसँग १०० जना महिलामा ७६ प्रतिशत महिलालाई मात्र परिवार नियोजन सेवाको आवश्यक हुन्छ । अहिलेको प्रयोग दर हेर्ने हो भने ५३ प्रतिशत मात्र रहेको छ । त्यसभित्र पनि ६९ प्रतिशत मात्रा उक्त साधनबाट सन्तुष्ट छन् ।

गाउँघरमा परिवार नियोजनको साधनको प्रयोग किन कम हुन्छ ?

गाउँमा भौगोलिक विकटताले पनि सेवा दिन गार्हो भईरहेको छ । हाम्रो समाजमा सांस्कृतिक बाधाहरु छन् साथै हाम्रा जति पनि सामाजिक बाधाहरु छन् त्यो गाउँघरमा बढी देखिन्छ । त्यसकारण हामीलाई गाउँघरमा पनि सम्बोधन गर्नु गार्हो भईरहेको छ । गाउँघरमा परिवार नियोजनको साधन कम प्रयोग हुन्छ ।

हाम्रो समुदायमा छिट्टै बिहे गर्न चलन रहेको छ । सरकारले २० बर्ष उमेर तोके पनि अझै पनि धेरै किशोर र किशोरीहरु १६ देखि १७ को उमेरमा बिहे गर्छन् । नेपालको धेरै जस्तो समुदायमा बिहे गरेको १/२ बर्षमै बच्चा पाउनुपर्छ भन्ने मान्यता छ । बिहे गरेको १/२ बर्ष बच्चा नहुँदा समाजमा मानिसहरु कुरा काट्न थाल्दछन्।

अझै पनि धेरै समुदायहरु छन् जहाँसम्म हाम्रो पहुँच पुग्न सकिरहेको छैन । यसले पनि परिवार नियोजनको बारेमा अनविज्ञ छन् । यदि अबको दिनमा हामीले त्यस्ता समुदायलाई छुन सक्यौँ भने पक्कै पनि परिवार नियोजनको ठुलो उपलब्धी हाँसिल गर्न सफल हुन्छौ।

किशोर र किशोरीलाई ज्ञान मात्र नभएर अब व्यबहारमा उतार्नको लागि तपाईहरुको प्रयास के हुनेछ ?

हामीहरुले सर्वप्रथम त किशोर र किशोरीलाई नै लक्षित गरेर कार्यक्रम शुरु गर्दैछौँ । हाम्रो समाजमा सेवा दिँदा पनि सेवा लिन आउने किशोर र किशोरी सबैले छक्क परेर हेर्ने गर्छन् । तर यो सेवा चाँही हामीले किशोर र किशोरीहरुलाई यो तिमीहरुको अधिकार हो भन्न बुझाउन कार्यक्रम लिएर जाने तरखरमा छौँ । यो संविधानले दिएको कुरा पनि हो र अबको दिनमा हामी यसैमा केन्द्रित भएर कार्यक्रमहरु ल्याउनेछौं । प्रत्येक स्वास्थ्य संस्थालाई किशोर र किशोरीमैत्री वातवरण बनाउन लागि परिरहेका छौँ ।

त्यस्तै, एउटै मोडलले मात्र उनीहरुमा पुग्न नसकिने हुनाले हामीले स्कुलमा पनि “एक विद्यालय,एक नर्स” को पोलिसीलाई कार्यान्वयन गर्न तिर लागिरहेका छौँ । विद्यालयमै स्वास्थ्यकर्मी भए पक्कै पनि किशोर किशोरीका समस्यालाई त्यहाँ परामर्श दिन सकिन्छ । सरकारको त्यसतर्फ पनि ध्यान आकर्षण भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.