कृषि विकास बैंकको सञ्चालक समिति बैध कि अबैध ? राष्ट्र बैंक पनि अनिर्णित

  २०७५ जेठ १५ गते १४:३३     विकासन्युज

काठमाडौं । कृषि विकास बैंकको वर्तमान सञ्चालक समिति बैध कि अबैध ? उसले गरेका निर्णय बैध हुने कि अबैध ? सोमबार नेपाल राष्ट्र बैंकको सञ्चालक समितिमा गम्भिर छलफल भयो । तर राष्ट्र बैंक आफैं पनि निर्णयमा पुग्न सकेन ।

‘कृषि विकास बैंकको सञ्चालक समिति सम्बन्धि विवादमा गम्भिर कानुनी गाँठो परेको छ । त्यो विषयमा राष्ट्र बैंक सञ्चालक समितिमा सोमबार छलफल भयो । तर निर्णय भने केही हुन सकेन’ राष्ट्र बैंकका एक सञ्चालकले विकासन्युजसँग भने ।

सञ्चालक समिति

बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन २०७३ (बाफिया) लागू भएको २ वर्ष भईसक्यो । उक्त ऐनले बैंक तथा वित्तीय संस्थाको सञ्चालक समिति बढीमा ७ सदस्यीय हुने किटानी गरेको छ ।

सोही ऐन अनुसार गत फागुन २९ गते सम्पन्न कृषि विकास बैंकको साधारणसभाले प्रबन्धपत्र र नियमाली संशोधन गरी सञ्चालक समिति ७ जनाको मात्र हुने व्यवस्था गरेको थियो । बाफिया र साधारणसभाको निर्णयका आधारमा अर्थमन्त्रालयले सञ्चालक चन्द्रबहादुर अधिकारीलाई पद मुक्त गर्यो । उनलाई मन्त्रालयले नै सरकारी लगानीको प्रतिनिधिको रुपमा सञ्चालक नियुक्त गरेको थियो ।

चन्द्रबहादुर अधिकारी

यी सबै विधि, प्रक्रिया र निर्णयपछि पनि कृषि विकास बैंकको सञ्चालक समिति ७ सदस्यीय हुन सकेन । पद मुक्त गरिएका अधिकारीले सर्वोच्च अदालतमा मुद्दा दायर गरे । अदालतले उनकै पक्षमा फैसला गर्यो । सञ्चालक समिति ८ सदस्यीय भएको छ ।

८ जनाको सञ्चालक समितिको बैठक बस्ने कि नबस्ने भन्ने विवादले कृषि विकास बैंकमा गत चैत र बैशाख दुई महिनामा एउटा पनि बैठक बस्न सकेन । अन्ततः कानुनको व्याख्या गर्ने सर्बोच्च अदालतको निर्णय अनुसार नै ८ जना सञ्चालक समितिको बैठक बस्न थालेको छ । निर्णयमा आठै जना सञ्चालकहरुले हस्ताक्षर गर्दै आएका छन् ।

‘बाफियाले ७ जना सञ्चालक हुनुपर्छ भनेको छ । सोही अनुसार साधारणसभाले पनि प्रबन्धपत्र, नियमावली संशोधन गरेर ७ जनाको सञ्चालक समिति बनाएको हो । तर सर्वोच्च अदालतको निर्णयको पनि परिपालना गर्नै पर्यो’ बैंकका प्रमुख कार्यकारी अधिकृत लिलाप्रकाश सिटौलाले भने–‘राष्ट्र बैंकले स्थलगत अध्ययन गरेको छ । उसले प्रस्टीकरण माग्न सक्छ । हामीले पनि अदालतको आदेश अनुसार जवाफ पेस गर्नुपर्ला ।’

वर्तमान बैंक सञ्चालक समितिले गरेका निर्णय विरुद्ध उजुरबाजुर भयो, बैंक सञ्चालनमा अप्ठ्यारो पर्यो भने के गर्ने ? भन्ने विकासन्युजको प्रश्नमा सिटौलाले भने- ‘हामी त्यस्तो नहोला भन्नेमा आशावादी छौं । कानुनी विवाद भयो भने अदालतले जे निर्णय गर्छ, त्यही हुन्छ ।’

बैंकमा अहिलेको समस्या आगामी सात महिनासम्म रहने भएको छ । सञ्चालक चन्द्रबहादुर अधिकारीको कार्यकाल आगामी मंसिरमा सकिने भएकोले त्यसपछि भने ७ जनाको सञ्चालक समिति रहने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.