साउदी जेलमा बन्दी रहेका प्रेमबहादुर राईलाई छुटाउन प्रधानमन्त्रीले दिए ३० लाख रुपैयाँ

  २०७५ वैशाख २१ गते १६:५३     विकासन्युज

काठमाडौं । २ वर्ष देखि साउदी जेलमा बन्दीजीवन बिताइरहेका प्रेमबहादुर राईको रिहाइको सहयोगार्थ उठेको रकम प्रधानमन्त्री केपी शर्मा ओलीले परिवारका सदस्यहरुलाई हस्तान्तरण गरेका छन् । यातायात दुर्घटनामा जेल परेका राईलाई साउदीअदालतले तोकेको जरिवाना तिर्न नसकेपछि उनले २ वर्ष देखि बन्दी जीवन बिताइरहेका थिए ।


इन्द्रेणी कार्यक्रमले संकलन गरेको ३० लाख ९ हजार ४७ रुपैयाँ नगद प्रधानमन्त्री ओलीले प्रेमबहादुर राईकी धर्मपत्नी सरिता राईलाई प्रदान गरेका हुन् । प्रधानमन्त्री निवास बालुवाटारमा राईको परिवार र इन्द्रेणी सांगीतिक समूहसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले जेल प्रेमबहादुरको जेल मुक्तिकालागि साउदी सरकारसँग कुरा गर्ने बताएका छन् ।

सो अवसरमा प्रधानमन्त्री ओलीले विश्वको अन्य देशका नागरिक र नेपाली नागरिक विदेशिनु पर्ने कारण फरक रहेको बताए । नेपाली नागरिक विदेशिने तरिका डरलाग्दो रहेको उनले बताए।

‘अरु देशका नागरिक फरक तरिकाले विदेश जान्छन् । हामी जस्तो प्रकारले विदेशगएका छौं, त्यो डरलाग्दो छ । गरिवी र दुःख हटाउन जान्छौं, त्यसमाथि ठगिन्छौं । अज्ञानता र सोझोपनको शिकार हुन्छौं र झन् दुःख पाउँछौं ।’ प्रधानमन्त्री ओलीले भने, ‘हाम्रो राष्ट्रको ढुकुटीको अवस्थात्यति राम्रो छैन, तर अब हामीले हाम्रै देशमा उत्पादन बढाउनु छ, उद्योग खोल्नु छ, यहिँ रोजगारी रिर्जना गर्नुछ । त्यसका लागि यो सरकार बनेको हो ।

नेपालीहरुलाई स्वदेशमै रोजगारी दिलाउन र गरिवी हटाउन आफ्नो नेतृत्वमा सरकार बनेको ओलीले बताए ।
विदेशमा बन्दी जीवन बिताइरहेका नेपालीको उद्धारका लागि सहयोग संकलन गरेकामा इन्द्रेणी सांगीतिक कार्यक्रमको टोलीलाई प्रधानमन्त्री ओलीले धन्यवाद दिएका छन् ।
कार्यक्रममा इन्द्रेणी सांगीतिक समूहका कृष्ण कंडेलले प्रेमबहादुर राईको रिहाइका लागि ९५ लाख नेपाली रुपैयाँ चाहिने र अहिलेसम्म ७१ लाख रुपैयाँ संकलन भइसकेको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.