सिजनमै सुस्तायो सुनको कारोबार, व्यवसायी भन्छन्, ‘चुनावले बिहे सर्‍यो, व्यापार टर्‍यो’

  २०७४ मंसिर ४ गते ७:००     विकासन्युज

काठमाडौं । मंसिर महिना बिहेको सिजन हो । सुनचाँदी व्यवसायीले मंसिर महिनालाई आफ्नो व्यवसायको विशेष सिजनका रुपमा लिने गर्दछन् । तर, यो मंसिरमा भने सुनको कारोबार घटेको छ ।

गत वर्षको मंसिर महिनामा दैनिक ६० केजीको हाराहारीमा सुनको कारोवार हुने गरेकोमा यसपालि भने दैनिक औसत ३० केजीको मात्रै कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सिंगो मुलुक नै प्रतिनिधी सभा तथा प्रदेश सभा निर्वाचनमा होमिएकाले नेपाली सुनबजार प्रभावित भएको महासंघका पूर्वाध्यक्ष तेजरत्न शाक्यले बताए । माग नहुँदा नेपाली सुनबजारमा चहल पहल हुननसकेको उनले बताए ।

व्यवसायीका अनुसार यो मंसिरमा लगनमा मानिसमा विवाहमा भन्दा पनि चुनावमा उत्साह र चाहना बढी देखिएकाले यसको असर सुनको कारोबारमा असर पर्न गएको हो। यसपाली ६ गतेदेखि विवाहको लगन सुरु हुन्छ । ६ दिन लगन रहेको यो महिनामा उल्लेख्यरुपमा सुनको माग नदेखिएको शाक्यले बताए ।

महासंघका पूर्वाध्यक्ष शाक्यका अनुसार गत वर्षको मंसिरमा जस्तो अहिले सुनको कारोबार हुन सकेको छैन।

‘भूकम्पपछि त सुन बजार त्यति उत्साह आएको पनि छैन । यद्दपी गत वर्ष मंसिरकम केहि सुधार आएको थियो,’ शाक्यले भने ‘मानिसमा अहिले चुनावकै चटारोका कारण सूनको जोहो गर्ने र विवाह गर्ने उत्साह पनि छैन।’

सुनको भाउ बढ्यो

साताको पहिलो दिन आइतबार सुनको भाउ बढेको छ । सुनको भाउ प्रति तोला ५ सय रुपैयाँले महंगिएको हो ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन तोलाको ५६ हजार ४ सय रुपैयाँमा कारोबार भइहरको छ । गत शुक्रबार प्रति तोला ५५ हजार ९ सय रुपैयाँ कायम भएको थियो ।

सुनको भाउ बढेसँगै चाँदीको भाउ पनि प्रति तोला १० रुपैयाँले बढेको छ । महासंघका अनुसार चाँदी प्रति तोला ७७५ रुपैयाँमा किनबेच भइरहेको छ । गत शुक्रबार प्रतितोला ७६५ रुपैयाँ पुगेको थियो ।

अन्तराष्ट्रिय बजारमा सुनको भाउ प्रति औंष १२ सय ९४ अमेरिकी डलर रहेको छ । गत सातामा प्रति औंष १३ सय डलर सम्म पुगेको सुनको भाउ तलमाथी भइरहेको शाक्यले बताए ।

आगामी वर्ष २०१८ को सुरुवातमा सुनको भाउ घटेर १२ सय अमेरिकी डलरसम्म पुग्ने अन्तराष्ट्रिय सञ्चार माध्यमले अनुमान गरेका छन् ।

अमेरिकाको फेडेरल बैंकले आगामी डिसेम्बरमा ब्याजदर बढाएपछि सुनको भाउ घट्ने सम्भावना रहेको शाक्यले बताए । अहिले बैंकले ०.७५ प्रतिशत ब्याजदर कायम गरेको छ ।

डिसेम्बरपछि यो १ प्रतिशतसम्म पुग्ने अधिकांश अन्तराष्ट्रिय सञ्चारमाध्यमले अनुमान गरेको उनले जानकारी दिए । उनले भने, ‘ब्याजदर बढ्ने बित्तिकै सुनमा लगानी घट्ने सम्भावना हुन्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.