काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष पदमा नियुक्तिका लागि तीनजना उम्मेदवारको नाम सिफारिस भएको छ । अध्यक्ष छनोट सिफारिस समितिले तीनजनाको नाम मन्त्रालयसमक्ष सिफारिस गरेर मन्त्रालयले मन्त्रिपरिषदमा पेस गर्ने तयारी गरेकाे छ ।
स्रोतका अनुसार धितोपत्र बोर्डकै बहालवाला कार्यकारी निर्देशक विनयदेव आचार्य, नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशकद्वय मुकुन्दकुमार क्षेत्री र डा. गोपालप्रसाद भट्टको नाम सिफारिस भएको छ ।
संक्षिप्त सूचीमा परेका आवेदकहरूसँग जेठ ८ गते अर्थ मन्त्रालयमा अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुतीकरण लिएपछि समितिले अन्तिम तीन जनाको नाम अर्थ मन्त्रालयमा पठाएको हो ।
यसअघि प्रारम्भिक छनोटको पहिलो नम्बरमा रहेका बोर्डका पूर्वकार्यकारी निर्देशक डा. नवराज अधिकारी भने अन्तिम सिफारिसमा नपरेकाे बुझिएको छ । उनी पनि चारजनाभित्र सर्टलिष्टमा परेका थिए ।
नयाँ अध्यक्ष चयनका लागि धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा ७ को उपदफा ३ बमोजिम गठित समितिले गत वैशाख १५ गते आवेदन माग गरेको थियो । तोकिएको समयावधिभित्र आवेदन दिने ४७ जना प्रतिस्पर्धीमध्येबाट समितिले संक्षिप्त सूची तयार पारी यो चरणसम्म आइपुगेको हो ।
सिफारिस गरिएका नामहरूमध्येबाट एक जनालाई नयाँ अध्यक्ष नियुक्त गर्न अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सोमबार बस्ने मन्त्रिपरिषद् बैठकमा प्रस्ताव पेस गर्नेछन् ।
प्रधानमन्त्री बालेन्द्र शाहले सोमबार दिउँसो साढे ३ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएका छन् । सम्भवतः आजै धितोपत्र बोर्डले नयाँ नेतृत्व पाउने सम्भावना रहेको छ ।
को हुन् तीन जना ?
बोर्डकै कार्यकारी निर्देशक विनयदेव आचार्यले शंकरदेव क्याम्पसबाट एमबीए गरेका छन् । उनी बोर्डबाट छिट्टै अवकास हुँदैछन् । उनले धितोपत्र बोर्डमा लामो समय व्यवस्थापन विभागमा रहेर काम गरेका छन् भने नियमन र सुपरिवेक्षणमा पनि दख्खल राख्छन् ।
मुकुन्द क्षेत्री नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट २०८१ चैतमा अवकाश भएका थिए । उनले राष्ट्र बैंकका तर्फबाट नेपाल स्टक एक्सचेन्जको सञ्चालक भएर पनि काम गरेका थिए । भारतबाट चार्टर्ड एकाउन्टेन्सी र बीकम गरेका उनले बेलायतको ब्राडफोर्ड युनिभर्सिटीबाट ह्युमन रिसोर्स म्यानेजमेन्टमा मास्टर्स गरेका छन् ।
डा. गोपाल भट्ट पनि राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक हुन् । उनले ‘स्टक मार्केट इफिसिएन्सी इन नेपाल’ विषयमा विद्यावारिधि गरेका छन् । उनी सेयरविज्ञका रूपमा पनि परिचित छन् ।